अन्य ग्रहलाई खिच्ने रहस्यमयी शक्ति भएको गोष्ट प्लानेट, कहिले खुल्ला रहस्यमय नवौँ ग्रहको राज – Janadesh Daily | ePaper

अन्य ग्रहलाई खिच्ने रहस्यमयी शक्ति भएको गोष्ट प्लानेट, कहिले खुल्ला रहस्यमय नवौँ ग्रहको राज


जनादेश अन्तर्राष्ट्रिय वाच।

संसारभरका वैज्ञानिक दशकौंदेखि एउटा सिद्धान्तको पछि लागेका छन्। यो कुनै भूत वा ब्ल्याक- हाेल होइन, बरु नयाँ पत्ता लागेको ‘गोस्ट प्लानेट’ हो। ‘गोस्ट प्लानेट’ शब्द सुन्दा कुनै हलिउड फिल्मको नामजस्तो लाग्नसक्छ तर यो शब्द प्लानेट नाइन अर्थात नवौँ ग्रहको परिभाषामा प्रयोग भइराख्ने शब्द हो।

नवौँ ग्रह अहिलेसम्म काल्पनिक रहस्यमयी दुनियाँ सरह छ। यदि हाम्रो सौर्यमण्डलमा नवौँ ग्रह फेला परेमा, यो ग्रह सन् १८४६ यता पत्ता लागेको नयाँ ग्रह हुनेछ।

 नवौँ ग्रहको ‘आइडिया’ कसरी जन्मियो?

युरेनस र नेप्च्युन ग्रहले सूर्यको परिक्रमा गर्ने पथमा देखिएका ‘खाडल’हरुको कुनै व्याख्या थिएन। सन् १९०० को दशकका खगोलविद्हरुलाई यिनका बीच अर्को नवौँ ग्रह भएको हुनसक्ने अनि त्यसैको गुरुत्वाकर्षणको बलले यस्ता खाडल सिर्जना गरेको हुनसक्ने अनुमान लगाए।

सन् १९३० मा प्लुटोको डिस्कभरीपछि लामो समयदेखि खोजिएको ग्रह यही भएको ठम्याइयो। तर, त्यसपछि स्थगित भएको खोजी कार्य पुनः तब सुरु भयो जब प्लुटोको धेरै सानो आकारका कारण यसको गुरुत्वाकर्षणले अन्य ग्रहको पथमा असर नपार्ने पुष्टि भयो।

सन् १९८९ मा ‘भोएजर-२’ को नेप्च्युन वरपरको ‘फ्लाइबाइ’ पछि नासाले यसको कक्षमा कुनै असाधाराण चिज फेला नपरेको घोषणा गर्यो। अस्तित्वहीन वस्तुको खोजी भएरहेको भन्दै सो खोज पुनः स्थगित भयो।

यो ‘गोस्ट प्लानेट’ कहाँ हुनसक्छ?
सन् १९९२ मा पत्ता लागेको ‘क्विपर बेल्ट’ले नवौँ ग्रहको अस्तित्वको सम्भाव्यतालाई पुनः उजागर गरिदियो। नेप्च्युन पारी रहेको सौर्यमण्डलकै सो विशाल क्षेत्रमा १०० किलोमिटरभन्दा ठूला लाखौँ बर्फिला ढिका हुनसक्ने वैज्ञानिकहरुको विश्वास छ। त्यस क्षेत्रमा भेटिएको प्लुटो अनुमानित लाखौँ बरफका ढिकामध्ये सबैभन्दा परिचित ड्वार्फ प्लानेट हो।

त्यसपछि सन् २००२ र २००५ का बीच पत्ता लागेका क्वाडर, सेड्ना र एरिसलाई पनि सन् २००६ मा ड्वार्फ प्लानेटको संज्ञा दिइएको हो।

