संसद र सरकारमा माओवादी जसरी पनि निर्णायकः यस्तो छ अबको प्रचण्डको रणनीति – Janadesh Daily | ePaper

संसद र सरकारमा माओवादी जसरी पनि निर्णायकः यस्तो छ अबको प्रचण्डको रणनीति


जनादेश वाच।
चार मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको सबै मतपरिणाम आएसँगै सरकार गठनको रस्साकस्सी सुरु भएको छ। शनिबार नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकपछि पार्टीका प्रवक्ता कृष्णबहादुर महराले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै आफ्नो पार्टीले यही गठबन्धन कायम राख्ने तर नयाँ सरकार बनाउने बारेमा अरु सबै पनि विकल्प खुला राख्ने निष्कर्षमा पुगेको बताए। महराको उक्त अभिव्यक्तिले गठबन्धनमा मात्रै होइन राजनीतिक वृत्तमा नै तरंग सिर्जना गर्‍यो।

तर, माओवादीले त्यसलाई आइतबार सच्चायो।आइतबार पुन: बसेको माओवादी पदाधिकारी बैठकपछि महासचिव देव गुरुङले सत्ता गठबन्धन छाड्ने वा अन्य विकल्पतिर जाने पक्षमा आफूहरू नरहेको स्पष्टीकरण दिए। उनले आफ्नै पार्टीका प्रवक्ताको एक दिन अगाडिको भनाइलाई खण्डन गरे। तर, वर्तमान सत्ता गठबन्धननलाई निरन्तरता दिने बताएका उनले नयाँ सरकारको नेतृत्वमा माओवादीको दाबी रहने संकेत भने गरे।

माओवादीको पदाधिकारी बैठक नसकिँदै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनको बैठक सोमबार दिउँसोका लागि बोलाइसकेका थिए। प्रत्यक्षतर्फको सबै मतपरिणाम सोमबार बिहानै आइसक्ने आकलन गरेका प्रधानमन्त्री देउवाले सोमबार दिउँसो बैठक गरेर निर्वाचन समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न भन्दै आइतबार गठबन्धनका सबै शीर्ष नेतासमक्ष खबर पुर्‍याए।

तर, सोमबार दिउँसो बालुवाटारमा बैठक बस्नुपूर्व नै माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनका नेतृत्वकर्ता कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवामाथि तीव्र दबाब सिर्जना गर्ने संकेत दिए। सम्भवत: दाहालको त्यही रणनीति बुझेर होला सोमबार बिहानै प्रधानमन्त्री देउवाका विश्वासपात्र तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की दाहालको निवास पुगेर उनीसँग छलफल गरे। कार्की र दाहाल बीचमा के कस्तो छलफल भयो भन्ने दुवै पक्षले खुलाएका छैनन्। तर, निर्वाचनको परिणाम आइसक्दा र नयाँ सरकार गठनको व्यापक चर्चामाझ भएको भेट यसै विषयमा केन्द्रित रहेको बुझ्न सकिन्छ।

कार्कीलाई भेटेको तीन घण्टापछि दाहालले आफ्नै निवासमा एमाले सचिव रघुवीर महासेठसँग एक घण्टा कुराकानी गरे। महासेठले मओवादी अध्यक्ष दहालसँग आफ्नो पुरानो सम्बन्ध राम्रो रहेकाले बधाई दिन मात्र पुगेको दाबी गरेका छन्। तर, त्यो दाबीमा संशयका प्रशस्त संकेत देखिन्छन्। शनिबार माओवादी प्रवक्ता महराले आफनो पार्टी सबै विकल्पमा खुला रहने बताएपछि एमालेका नेताहरू उत्साहित देखिएका छन्। त्यही सन्दर्भमा महासेठ खुमलटार पुगेको अनुमान छ। दाहालले एमाले सचिवसँग भेटेको सूचना आएलगत्तै बालुवाटारले कांग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाणलाई खुमलटार पठाउँदै दहालसँग कुरा गर्न लगायो।

माओवादीको दोधार
शनिबार र आइतबार माओवादी मुख्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले दुईथरी कुरा बाहिर ल्यायो। पहिलो दिन अर्थात् शनिबारको बैठकमा माओवादीले एमालेसहितका अन्य दलसँग पनि सहकार्य गर्न सकिने कुरा बाहिर ल्यायो। तर आइतबारको बैठकमा भने सो कुरालाई ढाकछोप गरेर वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा सरकार बन्नेबारे छलफल भएको बताइयो। शनिबार अपरान्ह पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकमा सरकार गठनका लागि एमालेसहितका दलहरुसँग छलफल गरेर अघि बढ्न सकिने भन्दै विभिन्न विकल्पमा जान सकिने निष्कर्ष निकालिएको थियो। बैठकमा निर्वाचनको समीक्षाका साथै सरकार गठनबारे विभिन्न विकल्पहरु खुला राखिएको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका थिए। महराले भनेका थिए, ‘निर्वाचनको प्रारम्भिक समीक्षा गरियो। अपेक्षा गरिए अनुसार हामीले संघमा सिट हासिल गर्न सकेनौं भन्ने समीक्षा भयो। समग्रमा चुनावको सबै परिणाम आएपछि मात्रै गर्ने कुरा गरियो। बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन र अन्य विकल्प पनि खुला राखिएको छ। विभिन्न विकल्पमा जान सकिन्छ।’

