डेंगु संक्रमण सतहत्तरै जिल्लामाः काठमाडौंका अस्पताल भरिभराउ, बालुवाटार बैठकमा हुँदैन चर्चा – Janadesh Daily | ePaper

डेंगु संक्रमण सतहत्तरै जिल्लामाः काठमाडौंका अस्पताल भरिभराउ, बालुवाटार बैठकमा हुँदैन चर्चा


जनादेश वाच।
डेंगु संक्रमण देशका ७७ जिल्लामै फैलिएको छ । मंगलबार हुम्ला र मुस्ताङका एक–एक जनामा संक्रमण पुष्टि भएसँगै डेंगु संक्रमण ७७ वटै जिल्लामा पुगेको पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म २७ हजार पाँच सय ६९ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, संक्रमणका कारण हालसम्म ३६ जनाको मुत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार एकै दिन डेंगु संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

दसैँ नजिकिदै गर्दा डेंगु संक्रमण भयावह बनेको छ । डेंगु नियन्त्रलाई तीन वटै तहका सरकारले बेवास्ता गरेका कारण संक्रमण भयावह बन्दै गएको जनस्वाथ्यविद् बाबुराम मरासिनीले बताए । सरकारले डेंगु संक्रमण देखिनासाथ नियन्त्रणमा ध्यान नदिएको उनले बताए । मरासिनीले भने ‘डेंगु देखिनासाथ नियन्त्रण गरेको भए अहिलेको अवस्था भोग्नै पर्दैनथ्यो, रोग देखिएको एक दुई दिनमै नियन्त्रण गर्न पहल गरेको भए पैसा पनि कम लाग्थ्यो क्षति पनि कम हुन्थ्यो । तर, अब पैसा पनि धेरै लाग्छ क्षति पनि धेरै भोग्नुपरेको छ ।’

उनले संक्रमण अझै बढ्ने चेतावनी दिए । न्युनतम तामक्रम १५ डिग्री सेल्सियस भन्दा कम नहुँदासम्म संक्रमणको जोखिम रहने उनको भनाइ छ । लामखुट्टेको नियन्त्रण गर्न नसके हिमाली जिल्लामा पुगेका लामखुट्टे अझै विकसित भएर चिसोमा समेत बाँच्न सक्ने हुने भएकाले त्यसतर्फ सचेत रहन उनले सुझाव दिए ।

काठमाडौंका ठूला अस्पताल भरिभराउ
डेंगु संक्रमित बढिरहे पनि काठमाडौंमा ठूला अस्पतालमा भने चाप केही घटेको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा पछिल्लो एक हप्तामा बिरामीको चाप घट्दो क्रममा रहेको अस्पतालका इमर्जेन्सी वाडमा कार्यरत डा. निरोज शर्माले बताए । उनले भने ‘दैनिक एक सय ९० जनासम्म बिरामी हेरेको रेकर्ड छ । तर, पछिल्लो एक हप्ता भयो बिरामीको चाप अलि घटेको छ । अहिले दैनिक सरदर एक सय २०, कहिले एक सय ३० जना बिरामी आइरहनुभएको छ ।’ उनले सुरुवाती दिनमा एउटै बेडमा दुई जनासम्म राखेर सेवा दिनुपरेको तर अहिले केही कम भएको बताए ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु
यस्तै, काठमाडौंको वीर अस्पतालमा पनि पछिल्लो एक हप्तामा बिरामीको चाप घटेको छ । दुईजना बिरामी एउटै बेडमा राखेर उपचार गर्नुपरेको अस्पतालका इर्मेजेन्सीमा कार्यरत स्वास्थ्यकर्मीहरुले बताएका छन् । नाम उल्लेख नगर्ने सर्तमा इमेर्जेन्सीमा कार्यरत एक डाक्टरले भने ‘मैले यो जानकारी दिन मिल्दैन माथिबाट अनुमति लिनुपर्छ तर मेरो अनुभवमा अहिले पछिल्लो एक हप्ता बिरामीको चाप भने घटेको छ । दैनिक चार सय भन्दा धेरै बिरामी आउनुभएको थियो तर यो एक हप्तामा भने कही कमी आएको छ अहिले दैनिक दुई/तिन सय बिरामी आउनुभएको छ , ‘उहाँहरूमध्ये ८० प्रतिशतमा डेंगु पुष्टि भएको छ । सुरुवातमा दिनमा एउटै वेडमा दुईजना राखेर उपचार गर्नुपर्थ्यो अहिले अलि चाप घटेको छ ।’