खगोलविदहरुले सेड्नाले लामो अन्डाकारको कक्षमा सूर्यको परिक्रमा गर्ने अनि एक पूर्ण परिक्रमालाई ११ वर्ष लगाउने तथ्य पत्ता लगाए। सेड्नालाई त्यस दिशातर्फ केले आकर्षित गरिरहेको छ? अर्को ग्रह जसको शक्तिशाली गुरुत्वाकर्षणको बल छ? यो भने अझै पत्ता नलागेको रहस्यको विषय हो।

ग्रहहरुलाई खिच्ने रहस्यमयी शक्ति
सन् २०१६ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी (क्याल्टेक)का माइक ब्राउन र कोस्टान्टिन बटाइगनले सौर्यमण्डलमा पृथ्वीको भन्दा ५ देखि १० गुणा बढी वजन भएको अर्को ग्रह हुनसक्ने अनुमान लगाए। पछि यस दाबीलाई परिमार्जन गर्दै ५ देखि ६ गुणा वजन भएको बताइयो। उनीहरुको अनुमान अनुसार सेड्ना लगायत अन्य ५ ड्वार्फ प्लानेटहरुलाई एकैतर्फ एउटै कोण सहित आकर्षित गर्नुमा यही रहस्यमयी ग्रहको हात रहेको छ।

त्यसपछि अहिलेसम्म असामान्य कक्षसहित सूर्यको परिक्रमा गर्ने यस्ता १९ छुट्टै वस्तुहरु सौर्यमण्डलमा फेला परिसकेका छन्। नेप्च्युनको आकर्षण क्षेत्रमा पर्ने वस्तुहरुलाई हटाउने हो भने ११ वटा बाँकी रहन्छन् – जसलाई पत्ता नलागेको ‘सैद्धान्तिक’ ग्रहको गुरुत्वाकर्षणले प्रभावित मानिएको छ।

रहस्यमयी नवौँ ग्रहको वजनलाई यसको गुरुत्वाकर्षण प्रभावका आधारमा अनुमान लगाइएको हो। वजनको अनुमानपछि वैज्ञानिकहरुले अहिलेसम्म फेला नपरेको नवौँ ग्रह कस्तो देखिनसक्छ भन्ने पनि लख काटेका छन्। सौर्यमण्डलमा यसको स्थान र वजनका आधारमा यो ग्रह या विशाल चट्टानी पृथ्वीजस्तो देखिन्छ, अथवा युरेनस र नेप्च्युनसँग मिल्दोजुल्दो, ग्यासले बनेको बरफिलो सानो नेप्च्युनजस्तै।

किन पत्ता लाग्न सकेको छैन नवौँ ग्रह?
एउटा मात्र कुराको खोजी गर्नु खगोलविद्हरुको उद्देश्य हुँदैन। उनीहरु कुनै एक वर्गका थुप्रै वस्तुहरुको समूहको खोजी गर्छन्। प्राध्यापक बटाइगन नवौँ ग्रहको परिक्रमा कक्ष त्यसले प्रभाव पारिरहेका वस्तुका आधारमा अनुमान लगाइएको तर ग्रह ठ्याक्कै यहिँ छ भनेर पत्ता लाउन निकै जटिल भएको बताउँछन्।

पत्ता लगाउन निकै मुस्किल यस ‘मायावी’ ग्रह सौर्यमण्डलको अन्तिम कक्षतिर हुनसक्ने भएका कारण यसले सूर्यको प्रकाश पनि खासै प्रतिबिम्बित गर्दैन। छायामै लुकिरहेको भए पनि यस ग्रहलाई हामीसँग भएका ‘टेलिस्कोप’ले फेला पार्ने दाबी वैज्ञानिकहरुको छ।