 

शनिबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देवप्रसाद गुरुङ र उपमहासचिव पम्फा भुसालले बोलेका थिए। चुनावी परिणाम बिगार्न धेरै फ्याक्टरले काम गरेको बताएका ती नेताले यो परिणामले अन्य बाटो बन्द नगर्न सन्देश दिएको कुरा बैठकमा उप्काएका थिए। भोलिपल्टको बैठकमा पनि माओवादी आफ्नो अघिल्लो दिनको छलफललाई लिएर रक्षात्मक देखियो। आइतबारको पदाधिकारी बैठकपछि पार्टी महासचिव देव गुरुङले बैठकले गठबन्धन दलको विकल्प नखोजेको भन्दै महराको अभिव्यक्तिको खण्डन गरे।

पार्टीभित्रैबाट पनि कतिपय नेताहरुले फरक मत राखिरहेका छन्। माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पहिलो पार्टीको हैसियतले अब नेपाली कांग्रेसले सरकार बनाउनुपर्ने बताएका छन्। ‘पहिलो पार्टीको हैसियतमा नेपाली कांग्रेस, दोस्रोको हैसियतमा एमालेले सरकारका लागि विश्वासको मत लियोस् र सरकार बनाओस्। यो उनीहरुको अधिकार पनि हो। उनीहरुले नबनाए हाम्रो नेतृत्वमा सरकार बनाऔं,’ उनले भनेका छन्, ‘कसैलाई काँधमा बोकेर प्रधानमन्त्री नबनाऔं। बरु प्रमुख प्रतिपक्षी भएर बसौं। अरुलाई बोकेर पार्टी सुकेनाश नलगाऔं।’

प्रचण्ड सक्रिय यस्तो छ रणनीति
सोमबार गृहमन्त्रीसँगको कुराकानीपछि दाहाल गठबन्धनकै घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकहाँ गए। नेपाल निवासको छलफलपछि उनीहरू गठबन्धको बैठकका लागि बालुवाटार पुगे। बालुवाटार बैठकमा सुरुमै माओवादी महासचिव देव गुरुङ बोले। उनले निर्वाचनमा कांग्रेसबाट इमान्दारितापूर्वक सहयोग नभएको गुनासो मात्रै गरेनन् गठबन्धन अगाडि बढाउने भए ठोस रुपमा शक्ति बाँडफाँट हुनुपर्ने विषय उठाए। बैठक स्रोतका अनुसार गुरुङले मूर्तरुपमा सरकारको नेतृत्व नै दाबी नगरे पनि शक्ति बाँडफाँट उचित ढंगले हुनुपर्नेमा जोड दिए। उनले गठबन्धन बन्दादेखि सरकार गठनसम्मको कुरा निकाल्दै आफूहरूले कांग्रेसलाई नि:शर्त सहयोग गरेपनि आफूहरूले सहयोग नपाउनु दु:खद् भएको गुनासो पोखे। गुरुङको भनाइमा एकीकृत समाजवादीका अध्यक्ष नेपालले सहमति जनाए। त्यसपछि प्रधानमन्त्री देउवाले गठबन्धनमा कसैप्रति पनि आफूहरू अब तलमाथि नगर्ने र शक्ति बाँडफाँट सबैको सहमतिमै गर्ने विश्वास दिलाए।

माओवादीनिकट स्रोतका अनुसार निर्वाचनलगत्तै माओवादी अध्यक्ष दाहालले दुईचोटी प्रधानमन्त्री देउवासँग छलफल गरेका थिए। छलफलका क्रममा दाहालले कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न चाहेको संकेत पाएका थिए। त्यसपछि उनी कांग्रेस र प्रधानमन्त्री देउवामाथि दबाब सिर्जना गर्ने रणनीतिमा अघि बढेको देखिन्छ। दाहालनिकट एक नेताका अनुसार सबै प्रमुख पदहरू कांग्रेसले नै राख्ने भए सरकारमा केही थान मन्त्रीका लागि माओवादीले सहयात्रा अगाडि बढाउन नसक्ने दाहालले संकेत गरिसकेका छन्। मूलरूपमा कांग्रेसलाई दबाबमा राखिरहने र पहिलो कार्यकालमा प्रधानमन्त्री पाए त्यसकै लागि सक्दो पहल गर्ने तर नपाए महत्त्वपूर्ण पद बाँडफाँट गरेर अर्को कार्यकालका लागि वातावरण तय गर्ने प्रचण्डको योजना देखिन्छ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्