गठबन्धन फुटाउने रणनीतिः राष्ट्रपतिमा प्रचण्डले अस्वीकार गर्नै नसक्ने गरी बाबुराम अघि सार्ने तयारी – Janadesh Daily | ePaper

गठबन्धन फुटाउने रणनीतिः राष्ट्रपतिमा प्रचण्डले अस्वीकार गर्नै नसक्ने गरी बाबुराम अघि सार्ने तयारी


जनादेश वाच।
सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र साझा व्यक्तिलाई देशको राष्ट्रपति बनाउनुपर्ने बताइरहेको छ। प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो पार्टीका नेताहरुले राष्ट्रपति चयन गर्दा तीन वटा कुरामा ध्यान दिन सुझाव दिएका छन्। पहिलो पटक सरकारको नेतृत्व गरेको बेला राष्ट्रपतिकै कारण सत्ता गुमाउनुपरेको नजिरबारे आफूहरुले प्रचण्डको ध्यानाकर्षण गराएको एक पदाधिकारीले बताए।

‘हिजो मुलुकको पहिलो राष्ट्रपतिले प्रधानमन्त्रीको निर्णय कार्यान्वयन नगर्दा नागरिक सर्वोच्चताको नारा लगाउँदै सडकमा उत्रिनुपरेको थियो,’ अर्का पदाधिकारीले भने, ‘यसपटक पनि शीतलनिवासले नागरिकता विधेयक रोकिदियो, केही विषयमा राजनीति भयो, पार्टी र स्वार्थअनुसार चल्यो, अब यस्तो भएमा लोकतन्त्र र संविधान धरापमा पर्छ।’

माओवादीको १२ माघमा स्थायी समिति बैठक बोलाइएको छ। बैठकको एउटा एजेन्डामा राष्ट्रपतिको चुनाव पनि छ। ‘राष्ट्रिय सहमति बनाएर राष्ट्रपतिको निर्वाचन गरौँ भनेर प्रधानमन्त्रीले गर्नुभएको प्रस्ताव एमाले मानिरहेको छैन,’ माओवादी केन्द्रका कोषाध्यक्ष एवं कार्यालयका मुख्य सचिव श्रीराम ढकालले भने, ‘दलहरुबीच समझदारी हुँदा पात्रबारे निर्णय गर्न समस्या हुँदैन।’

सत्ता समीकरण बनाउँदा १० पुस र मन्त्रिमण्डल विस्तारमा सहमति जुटाउन २ माघमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग राष्ट्रपति एमालेलाई दिने सहमति जुटेको बताइएको थियो। सोही समझदारी अनुसार एमालेले आफ्नो भागमा परेको राष्ट्रपतिमा उठाउने उम्मेदवारबारे छलफल गरिरहेको छ।

तर, प्रधानमन्त्रीनिकट एक नेताका अनुसार अहिलेसम्म कुन दललाई राष्ट्रपति दिने कुनै सहमति भइसकेको छैन। ‘कुनै दललाई पनि राष्ट्रपति दिने कुनै लिखित सहमति भएको छैन, समझदारी र सहमति फरक कुरा हुन्,’ ती नेताले भने।

सभामुख जितेको एमालेलाई राष्ट्रपति पनि दिने कुराले शक्ति असन्तुलन हुने माओवादीका नेताहरुको विश्लेषण छ। त्यसमााथि विगतमा झेल्नुपरेको अप्ठेरोले माओवादी झस्केको छ। प्रचण्ड स्वयं भोलि झेल्नुपर्ने खतराबारे जानकार छन्। पहिलो संविधान सभाको चुनावबाट (२८ चैत २०६४) एकीकृत माओवादी सबैभन्दा ठूलो दल बन्यो। ३१ साउन ०६५ मा गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री प्रचण्ड बने। रक्षामन्त्रीले दिएको निर्देशन पालना नगरेको भन्दै प्रधानसेनापतिसँग विवाद भयो। सोही विवादले २० वैशाख २०६६ मा प्रधानसेनापति रुकमाङ्गत कटुवाललाई बर्खास्त गर्ने निर्णय गरी मन्त्रिपरिषदले राष्ट्रपति कार्यालय पठायो।

तर, राष्ट्रपति डा.रामवरण यादवले कार्यकारी सरकारको निर्णय उल्टाइदिए। अर्थात् कटुवाललाई हटाउने निर्णय मध्यराति खारेज गरेर थमौती गरिदिएका थिए। आलंकारिक राष्ट्रपतिले कार्यकारी प्रधानमन्त्रीको निर्णय उल्ट्याएको भन्दै २१ वैशाख २०६६ मा प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिए।

