चीनमा नदेखिने दृष्यः कसरी आयो राष्ट्रपति सीको राजीनामा माग्दै प्रदर्शन गर्ने अवस्था, अब के होला ! – Janadesh Daily | ePaper

चीनमा नदेखिने दृष्यः कसरी आयो राष्ट्रपति सीको राजीनामा माग्दै प्रदर्शन गर्ने अवस्था, अब के होला !


जनादेश वाच।
चीनमा कोरोना संक्रमण रोक्नका लागि लगाइएको कठोर बन्दाबन्दीको विरोध गर्दै अभूतपूर्व रूपमा प्रदर्शन भइरहेका छन् ।

कोभिडशून्य नीति अपनाउँदै चीन सरकारले कठोर बन्दाबन्दी लगाएको भए पनि कोरोना संक्रमण नघटेपछि चिनियाँहरूले निरर्थक रूपमा कष्टकर जीवन बिताइरहनुपरेको भन्दै विरोध गरेका हुन् । विरोध प्रदर्शन चर्किंदै जाँदा राष्ट्रपति सी चिनपिङको राजीनामा समेत मागिएको छ । बेइजिङमा रहेको एक नदीको किनारमा आइतवार (२७ नोभेम्बर) राति प्रदर्शनकारीहरूले चिनियाँ भाषामा ‘सी चिनपिङ राजीनामा देऊ, चिनियाँ कम्युनिस्ट पार्टी राजीनामा देऊ’ भनेर समेत नारा लगाए ।

 विशेषगरी नोभेम्बर २४ मा सिन्ज्याङ प्रान्तको राजधानी उरुमछीमा रहेको एक बहुतल्ले भवनमा आगलागी भएर १० जनाको मृत्यु भएपछि मानिसहरूको आक्रोश विस्फोट भएको हो । बीबीसीमा छापिएको समाचारअनुसार, कोरोना बन्दाबन्दीका कारण भवनका मानिसलाई आगो लागेको बेलामा समेत बाहिर निस्कन दिइएको थिएन । बाहिर निस्केकालाई समेत फेरि भित्र जान भनिएको थियो । अनि दमकललाई पनि भवनसम्म पुग्न दिइएको थिएन ।

तर बीबीसीको समाचार सही नभएको चिनियाँ सञ्चारमाध्यम तोङशङ न्युज लेख्छ । उसका अनुसार, कोभिड रोकथामका लागि अपनाइएका उपायका कारण दमकलहरूलाई भवनसम्म आउन रोकिएको आरोप गलत छ ।

भवन रहेको स्थान जिसियाङयुआनलाई दुई सातादेखि कोरोनाको कम जोखिममा रहेको टोलका रूपमा घोषणा गरिएको थियो । अर्थात्, स्थानीय बासिन्दाहरूलाई स्वतन्त्र रूपमा हिँडडुल गर्न दिइएको थियो । घटना भएपछि भवनको १५औं तल्लामा रहेका बासिन्दाहरू त्यहाँबाट सुरक्षित रूपमा निस्केका थिए । त्यही तल्लामा आगो लाग्न शुरू भएको थियो ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, उक्त भवनसम्म पुग्ने साँघुरो सडकका कारण दमकलहरू त्यहाँ पुग्न गाह्रो भएको थियो । एक त साँघुरो सडक त्यसमाथि कारहरू रोकेर राखिएकाले दमकलहरू समयमै भवन पुग्न पाएका थिएनन् । बन्दाबन्दीको कारण भन्दा पनि भौतिक पूर्वाधारमा रहेको समस्याका कारण त्रासद घटना हुन पुगेको तोङशङ न्युज लेख्छ ।

तर कारण जे भए पनि कोरोनाका कारण चिनियाँहरूले निकै असहज जीवन बिताउन परिरहेको कटु यथार्थ हो । कोरोना नियम उल्लंघन गरेको आरोपमा मानिसहरूलाई बेइज्जती हुने गरी शहरमा घुमाउने अनि देशको एक प्रान्तबाट अर्को प्रान्तमा जाँदा समेत आइसोलेसनमा बस्नुपर्ने बाध्यताले चिनियाँहरूलाई गाह्रो परिरहेको थियो ।

विगत ६ महिनादेखि नै बन्दाबन्दीको विरोध हुँदै आएको थियो । त्यस विरोधलाई चीन सरकारले मनन गरेको पनि थियो । चिनियाँ कम्युनिस्ट पार्टीको २०औं राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्ने क्रममा राष्ट्रपति सीले बन्दाबन्दीका कारण जीवन कष्टकर भए पनि यसलाई अपनाउनुको विकल्प नरहेको बताएका थिए ।

