माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको अन्तिम तयारी, घोषणाको गृहकार्य सुरु – Janadesh Daily | ePaper

माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकताको अन्तिम तयारी, घोषणाको गृहकार्य सुरु


नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एकताका लागि अधिकांश कुरामा समझदारी बनेको नेताहरूले दाबी गरेका छन्।

दस्तावेज आदन–प्रदान गर्दै हिजो भएको छलफलमा केही समझदारी बनेको र अबको बैठक निर्णायक बनाउनेगरी तयारी भइरहेको एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले जानकारी दिए। आफूहरूलाई विगतमा अदालतले छुट्टाइदिएको त्यसपछि पनि सहकार्य गर्दै आएकाले एकताका लागि पहल लिएको महासचिव भुसालको दाबी छ।

माओवादी केन्द्रका वार्ता कमिटीमा रहेका एकजना नेताले पनि अर्को बैठकमा प्राविधिक विषय टुंगो लगाउनेगरी छलफल गर्ने सहमति भैसकेको जानकारी दिएका छन्।

हिजोको वार्तामा माओवादी केन्द्रका संयोजक कृष्णबहादुर महरा, गिरिराजमणि पोख्रेल र शक्ति बस्नेत तथा नेकपा एकीकृत समाजवादीबाट संयोजक बेदुराम भुसाल, प्रकाश ज्वाला र विजय पौडल सहभागी थिए। माओवादी पार्टी कार्यालयमा भएको छलफलमा दस्तावेजहरू आदनप्रदान समेत भएको बताइएको छ। दुई पार्टीबीच धेरै कुराहरु मिलेको भुसालको दाबी छ।

दुई पार्टीबीच केही सैद्धान्तिक र वैचारिक भिन्नता समेत रहेको भन्दै त्यस विषयमा छलफल जारी राख्ने सहमति भएको नेताहरूको भनाई छ।

‘वामपन्थी र समाजवादी शक्तिबीच सहकार्य र पार्टी एकता गर्ने गरी दुवै पार्टीले गठन गरेको वार्ता टोलीबीच औपचारिक र गम्भीर ढंगले छलफल शुरू भएको छ,’ प्रकाश ज्वालाले भने, ‘हामी निरन्तर छलफल गरेर एउटा निष्कर्षमा पुग्छौ ।’

वार्ता टोलीको तहमा सहमति भएपछि शीर्ष तहमा छलफल हुने नेताहरूले बताए । यही वार्ता टोलीले एमाले परित्याग गरेका घनश्याम भुसाललाई एकीकृत समाजवादीमा भित्र्याएको थियो । माओवादीसँग पार्टी एकतासम्मको लक्ष्य राखेर छलफल गरिएको ज्वालाले बताए । समाजवादी केन्द्रमा उपेन्द्र यादव नेतृत्वको जसपा र डा. बाबुराम भट्टराई नेतृत्वको नेसपालाई समेत समेट्ने तयारी छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्