नेपाली कांग्रेसले प्रधानमन्त्रीको असली परीक्षा राष्ट्रपति चुनावमा देखिने भन्दै समयसीमा नै दिएको छ। २६ पुसमा विश्वासको मत दिएर गुन लगाइसकेकाले कांग्रेसले पनि स्वीकार गर्ने व्यक्तिमा साझा सहमति जुटाउन प्रचण्डले अझै प्रयास राख्ने नेताहरुलाई बताएका छन्। साढे २ वर्ष प्रधानमन्त्री बन्ने अवसर पाएका उनी सत्ता साझेदार दल एमाले र कांग्रेस दुवैको चित्त बुझाउनेगरी राष्ट्रपति उम्मेदवार खोज्न लागिपरेका छन्।

ओलीको आफ्नै दाउ
एमाले अध्यक्ष केपी ओलीले राष्ट्रपतिमा एमालेकै उम्मेदवार बनाउने बताएपनि पछिल्ला दिनहरूमा सम्भावित नाममाथिको छलफलमा रोक लगाइएको छ। एमालेभित्रका दुई समूहले फरक व्यक्ति प्रस्ताव गर्न थालेपछि राष्ट्रपतिको नाम टुंगोमा पुर्‍याउने विषय स्थगित गरिएको हो। एमालेबाट राष्ट्रपतिका लागि सत्ता साझेदादर दल (विशेष गरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड)को संकेतअनुसारकै उम्मेदवार बन्ने तेस्रो तहका एमाले नेताहरूको बुझाइ छ। राष्ट्रपतिका लागि संविधान सभा अध्यक्ष सुवास नेम्वाङका साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र डोरमणि पौडेलको नाम यसअघि चर्चामा आएको थियो।

सभामुख र उपसभामुखको निर्वाचनसम्म सत्ता साझेदार दलको भागबन्डाको सहमतिलाई अक्षरस: पालना गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा भने राष्ट्रिय सहमति खोजिने संकेत गरिरहेका छन्।

कांग्रेसले अघि सार्न सक्ने तीन पात्र
एमालेको बुझाइअनुसार नै कांग्रेसमा तीन पात्रहरूलाई लिएर छलफल भइरहेको एक कांग्रेस नेता बताउँछन्। तर, चुनावअघिदेखि नै राष्ट्रपतिमा रुचि देखाएका रामचन्द्र पौडेल भने दौडबाट बाहिरिएका छन्। कांग्रेसले त्यस्ता पात्रको खोजी गर्दैछ, जसले प्रचण्डलाई सत्ता साझेदार दलबाट बाहिर निस्किन सघाउनेछ। प्रचण्डले पहिल्यै राष्ट्रपतिमा सघाउने सुनिश्चितता गर्दा सभापति शेरबहादुर देउवालाई नै अघि सार्नेगरी कांग्रेसको एक समूहले छलफल चलाएको छ। देउवानिकट एक नेताका अनुसार यसमा प्रशस्त छलफल भइसकेको छैन तर, एउटा विकल्पका रुपमा सामान्य कुराकानी अघि बढाइएको हो।

केही दिनअघि सम्पादकहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफूलाई देउवाको अति माया लाग्ने बताएका थिए। पुस ३० गते बालुवाटारमा गरिएको भेटघाटमा प्रचण्डको भनाइ थियो, ‘मलाई शेरबहादुर देउवाको औधि माया लाग्छ। विश्वासको मत दिएपछि उहाँप्रति झन् विश्वासको जागेको छ।’

प्रचण्डले अस्वीकार गर्न नसक्ने बाबुरामको नामको रणनीति
अन्य उम्मेद्वारको नामल प्रचण्डलाई सत्ता साझेदार दलसँगको सम्बन्ध दाउमा राख्ने अवस्थामा नपुर्‍याए नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईमा अघि बढ्न सक्छ। त्यसबाट कांग्रेसले राष्ट्रपति गुमाएपनि सत्ता साझेदार दलहरूबीच चिसो पैदा हुने अवस्था सिर्जना हुने आकलन गरेको छ। सत्तारुढ दल नेकपा एमाले पनि डा भट्टराईको नाममा सशंकित छ। कांग्रेस महामन्त्री शर्माको ‘कांग्रेसले प्रस्ताव गरेको’ व्यक्ति राष्ट्रपति हुने भनाइको नजिक डा भट्टराईको नाम रहेको एमाले नेताहरूको बुझाइ छ। गएको निर्वाचनबाटै संसदीय राजनीति त्यागेका भट्टराईलाई कांग्रेसले नै अघि सार्दा प्रचण्ड आफ्नो उम्मेदवारलाई मत दिन बाध्य हुने बुझाइ कांग्रेसको छ।

 

 

 

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्