तर अब चाहिँ चिनियाँहरूको धैर्यको बाँध टुटिसकेको देखिन्छ । त्यसैले चिनियाँहरू बहालवाला राष्ट्रपति र सत्तारूढ दलको समेत विरोधमा नारा लगाउन थालेका छन् । बेइजिङको प्रतिष्ठित चिङह्वा विश्वविद्यालयमा २०० देखि ३०० विद्यार्थीहरूले बन्दाबन्दीको विरोधमा प्रदर्शन गरेको खबर छ । उनीहरूले लोकतन्त्र तथा विधिको शासनका साथै अभिव्यक्ति स्वतन्त्रताको पनि माग गरेका छन् । घटनाको भिडियो चिनियाँ सामाजिक सञ्जालमा अपलोड गरिएको भए पनि अधिकारीहरूले पछि त्यसलाई हटाएका थिए ।

पेकिङ विश्वविद्यालयका साथै सियान, क्वाङ्चाउ र वुहानका विश्वविद्यालयमा पनि यस्तै किसिमका प्रदर्शन गरिएको बताइएको छ । उता शांघाई शहरमा रहेको वुलुमुछी सडकमा प्रहरीले प्रदर्शनकारीहरूलाई हटाउने क्रममा धकेलाधकेल गरेको घटनाको लाइभ स्ट्रीमिङ गरिएकोमा त्यसलाई पनि तत्कालै हटाइएको थियो । कोरोना शुरू भएको वुहान शहरमा मानिसहरू सडकमा निस्केर खुशीका साथ चिच्याएको भिडियो पनि सार्वजनिक भएको छ ।

यसरी प्रशासनको निर्देशन अवज्ञा गर्ने अनि नेतृत्वको आलोचना गर्ने कामलाई चीनमा अपराध मान्ने गरिएको छ । यस्तो अपराधको निकै कठोर सजायको प्रावधान छ । तर त्यसको परवाह नगरी मानिसहरू विरोध प्रदर्शनमा आउनु भनेको बन्दाबन्दीविरुद्धको प्रबल जनमतको संकेत हो । अझ त्यसमाथि संसारका अन्य देशमा बन्दाबन्दी हटाइसकिएको बारेमा थाहा पाएका चिनियाँहरू आफू चाहिँ ठिंगुरिएर बस्नुपरेकोमा आक्रोशित हुनु स्वाभाविक हो । विशेषगरी कतारमा चलिरहेको फूटबल विश्वकपमा विभिन्न देशका समर्थकहरू रंगशालामा मास्क नलाइकनै उपस्थित भएको दृश्य चिनियाँहरूले टेलिभिजनमा देख्न पाएका छन् ।

त्यसबाट प्रेरित भएर बन्दाबन्दीका विरुद्ध चिनियाँहरू जागेको थाहा पाएपछि चीनको सरकारी टेलिभिजनले समर्थकहरूको भिडियो ब्लर गर्ने अनि समर्थकको साटो खेलाडी र रेफ्रीको क्लोजअप देखाउने समेत गरिरहेको एएफपी समाचार संस्थाले खबर दिएको छ ।

चीनमा भइरहेका विरोध प्रदर्शनलाई चिनियाँ सञ्चारमाध्यमहरूले स्थान दिएका छैनन् । ग्लोबल टाइम्सको अंग्रेजी संस्करणमा प्रकाशित एक लेखमा चीनको कोभिडशून्य नीतिका विषयमा असन्तुष्टिको भाष्य पश्चिमा सञ्चारमाध्यमहरूले बनाएको भनी आलोचना गरिएको छ ।

फुदान विश्वविद्यालयका एक प्राध्यापकलाई उद्धृत गर्दै त्यस लेखमा पश्चिमी मुलुकहरूले सडक क्रान्ति (कलर रिभोल्युसन) मार्फत कम्युनिस्ट सरकारलाई अपदस्थ गराउनका लागि कोशिश गरेको आरोप लगाइएको छ । चीनको सरकारी सञ्चारमाध्यममा यसरी बन्दाबन्दीको विरोधलाई सडक क्रान्तिको रूपमा वर्णन गरिनु भनेको दमनको पूर्वाभासका रूपमा लिन सकिन्छ ।

गत सेप्टेम्बर महिनामा चीनका राष्ट्रपति सीले उज्बेकिस्तानको समरकन्दमा सम्पन्न शांघाई कोअपरेसन अर्गनाइजेसन बैठकमा कलर रिभोल्युसन रोक्नका लागि मिलेर काम गर्न आह्वान गरेको स्मरणीय छ । बन्दाबन्दीको विरोधका नाममा चीनमा पनि कलर रिभोल्युसन गरी सरकारलाई अप्ठ्यारो पार्न खोजिएको भाष्य चीन सरकारले बनाउन खोजेको देखिन्छ ।

