प्रचण्डको सन्देशः क्याबिनेटमा बस्नेले संघीयता खारेजी भन्न पाउँदैन – Janadesh Daily | ePaper

प्रचण्डको सन्देशः क्याबिनेटमा बस्नेले संघीयता खारेजी भन्न पाउँदैन


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरूलाई ‘संघीयता खारेज हुनुपर्छ’ भनेर बोल्ने अधिकार नभएको बताएका छन् ।

मंगलबार बसेको राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘मन्त्रिपरिषद्‌भन्दा बाहिर बसेर आफ्नो दलका बारेमा, आफ्नो दलले अवलम्बन गरेको राजनीतिक सिद्धान्तबारे बोल्ने अधिकार छ । तर, मन्त्रिपरिषद्‌भित्रै बसेरचाहिँ संघीयता खारेज हुनुपर्छ भनेर बोल्न पाइँदैन,’ उनले भने ।

त्यसअघि उनले भने, ‘एकजना मान्यले भन्नुभयो, मेरै क्याबिनेटका एकजना मन्त्रीले संघीयता खारेज हुनुपर्छ भनेर बोल्नुभयो भनेर । मलाई त यसबारे आधिकारिक जानकारी छैन । तर, यो स्पष्टीकरणको विषय हुन्छ ।’

सरकारमा ‘संघीयता चाहिँदैन’ भन्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरू पनि छन् ।

‘जनताको आन्दोलनको बलमा उठेका विषयलाई संविधानमा संस्थागत गरिएको छ। जनताको आन्दोलनको बलमा स्थापित गरिएका विषयमाथि कुनै न कुनै कोणबाट प्रश्न उठाउने काम भएको छ,’ उनले भने, ‘मन्त्रिपरिषदमा बसेर संघीयता र लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने छुट कसैलाई छैन, यो स्पष्टीकरणको विषय हुनेछ।’

संघीयता र गणतन्त्रविरुद्ध बोल्ने भए मन्त्रिपरिषद् बाहिरै रहनुपर्ने उनले बताए।

‘मन्त्रिपरिषद् बाहिर रहेर आफ्ना राजनीतिक गतिविधि अघि बढाउन पाइन्छ। यो छुट सबैलाई छ। तर मन्त्रिपरिषदमा बस्ने अनि संघीय लोकतान्त्रिक गणतन्त्रविरूद्ध बोल्ने छुट कसैलाई छैन,’ उनले भने।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्