एमालेका सूर्य थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण: भेलुबाजेलाई २ हजार दिएको हो ? – Janadesh Daily | ePaper

एमालेका सूर्य थापालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण: भेलुबाजेलाई २ हजार दिएको हो ?


काठमाडौँ । निर्वाचन आयोगले प्यूठान जिल्लाबाट नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई स्पष्टीकरण सोधेको छ । थापालाई आयोगले स्पष्टीकरण सोधेको यो दोस्रोपटक हो ।

मीनबहादुर बुढा (भेलुबाजे) लाई रु दुई हजार रुपैयाँ दिएर आफ्नो निर्वाचन प्रचारप्रसार गराएको भन्ने बेहोराको समाचार प्रकाशन भएपछि आयोगले थापालाई स्पष्टीकरण सोधेको जनाएको छ । केही दिनअघि मात्रै युट्युब लगायत सामाजिक सञ्जालमा मीनबहादुर बुढा (भेलुबाजे) ले थापाले पैसा दिएर प्रचार गर्न लगाएको प्रतिक्रिया दिएको भिडियो सार्वजनिक भएको थियो ।

उक्त घटनाप्रति आयोगको ध्यानाकर्षण भएको जनाएको छ । निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१) को खण्ड (झ) मा राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले जुलुस, आमसभा, कोणसभा, बैठक, भेला वा निर्वाचन प्रचारप्रसार सम्बन्धी कार्य गर्दा पालना गर्नुपर्ने आचरण अन्तर्गत ‘विभिन्न क्लब, सामाजिक संस्था, धार्मिक संस्था, आमा समूह, गैरसरकारी संस्था, आश्रम जस्ता संस्था वा कुनै व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, अनुदान, आर्थिक सहायता, चन्दा, पुरस्कार वा निर्वाचन खर्च वा बुथ खर्च दिन वा दिने घोषणा गर्न नहुने’ व्यवस्था छ।

आयोगले सोधेको स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन ? तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो? यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।’

थापाले चुनावी प्रचारको क्रममा बालबालिकाको प्रयोग गरेको भन्दै यसअघि पनि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको थियो ।

कान्तिपुरबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्