म एउटा चेतनाहिन मानव शिला मात्र – Janadesh Daily | ePaper

म एउटा चेतनाहिन मानव शिला मात्र


लीला बहादुर के.सी. । मानव चेतना नै मानव जीवनका सबै कार्य, विधि र संरचना तयार पार्ने व्यक्तिगत र सामाजिक सांगठनिक क्षमताको स्रोत हो । जब व्यक्तिको वौद्धिक विकास हुन्छ तब विवेकको विकास, स्मरण शक्तिको विकास, तर्क गर्ने, समस्या सुल्झाउने, विश्लेषण गर्ने चेतनाको विकास आदि हुन्छ।मानव चेतनाले गर्दा नै मानिसले आफ्नो जीवन र अस्तित्व जोगाइराख्न पछिसम्म पनि प्रतिक्रियात्मक र रक्षात्मक क्रियाकलापहरु गर्ने गर्छ ।

मानव जातिको उत्पत्ति खोज्दै जाँदा १ करोड २० लाख वर्ष अघि भएको मानिएको छ। हालको विकसित मानव जातिको विकास भएको करिव १० लाख वर्ष मात्र भएको छ। हामी ‘मानव’ बन्ने प्रक्रियाका दुइटा मुख्य चरण देख्छौ। पहिलो चरण श्रमको साधन कामका औजारको निर्माणको थालनीको समय, जुन कालखण्ड कतिपयले आजभन्दा दश लाख वर्ष पूर्व, जब भर्खर भर्खर पिथेकान्थ्रोपस् र निआन्देरथल मानव जस्ता आदि मानवको आधुनिक मानवजीव बन्ने दिशामा संक्रमण हुँदै थियो, भनी मानेका छन्। दोस्रो चरण, जुन करिब एक लाख वर्ष पूर्व सुरु भएको मानिन्छ, आदि पाषाण युगीन मानवबाट आधुनिक मानवमा संक्रमणको चरण, जब मानिसले ढुंगा, हाड, जनावरका सिङ आदिबाट श्रमका साधन औजारहरूको निर्माण गर्न थाल्यो र उत्पादन प्रक्रियाको विकास तथा यस सँगसँगै आदिम सामाजिक संरचनाको सुरुवात भयो। यी सम्पूर्ण परिघटना, विकास प्रक्रिया र परिवर्तनका अवस्थाबाट के स्पष्ट हुन्छ भने आधुनिक मानव एउटा सामाजिक प्राणीको रूपमा उसका उत्पादनमूलक क्रियाकलापकै कारण स्थापित भयो र समाजभन्दा बाहिर निरपेक्ष रूपमा न कहिले उसको अस्तित्व सम्भव थियो र न सम्भव हुन नै सक्दछ।

अहिलेको चरमचुलीमा विकास पुगेको युग; चन्द्रमामा पुग्नेदेखि लिएर देशविदेश घरमै बसीबसी कारोबार गर्ने एक्काइसौं शताब्दीको युग हो। यो स्याटालाइट युग विज्ञान प्रविधियुक्त छ। आजको मानव जाति आफैंसँग श्रेष्ठताको होडमा छ । एउटा ग्रहबाट अर्को ग्रहमा यात्रा । नयाँनयाँ खोज आविष्कार । सुविधाहरूको स्तरोन्नति । एउटा देशसँग अर्को देशको प्रतिस्पर्धा । एउटा आविष्कारसँग अर्को आविष्कारको प्रतिस्पर्धा । यो सबै मानव चेतनाले नै संभव भएको हो। त्यसैले आजको चेतनशिल मानव; समाजमा विद्यमान राजनीतिक, आर्थिक, सामाजिक, मनोवैज्ञानिक र संवेगात्मक पक्षबाट अलग रहन सक्दैन।
देशमा निर्वाचन हुंदै गर्दा निर्वाचन आयोगको निर्देशनमा हरेक सरकारी कार्यालयहरुलाई निर्वाचन आचार संहिताको सर्कुलर गरिएको छ। नेपालको जनसंख्या दुई करोड एकानव्व् लाख बयानव्वे हजार चार सय असी छ। निर्वाचन आयोगका अनुसार आगामी मंसीरमा हुने संघ र प्रदेश स्तरीय निर्वाचनमा सहभागी हुन पाउने कुल मतदाताको संख्या १ करोड ७९ लाख ८८ हजार ५७० रहेको छ। आयोगका अनुसार कूल मतदातामा ८८ लाख ४७ हजार ५७९ जना महिला, ९१ लाख ४० हजार ८०६ जना पुरुष र १८५ जना अन्य रहेका छन् । नेपालको पुरानो सरकारी तथ्यांक अनुसार ४० लाख युवाहरु विदेशमा रहेको भनिए पनि वर्तमान समयमा यो संख्या करिव दोव्वर भै ८० लाखको हाराहरीमा पुगेको बताइएको छ।विगत केहि आर्थिक वर्षको श्रम विभागले प्रकाशित गरेको तथ्यांकलाई हेर्ने हो भने पनि यस्को पुष्टि गर्ने आधारहरु छन्।गएको आर्थिक वर्षमा मात्र पनि ६ लाख २८ हजार ५ सय ३ नेपाली वैदेशिक रोजगारीको क्रममा विभिन्न देश पुगेका छन् । यो अंक अघिल्लो वर्षको तुलनामा ४ लाख ६१ हजार ८ सय ५ ले बढी हो । आर्थिक वर्ष ०७३–०७४ मा ६ लाख ४२ हजार ८ सय ५९ वैदेशिक रोजगारीमा गएका थिए भने २०७४–७५ मा ६ लाख १२ हजार ६ सय ८५ले नेपाली श्रम स्वीकृति लिएका थिए ।