अहिलेको विरोध प्रदर्शनले सन् १९८९ को थ्यानआनमन स्क्वेयरमा विद्यार्थीहरूले गरेको विरोधको झल्को दिएको छ । त्यतिखेर लोकतन्त्र र नागरिक अधिकारको माग राख्दै विद्यार्थी तथा युवाहरूले गरेको प्रदर्शन काबुबाहिर जान लागेको अनुभूत गरेपछि चीन सरकारले दमन गरेको थियो ।

अहिलेको विरोध प्रदर्शनलाई पनि दमनमार्फत दबाइने सम्भावना छ । तर ग्लोबल टाइम्समा छापिएको माथि उल्लेखित लेखमा कोभिड संक्रमण रोक्ने उपायहरू चिरस्थायी छैनन् पनि भनिएको छ । ती उपायहरूलाई निरन्तर संशोधन गरिने त्यसमा उल्लेख छ । त्यो कुरा सत्य हो भने चीन सरकारले बन्दाबन्दीलाई केही खुकुलो बनाएर जनआक्रोश मत्थर पार्ने उपाय पनि अपनाउन सक्छ ।

आखिर जनताको भलोलाई नै चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो केन्द्रीय लक्ष्य मान्ने गरेको छ । जनगणतन्त्र चीनका प्रथम शासक माओ चतोङपछिका सबै नेताले कम्युनिस्ट विचारधारालाई रुमानी क्रान्तिकारी सोच भन्दा पनि व्यावहारिक रूपमा अपनाउने गरेका छन् । अर्थात्, जडसूत्रवादी सोच राख्दै उनीहरू मेरो गोरुको बाह्रै टक्कामा अडिने किसिमका छैनन् ।

माओपछिका प्रभावशाली नेता तङ स्याओपिङले नदी तर्नका लागि ढुंगामा टेक्दै हिँड्ने भनी त्यही व्यावहारिकतालाई इंगित गरेका हुन् । अनि चिनियाँ चरित्रको समाजवाद भनेर उनले व्यावहारिक उपाय अपनाउँदै देशको समाजवादी लक्ष्य हासिल गर्ने बाटोमा डोहोर्‍याएका हुन् ।

तङपछिका सर्वाधिक प्रभावशाली राष्ट्रपति सीले पनि त्यस व्यावहारिकतालाई परित्याग गर्ने छैनन् । अझ उनी त जडसूत्रवादी विचारधारा मन नपराउने व्यवहारवादी टेक्नोक्य्राट हुन् भनी विश्लेषकहरू बताउँछन् ।

त्यसैले जनविरोधलाई ध्यान दिँदै शून्य कोभिड नीतिलाई कायम राखे पनि सरकारले त्यसमा केही लचकता ल्याएको छ । द न्युयोर्क टाइम्समा प्रकाशित अलेक्जान्ड्रा स्टिभेन्सनको समाचारमा उल्लेख गरिएअनुसार, अब चीन प्रवेश गर्ने व्यक्तिलाई पाँच दिन होटल क्वारेन्टिनमा बस्ने अनि त्यसपछि तीन दिन घरैमा आइसोलेसनमा बस्ने नियम ल्याइएको छ । यसअघि बाहिरबाट गएकाहरूले १० दिन क्वारेन्टिनमा बस्नुपर्थ्यो ।

अनि सरकारले कन्ट्याक्ट ट्रेसिङको दायरा पनि सीमित गरेको छ । खासमा धेरै मानिसको सामूहिक परीक्षण गर्ने रणनीतिअन्तर्गतको कन्ट्याक्ट ट्रेसिङका कारण करोडौं मानिसलाई कठोर क्वारेन्टिनमा राखिने गरिएको छ । त्यसले मानिसहरूमा आक्रोश र असन्तुष्टि जन्माएको हो ।

अनि कुनै टोलमा कोभिड केस देखिएमा त्यहाँका मानिस हप्तौंसम्म घरैमा बस्न बाध्य बनाइने नियम पनि खारेज गरिएको छ । जति कठोरता अपनाए पनि कोभिड संक्रमणका केसहरू कायम रहेकाले वास्तविकतालाई स्वीकार गर्दै शून्य कोभिड नीतिलाई थप लचिलो बनाउन चीन सरकार बाध्य भइरहनेछ ।

कोभिड गराउने कोरोनाभाइरसका विभिन्न भेरिएन्टहरू थप संक्रामक बन्दै गएको अवस्थामा शून्य कोभिड नीति अंगीकार गरिरहनुको औचित्य छैन । त्यसैले कोरोनाविरुद्धको खोप अभियानलाई सशक्त बनाउने लगायतका उपाय अपनाउँदै कोभिड अनुकूलनमा चीन सरकारले ध्यान केन्द्रित गर्नुपर्ने आवश्यकता छ । तर चिनियाँ अधिकारीहरू शून्य कोभिड नीतिमा हदैसम्मको लचिलो हुने अपेक्षा चाहिँ गर्न सकिँदैन ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्