मदिरा सेवन र बिक्री वितरणमा रोक    – Janadesh Daily | ePaper

मदिरा सेवन र बिक्री वितरणमा रोक   


बैतडी,

बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको हो ।

समितिकोे निर्णय विपरीत कसैले मदिरा बिक्री गरेको पाइएमा १० हजार जरिवाना गरिने निर्णय भएको स्थानीय अर्जुन लुहारले जानकारी दिनुभयो । यस्तै मदिरा सेवन गर्ने र ओसारपोसार गर्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय भएको छ ।

मदिराका कारण समाजमा विभिन्न खालका हिंसाका घटना भइरहेकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाइएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिनुभयो । यसका साथै जिल्लाको डिलाशैनी गाउँपालिका–७ को मनेकुडा टोलमा पनि मदिरा र जुवातासमा रोक लगाइएको छ ।

बेतालेश्वर युवा क्लबमा आबद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले जानकारी दिनुभयो । वडासदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र मदिरा बिक्री वितरण गरेमा रु पाँच हजार ५५५ जरिवाना गर्ने निर्णय गरेको छ ।

यस्तै मदिरा सेवन गरी होहल्ला गरेमा रु दुई हजार ६००, मदिरा ओसारपोसार गरेमा रु दुई हजार जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिनुभयो । यस्तै कसैले जुवातास खेलाएमा रु एक हजार ५०० र जुवातास खेलेमा रु एक हजार जरिवाना गर्ने निर्णयसमेत भएको जनाइएको छ ।रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्