रोनाल्डोको साउदी यात्रासँगै चुलिएको अलनासरको चर्चा, प्रशिक्षकको चाहानामा मेस्सी पनि जालान् त – Janadesh Daily | ePaper

रोनाल्डोको साउदी यात्रासँगै चुलिएको अलनासरको चर्चा, प्रशिक्षकको चाहानामा मेस्सी पनि जालान् त


जनादेश स्पोर्ट्स वाच।

साउदी अरेबियाको फुटबल क्लब अलनासरले स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको औपचारिक अनुबन्धन सार्वजनिक गरेको छ। ५ पटक बालोन डी’ओर जितेका रोनाल्डोले विश्वकपअघि म्यान्चेष्टर युनाईटेडसँगको सम्झौँता रद्द गरेका थिए ।

त्यसपछि उनको क्लब भविष्यलाई लिएर प्रश्न उठेको थियो। पोर्चुगलको खेल सुरु भएसँगै रोनाल्डोलाई अलनासरबाट आएको प्रस्ताव पनि बाहिरिएको थियो। तर, औपचारिक घोषणा नभएकाले उत्सुकता बाँकी नै थियो। रोनाल्डोको आगमनले साउदी अरेबियामा उत्साह देखिन्छ ।

शनिबार अलनासरको खेलका क्रममा समर्थकले रोनाल्डोको नाम लिँदै रंगशाला गुन्जायमान बनाएका थिए। अलनासरले सार्वजनिक गरेको भिडिओमा रोनाल्डोको आगमनले कस्तो हलचल मच्चाएको छ भनेर प्रस्ट देखिन्छ।

अलनासरको पृष्ठभूमि
सन् १९५५ मा साउदी अरेबियाको राजधानी रियादमा अलनासर क्लब स्थापना भएको थियो। अलनासर साउदीको टप डिभिजन लिग ‘साउदी प्रोफेसनल लिग’ एसपीएल खेल्ने गर्दछ। अलनासरको गृह मैदान मिसूल पार्कको क्षमता २५ हजार छ। अलनासरले कुल ९ लिग उपाधि जितेको छ। यो देशको दोस्रो सफल क्लब हो। पहिलो स्थानमा भने १८ उपाधि जितेको अल हिलाल क्लब छ । जारी लिगमा १० खेलपश्चात अलनासर २६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गत सिजन टोली तेस्रो भएको थियो।


अलनासरले साउदी अरेबियाको नकआउट प्रतियोगिता ‘किङ्स कप’ छ पटक जितेको छ। सन् १९९५ को एएफसी च्याम्पियन्स लिगमा अलनासरले इतिहासकै उत्कृष्ट प्रदर्शन गरेको थियो। सो संस्करणमा अलनासर उपविजेता बनेको थियो। लिगका सर्वाधिक गोलकर्ता मजेद अबदुल्लाहले सन् १९७७ र १९९८ मा सम्पुर्ण क्लब करियर अलनासरमा बिताएका थिए। साउदी अरेबियाका पूर्व स्ट्राइकर पनि रहेका अबदुल्लाहले क्लबको लागि १८९ गोल गरेका छन्।

मेस्सी पनि जालान् त
अल नासरका प्रशिक्षक रुडी ग्रासियाले क्रिस्टियानो रोनाल्डोपछि अब अर्का सुपर स्टार लियोनेल मेस्सीलाई भित्र्याउन खोजेको बताएका छन्। रोनाल्डोका नयाँ प्रशिक्षकले आइतवार क्लबमा आयोजित पत्रकारहरुको संवादका क्रममा मेस्सीलाई कतार विश्वकपलगत्तै भित्र्याउन चाहेको भन्दै ठट्टा गरेका हुन्। कतारमा विश्व कप जितिसकेपछि उत्सवमा झुमिरहेका मेस्सीलाई आफूले भित्र्याउन चाहेको पनि उनले बताएका छन्।

रोनाल्डोभन्दा मेस्सीलाई पहिले अनुबन्ध गर्न चाहेको बताएका उनले यसोभन्दा रोनाल्डो निराश हुन सक्ने भन्दै ठट्टा गरेका हुन्। साउदी क्लबले रोनाल्डोका लागि पैसाको खोलो बगाएको छ। स्पेनिस क्लब रियल मड्रिडले फेरि भित्र्याउने आशमा रहेका रोनाल्डो निराश हुँदै एसियाली क्लबमा आएका हु्न्। ग्रासियाले मेस्सी भित्र्याउने कुरामा ठट्टा गरिरहँदा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनले एक वर्ष सम्झौता बढाइसकेको छ।

रोनाल्डो आवद्ध क्बल अल नासरले साउदी प्रो लिग अन्तर्गत आगामी जनवरी ५ मा अल ताईसँग खेल्नेछ। रोनाल्डो उक्त खेलका क्रममा मैदानमा उत्रि सक्नेछन्। अल-नासरले म्यानचेस्टर युनाइटेडसँगको सम्बन्ध तोडेपछि खाली रहेका रोनाल्डोलाई वार्षिक १७४ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो। अल नासरले रियल मड्रिडमा रोनाल्डोका साथी सर्जियो रामोसलाई पनि भित्र्याउन खोजिरहेको छ। रामोस अहिले पेरिस सेन्ट जर्मेनबाट मेस्सीसँगै खेलिरहेका छन्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्