सिभिल अस्पतालः एउटा बेड दुई बिरामी
निजामती कर्मचारी अस्पताल (सिभिल) अस्पतालमा पनि एउटा बेडमा दुईजना बिरामी राखेर सेवा दिनुपरेको छ । अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप थेग्न नसकेपछि एउटै बेडमा दुईजना राखेर सेवा दिनुपरेको जनाइएको छ । अस्पतालले सूचना नै निकालेर एउटा बेडमा दुई जना बसिदिन आग्रह गरेको छ । आकस्मिक वार्डमा कार्यरत डा. विश्वास अधिकारीले दैनिक २ सय भन्दा बढी बिरामी आउने गरेको सुनाए । तर, पछिल्लो एक हप्तामा भने बिरामीको संख्या स्थिर रहेको उनको भनाइ छ । उनले भने, ‘उनले एक महिनाको तथ्यांक हेर्दा घट्दो क्रममा नरहे पनि पछिल्लो एक हप्तामा भने स्थिर छ ।’ उनले अहिलेको अवस्था हेरेर डेंगु नियन्त्रणमा छ भन्नु उचिन नहुने बताए । यही अवस्था रहे एक दुई हप्ताभित्र संक्रमण केही हदसम्म नियन्त्रणमा आउन सक्ने बताए ।

बालुवाटार बैठकमा छैन चर्चा
सत्ता गठबन्धनका नेता मंगलबार र बुधबार बालुवाटारमा व्यस्त रहे। व्यस्तता भर्खरै सुरु भएको होइन। २०७९ साउन १९ गते मंसिर ४ का लागि प्रदेश तथा प्रतिनिधिसभाको चुनाव घोषणा भयो। भोलिपल्टै पाँच दलीय गठबन्धनको बैठक बालुवाटारमा बस्यो र टिकट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गर्‍यो। साउनदेखि सुरु भएको छलफल अझै केही दिन चल्ने छ। प्रतिनिधि सभाका १६५ र प्रदेशसभाका ३३० सिटको भागबन्डा नमिलेकाले केही समय लाग्ने कार्यदलका सदस्य हिमलाल पुरीले बताए। ‘अहिले बैठक बसिरहेका छन्। बस्ने फेरि बस्ने काम भइरहेको छ। सबै ठाउँको बाँडफाँट मिल्न सकेको छैन। तयारी हेर्दा त चाँडै हुनुपर्ने हो तर केही समय लाग्छ होला,’ पुरीले भने। स्थानीय तहको निर्वाचनअघि पनि गठबन्धनका नेताहरूले ‘म्याराथन’ बैठक राखेर महानगर र उपमहानगरको भागबन्डा मिलाएका थिए। साउन महिनाको अन्तिम हप्तादेखि सुरु भएका गठबन्धनका धारवाहिक बैठक हाल दिनदिनै त बस्छन् नै अझ दिनमा पटक पटक बसिरहेको छन्, असोज २३ गतेको मनोनयनको समय नजिकिएपछि। प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा बस्ने बैठकको मुख्य विषय भने एउटै हो -भागबन्डा। राजनीतिक खिचातानी बाहेकमा फुर्सद नभएका गठबन्धनका शीर्ष नेता जल्दाबल्दा मुद्दाबारे भने बेखबर छन्। पछिल्लो समय डेङ्गी संक्रमण स्वास्थ्य संकटका रूपमा देखिरहेको छ। तर, सरकार र सत्ता गठबन्धनका नेता मौन छन् संक्रमण नियन्त्रणबारे। दिनदिनैका बैठकमा विषयले औपचारिकता समेत पाएको छैन।

औपचारिकतामा सीमित एमाले
त्यसो त प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पनि जोडतोडले संक्रमण नियन्त्रणको मुद्दा उठाएको छैन। राजनीतिक विषयमा तत्काल प्रतिक्रिया दिने र चर्कोगरी आवाज उठाउने एमालेले औपचारिकताका लागि भने विज्ञप्ति जारी गरेको थियो। पार्टीका सचिव, स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले असोज ५ गते सरकार संक्रमण रोक्न असफल भएको बताएका थिए। तर एमाले पनि यसमा कतै लागेको देखिँदैन।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्