जनजाति आन्दोलनका अगुवा रोकायाको निधन  – Janadesh Daily | ePaper

जनजाति आन्दोलनका अगुवा रोकायाको निधन 


कर्णाली,

आदिवासी जनजाति आन्दोलनका अगुवा पञ्चसिं रोकाया खाम्पाको निधन भएको छ । गत चैतदेखि मुखको क्यान्सरबाट पीडित ५० वर्षीय उहाँको सोमबार वीरेन्द्रनगर–९ लाटीकोइलीस्थित आफ्नै घरमा निधन भएको हो ।

जनता समाजवादी पार्टी (जसपा) का कर्णाली प्रदेश महासचिव रहनुभएका रोकाया सुर्खेतको प्रसिद्ध बौद्ध ग्रामीण बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष र आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् अध्यक्षसमेत हुनुहुन्थ्यो । संविधानसभा निर्वाचनमा उहाँ तत्कालीन मधेसी जनअधिकार फोरमका तर्फबाट सुर्खेत–२ बाट प्रत्यक्ष उम्मेदवार हुनुभएको थियो । उहाँकै अग्रसरतामा वीरेन्द्रनगर–६ मा बुद्ध सरोवर निर्माण प्रक्रिया शुरु भएको थियो ।

उहाँका सहकर्मी जीवनकुमार शाक्यले राजनीतिकर्मी, समाजसेवी, सफल व्यवसायीका रूपमा स्थापित रोकायाको निधनले जनजाति आन्दोलनमा ठूलो क्षति पुगेको बताउनुभयो । “समाजका हरेक क्षेत्रमा सक्रिय उहाँ इमान्दार पनि त्यत्तिकै हुनुहुन्थ्यो”, शाक्यले भन्नुभयो, “उहाँको नेतृत्व क्षमताकै कारण सुर्खेतमा आदिवासी जनजाति समुदाय एकताबद्ध रह्यो ।”

पाँच वर्षअघि कलेजो प्रत्यारोपण गरी निको भएका उहाँ पछिल्लो समय मुखको खटिरा क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । क्यान्सर भएपछि रोकाया उपचार गरेर घरमै आराम गरिरहनुभएको थियो । उहाँको सोमबार बौद्ध धर्म परम्पराअनुसार अन्त्यष्टि गरिएको छ । उहाँका दुई छोरा र एक छोरी छन् । रासस

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्