निजामति किताब खानाले उपलब्ध गराएको विवरणअनुसार वि सं २०७३ सम्म निजामति सेवामा करिब ८२ हजार ४ सय ९६ जना कर्मचारी कार्यरत छन्।यो संख्या हाल सम्म १ लाखको हाराहारीमा पुगेको हुनु पर्दछ।एउटा सर्वेक्षणले नेपालमा शिक्षकहरु ३ लाख २ हजार ७ सय ७६ कार्यरत रहेको उल्लेख गरेको छ यस मध्ये २०% नीजी विद्यालयका भए पनि करीव २ लाख ४० हजारको हाराहारीमा राज्य कोषबाट तलव खाने शिक्षक विद्यालयका कर्मचारी हुनु पर्दछ।त्यसै गरी नेपाल सरकारले आफ्नो पूर्ण स्वामित्वमा ३७ वटा सार्वजनिक संस्थान सञ्चालन गर्दै आएको छ । ती सरकारी सार्वजनिक संस्थानहरुमा २९ हजार ८ सय ६० कर्मचारी छन्। यसको अलावा सरकारबाट गठित विभिन्न आयोगहरुमा काम गर्ने र राज्य कोषबाट तलब खाने र सुविधा लिने पनि थुप्रै नागरिकहरु छन्। नेपालका विभिन्न विश्व विद्यालयहरुका प्राध्यापक तथा कर्मचारीहरुको संख्या पनि करीव ५० हजार भन्दा कम छैन। यसरी नेपाल सरकारको राज्य कोषबाट तलव सुविधा लिने र वैदेशिक रोजगारीमा रहेका मानिसहरुको संख्या मोटामोटी गणना गर्ने हो भने करीव ८४ लाख २५ हजार मतदाताहरुले निर्वाचनमा आफ्नो सक्रियता देखाउन नपाउने स्थिति छ।

यो तथ्यांकलाई आधार मान्ने हो भने नेपालमा जम्मा ९५ लाख ६३ हज़ार ५ सय ७० मतदाता निर्वाचनमा सक्रिय हुन सक्ने अनुमान गर्न सकिन्छ। ती मतदाता मध्ये १०% वृद्ध हुन सक्ने र निर्वाचनमा महत्वपूर्ण भूमिका निर्वाह गरी राज्यलाई आवश्यक पर्ने सहि प्रतिनिधि छनौट गर्न नसक्ने हुंदा लगभग ९० लाख मतदाताहरु मात्र निर्वाचनमा सक्रिय भूमिका निभाउन सक्ने हुन सक्छन्।
यसरी देशमा रहेका करीब सबा चारलाख सचेत नागरिकलाई राज्य कोषको तलव खाएको आधारमा सामाजिक सन्जालमा कसैको अभिव्यक्तिमा लाइक सम्म गर्न नदिए पछी हाम्रा राजनैतिक दलका उमेदवारहरु संग चेत भएको ठूलो जमातले वहस, तर्क तथा राज्यलाई सकारात्मक दिशा तर्फ डोर्याउन आवश्यक सुझाव दिन पाउंदैनन्। नीजामति कर्मचारीको हकमा यो मान्य भए पनि विश्वविद्यालयका प्राध्यापकहरुको हकमा समेत राज्यले चेतनहिन स्थूल बस्तु जस्तो बनाएर राख्न खोज्नु अन्तर्राष्ट्रीय राजनैतिक अभ्यासमा कति सुहाउने कुरा हो कुन्नी? नेपाल जस्ता देशमा सत्ता पक्षबाट भएका संपूर्ण ठूला ठूला भ्रष्टाचारहरु कुन कोषबाट गरिएका छन्? ती सबै जनताले तिरेको करबाट जम्मा भएको राज्य कोषबाट गरिएका भ्रष्टाचार होइनन् र ?

त्यसैले कसैले थोकमा राज्यकोष अवैध तरीकाले खाइरहेका छन् भने कसैले किस्ता वन्दीमा हरेक महिना दंश नंग्रा खियाई वैध तरीकाले राज्य कोष खाइरहेका छन्। मैले देखेको फरक यत्ती हो तर म भने आगामी पौष २२ गते सम्म लाइक र कमेन्ट समेत नगरी एक चेतना हिन मानव शिलाको रुपमा बस्ने निर्णय गरें।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्