इन्टरनेट र मोबाइल चलाउँदा हामीले गुमाइरहेको गोपनीयताः गुगल र एप्पलले थाहा पाउने हाम्रा कुरा – Janadesh Daily | ePaper

इन्टरनेट र मोबाइल चलाउँदा हामीले गुमाइरहेको गोपनीयताः गुगल र एप्पलले थाहा पाउने हाम्रा कुरा


जनादेश टेक वाच।
स्मार्टफोनको कुरा गर्दा विश्वका सबैभन्दा लोकप्रिय दुईवटा अपरेटिङ सिस्टमको नाम आउँछ, गुगलको एन्ड्रोइड र एप्पलको आईओएस । यी दुवै प्लेटफर्ममा करोडौं प्रयोगकर्ता उपस्थित छन् । तर एन्ड्रोइड तथा आईओएस प्रयोग गर्नका लागि हामीले विभिन्न कुराको अनुमति दिनुपर्ने हुन्छ । अर्थात् प्रयोगकर्ताबाट गुगल तथा एप्पलले निकै धेरै व्यक्तिगत विवरण लिएका हुन्छन् । वास्तवमा सोसल मिडिया कम्पनीहरुले जस्तै गुगल र एप्पलले पनि आफ्ना अपरेटिङ सिस्टम मार्फत् हाम्रा धेरै जानकारी संकलन गरेका हुन्छन् ।

 

उनीहरुसँग हाम्रो एक प्रोफाइल हुन्छ, जसमा हाम्रा धेरै विवरण भण्डारण गरेर राखिएको हुन्छ । आखिर यी कम्पनीहरुले हाम्रो बारेमा के के कुरा थाहा पाएका हुन्छन् त ?

एप्पलले तपाईंको बारेमा के के जान्दछ ?
एप्पलको दाबी के छ भने उसले प्रयोगकर्ताको गोपनीयतालाई सदैव महत्व दिन्छ । यसले तेस्रो पक्षका विज्ञापनदाताहरुलाई प्रयोगकर्ताको डाटामा कमभन्दा कम पहुँच दिन्छ । केही पहिले मात्रै एप्पलले आफ्नो प्लेटफर्ममा एप ट्रयाकिङ पारदर्शिता फिचर थप गरेको थियो । यसले प्रयोगकर्तालाई आफ्ना डाटामा थप नियन्त्रण प्रदान गर्छ । यो फिचरको मद्दतबाट प्रयोगकर्ताहरुले आफ्ना डाटामा कुन कुन एपलाई पहुँच दिने वा नदिने भन्ने तय गर्न सक्छन् । यद्यपि यो फिचरपछि पनि एप्पल आफैंले प्रयोगकर्ताका धेरै डाटा संकलन गरेको हुन्छ । कम्पनीले प्रयोगकर्ताको एप्पल आईडी विवरण, फोटो तथा इमेलमा रहेका डाटाका साथै एप स्टोरबाट गरिएको खरिदका डाटा संकलन गर्छ । तपाईंले चाहनुभयो भने एप्पलले पहुँच राख्ने आफ्ना त्यस्ता व्यक्तिगत डाटाको विवरण डाउनलोड समेत गर्न सक्नुहुन्छ ।

त्यसका लागि privacy.apple.com मा गएर आफ्नो एप्पल अकाउन्ट लगइन गर्नुपर्छ । त्यहाँ तपाईंले आफ्नो डाटाको एक प्रति प्रदान गर्नका लागि अनुरोध गरी आफूले प्राप्त गर्न चाहेका डाटा छनोट गर्नुपर्छ । त्यसो गरिसकेपछि तपाईंलाई आफ्ना डाटाहरु इमेलमा प्राप्त हुन्छन् । यसका लागि सात दिनसम्मको समय लाग्न सक्छ ।

गुगलसँग तपाईंका कुन कुन विवरण हुन्छन् ?
गुगलको एन्ड्रोइड प्लेटफर्मको प्रयोग करोडौं मानिसले गर्दै आएका छन् । प्रयोकर्ताले गुगलका विभिन्न प्रकारका सेवाहरुको प्रयोग गर्छन् । त्यसैले गुगलसँग हाम्रा धेरै डाटा हुन्छन् । यदि गुगलले आफूलाई ट्रयाक नगरोस् भन्ने चाहुनुहन्छ भने तपाईंसँग केवल एउटा मात्रै उपाय छ त्यो भनेको गुगलका सेवा नै प्रयोग नगर्नु । यदि तपाईंले गुगलका सेवाहरु प्रयोग गर्नुहुन्छ भने गुगललाई आफ्ना व्यक्तिगत डाटाहरु प्रदान गर्नुको विकल्प हुँदैन । आखिर गुगलसँग प्रयोगकर्ताका कस्ता कस्ता डाटा हुन्छन् त ?

यो जान्नका लागि myactivity.google.com/activitycontrols मा गएर आफ्नो गुगल अकाउन्टबाट साइनइन गर्नुपर्छ । त्यहाँ तपाईंले आफ्नो प्रोफाइल देख्न सक्नुहुनेछ । गुगलसँग तपाईंको पूरै सर्च हिस्ट्री, लोकेसन ट्रयाकिङ, युट्युब हिस्ट्री तथा पर्सनलाइज्ड विज्ञापनको विवरण हुन्छ ।

त्यहाँ तपाईंले Manage all Web and App Activity अप्सनमा क्लिक गर्नुपर्छ र आफ्नो क्रियाकलापबारे जानकारी पाउन सकिन्छ । तपाईंले गुगलसँग रहेका आफ्ना डाटा आफैंले डिलिट पनि गर्न सक्नुहुन्छ ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्