आत्मदाहको प्रयास गरेका प्रेमप्रसादले तोसिमा कार्कीलाई भनेका थिए- ‘प्रचण्ड सरलाई भेट्न चाहन्छु’ – Janadesh Daily | ePaper

आत्मदाहको प्रयास गरेका प्रेमप्रसादले तोसिमा कार्कीलाई भनेका थिए- ‘प्रचण्ड सरलाई भेट्न चाहन्छु’


जनादेश वाच।
मंगलबार काठमाडौंमा आफैँमाथि आगो लगाई आत्मदाहको प्रयास गरेका इलामका प्रेमप्रसाद आचार्यको उपचारका क्रममा निधन भएको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले जानकारी दिए।

शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको थियो। घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार गरिएको थियो।

मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्। उनले आफूले प्रधानमन्त्री प्रचण्डलाई भेट्न चाहेको पनि बताएका थिए।

इलामका आचार्यले मंगलबार दिउँसो बानेश्वरस्थित संसद् भवन अगाडि आफैमाथि आगो लगाएका थिए । स्थानीय र प्रहरीले उनको उद्धार गरेको थियो । उनलाई कीर्तिपुर बर्न अस्पताल लगिएको थियो । उनको उपचारमा संलग्न चिकित्सक डा. सुरेन्द्रजंग बस्नेतका अनुसार आचार्यको शरीरको अगाडिपट्टिको भाग जलेकोे थियो। ८० प्रतिशत शरीर जलिसकेको थिो।

“प्रचण्ड सरलाई भेट्न पठाइदिनुस्”
मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की प्रेमप्रसाद आचार्यलाई भेट्न पुगिन्। ‘प्रेम दाइ, म आकी छु है म तोसिमा कार्की!’ मन्त्री कार्कीले उनलाई भनिन्।

आचार्यले तुरुन्त जवाफ फर्काए, ‘मैले चिनेँ।’

आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेखेका थिए। आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो थियो। अन्तिममा डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै उनले मृत्युको बाटो रोजेको बताएका थिए।

आचार्य होसमै भएकाले उपचारमा संलग्न चिकित्सकहरुले मन्त्रीलाई बिरामी भेट्न दिए। राज्यमन्त्री कार्कीलाई चिन्नेबित्तिकै आचार्य केहीबेर बोलिरहे। उनले आफ्नो स्टाटसमा लेखिएकै कुराहरु दोहोर्याए। ‘मेरा सबै भोगाइहरु लेखेको छु, मैले के गल्ती गरेँ, प्रगति गर्न खोजेँ तर मैले सकिनँ,’ उनले भने।

राज्यमन्त्री कार्कीले उनलाई सम्झाउने प्रयत्न गरिन्, ‘किन यस्तो गर्नुभएको? हामी थियौँ, राज्य थियो नि।’ उनी बोलिसक्न नपाउँदै आचार्यले जवाफ फर्काए, ‘कसैले सुन्दैनन्, कसैले सुन्दैनन्।’

राज्यमन्त्री कार्कीले भनिन्, ‘हाम्रो नयाँ सरकार बनेको थियो, हामीले केही न केही उपाय खोज्थ्यौँ, यस्तो गर्नुहुन्थेन।’ घाइते आचार्य बोलिरहँदा उनको आँखा बन्द थियो। राज्यमन्त्री कार्कीले आँखा खोल्न आग्रह गरिन्, उनले आँखा खोले।

‘मलाई निकै दुखेको छ। पेनकिलर दिनू,’ उनले भने। उनलाई भेटेपछि राज्यमन्त्री कार्कीले केहीबेर चिकित्सकसँग उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन्। उपचारमा कुनै कसर बाँकी नराख्न भनिन्।

निस्कने बेलामा राज्यमन्त्री कार्कीले आचार्यलाई भनिन्, ‘डाक्टर साबहरु यहाँ हुनुहुन्छ, नआत्तिनुस्, केही परेमा हामी गर्छौँ।’ अचार्यले राज्यमन्त्री कार्कीसँग भने, ‘प्रचण्ड सरलाई पठाइदिनुस्। मलाई यहाँ हुँदैन भने घरमा लैजानुस्।’

राज्यमन्त्री कार्कीले उनलाई ढाडस दिइन्, ‘हामी छौँ तपाईं नआत्तिनुस्। म पनि डाक्टर हो। तपाईंलाई ठिक हुन्छ।’ त्यो बेलासम्म अस्पतालमा प्रेमको परिवारका कोही सदस्य आइपुगेका थिएनन्। आफन्तहरु भने अस्पतालमा आउने क्रम सुरु भएको थियो।

आफूले किन आत्मदाह गर्नुपर्‍यो भन्ने आफ्नो जीवन भोगाइको लामो अनुभव सामाजिक सञ्जालमा पोस्ट गरेर उनले शरीरमा आगो छोडेका छन्। आत्मदाहको उनको प्रयास आफ्नो असफलताको कथाका रुपमा चित्रण गरेका छन‍्।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्