नवौँ ग्रहको खोजीमा प्रयोग भइरहेका उपकरण
यसको खोजीमा खगोलविद्हरुले अमेरिकाको हवाईस्थित निष्क्रिय ज्वालामुखी मौना कियामा रहेको ८.२ मिटर सुबारु टेलिस्कोपको प्रयोग गरिरहेका छन्। हाल उपलब्धमध्ये सर्वोत्कृष्ट विकल्प यहि सुबारू भए पनि टोलीलाई वर्षमा तीन रातमात्र टेलिस्कोप प्रयोग गर्ने अनुमति दिइएको छ।

तारा परिक्रमा गरिरहेका ग्रहको खोजीमा सक्रिय नासाको ट्रान्जिटिङ एक्जोप्लानेट सर्भे सेटलाइट (टेस)ले पनि नवौँ ग्रह फेला पार्नसक्छ। तर सबैभन्दा बढी आशा चिलीमा निर्माणाधिन भेरा रुबिन अब्जर्भेटरीमा राखिएको छ। सन् २०२३ देखि यस ८.४ मिटर टेलिस्कोपले देखिने आकासको पूर्ण तस्विरहरु खिच्न थाल्नेछ। यसले खगोलविद्हरुलाई अन्तरिक्षमा भएका वस्तुहरुको चालमा निगरानी राख्न अझ सहज तथा सजिलो बनाउनेछ।

ब्राउन र बटाइगनको नयाँ अध्ययनले नवौँ ग्रह पहिले सोचेभन्दा नजिक अनि चहकिलो हुनसक्ने बताएको छ। उनीहरुको पुरानो अध्ययनले नवौँ ग्रहलाई सूर्यको एक परिक्रमा पूरा गर्न १८,५०० वर्ष लाग्ने बताएको थियो तर अहिले मात्र ७ हजार ४ सय वर्ष लाग्ने सुझाएका छन्। यसले उक्त ग्रहको अस्तित्व साँचो भए चाँडै पत्ता लाग्ने सम्भावना अझ बढाइदिएको छ।

विज्ञहरुको भनाइ
यसको अस्तित्वबारे शंका गर्ने धेरै छन्। कोहि त यसलाई ग्रहको साटो ब्ल्याक होल भएको हुनसक्ने पनि बताउँछन्। अन्य खगोलविद्हरु यसलाई ‘सामान्य अमान्यता’ मात्र भएको बताउँछन्। कुनै ग्रहको परिक्रमा कक्ष तलमाथि हुँदैमा त्यसको व्यवहारको पूर्ण जानकारी बिना अर्को ग्रहको अस्तित्वको रेखा खिच्नु जोखिमपूर्ण हुने बताउँछन्। कतिपय समूहका विज्ञहरु भने मायावी ग्रहको खोजी विफल हुने अनि यो ‘डाटा’मा देखिएको गडबडी मात्र भएको भन्दै आलोचना गरिरहेका छन्।

कहिले पत्ता लाग्छ नवौँ ग्रह?
नवौँ ग्रह बारे सबैका मिश्रित धारणा रहेका छन्। विज्ञ तथा यसमा रूची हुनेहरु यसको अस्तित्वको खोजीमा सक्रिया छन् अनि नवौँ ग्रह चाँडै पत्ता लाग्ने कुराप्रति विश्वस्त पनि। आलोचकहरु ‘डाटा’लाई धेरै आशावादी नजरले हेरिएको मात्र बताउछँन्। ब्ल्याक होलप्रति रुची राख्नेहरु ब्ल्याक होल भइदिए हुन्थ्यो भन्दै प्रार्थना गर्नमा व्यस्त छन्।

ब्राउन भने लगभग अबको २ वर्षमा हामीसँगै सूर्यको परिक्रमा गरिरहेको मायावी मित्र ग्रह पत्ता लाग्ने विषयमा विश्वस्त छन्। उनी यहि विश्वास बोकेर अन्तिम ५ वर्षदेखि बाँचिरहेको पनि बताएका छन्। के नवौँ ग्रह साँच्चै सदाका लागि रहस्य नै बनेर सीमित रहला त?

बीबीसी अर्थमा प्रकाशित सामग्री ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्