मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं सभाको बैठक सम्पन्न – Janadesh Daily | ePaper

मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं सभाको बैठक सम्पन्न


जनादेश, काठमाण्डौं । मिति २०७९ साल  मंसिर १६ गतेका दिन मध्यपश्चिम विश्वविद्यालय (मपवि) को तेह्रौं सभाको बैठक सम्माननीय प्रधानमन्त्रीज्यूको निजी सचिवालय बालुवाटार, काठमाण्डौंमा सफलतापूर्वक सम्पन्न भएको छ । उक्त सभाको अध्यक्षता सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यूले गर्नुभएको थियो ।

सभामा माननीय अर्थमन्त्री जनार्दन शर्माज्यू, कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री जीवन बहादुर शाहीज्यू, माननीय सांसदज्यूहरू, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने माननीय सदस्यज्यू, त्रिभुवन विश्वविद्यालय र पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपतिज्यूहरू, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्यज्यू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवज्यू, कर्णाली प्रदेश सरकारका प्रमुख सचिवज्यू लगायत विश्वविद्यालयका सभासदज्यूहरू तथा आमन्त्रित विशिष्ट महानुभावहरूको उपस्थिति रहेको थियो ।

विश्वविद्यालयको तेह्रौं सभामा स्वागत मन्तव्य र विश्वविद्यालयको नीति तथा कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहज्यूले प्रस्तुत गर्नुभएको थियो । रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलज्यूले सभाको संचालन गर्नु भएको थियो भने गत आव २०७८/०७९ को आम्दानी खर्च अनुमोदन प्रस्ताव; आव २०७९/०८० को प्रस्तावित बजेट रु. १ अरब ६ करोड ५७ लाख ८४ हजार सहितको कार्यक्रम सम्बन्धी प्रस्ताव; तथा मपवि आर्थिक–प्रशासनिक नियमावली संशोधन सम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।सभामा प्रस्तुत गरिएका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित भएको कुरा उपकुलपति सचिवालयका सूचना प्रविधि विज्ञ उप-प्रा. पन्चदेव भट्टले जानकारी दिनुभयो । 

उक्त सभामा माननीय अर्थमन्त्री जनार्दन शर्माज्यू तथा कर्णाली प्रदेश सरकारका माननीय मुख्यमन्त्री जीवन बहादुर शाहीज्यूले सम्बोधन गर्नु भएको थियो । विश्वविद्यालयको तेहौं सभाको समापन सम्माननीय प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाज्यूले गर्नु भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्