धर्मसंकटमा प्रचण्डः ओलीसँग सन्तुलन कायम राख्ने चुनौति, देउवालाई विच्क्याउन भएकै छैन – Janadesh Daily | ePaper

धर्मसंकटमा प्रचण्डः ओलीसँग सन्तुलन कायम राख्ने चुनौति, देउवालाई विच्क्याउन भएकै छैन


जनादेश वाच।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग अहिले प्रधानमन्त्री पद छ तर पूर्व सहमति अनुसार राष्ट्रपति र सभामुख एमालेको भागमा पुग्ने भनिएको छ । अघिल्लो पटकको अभ्यासले पनि यी २ पदमा कुनै नेता निर्वाचित भइसकेपछि प्रधानमन्त्रीलाई जसरी हटाउन सम्भव छैन । यी २ पद पदीय हिसाबले तटस्थ हुन् तर नेपालको सत्ता राजनीतिको जोडघटाउमा दलहरूले यी दुवै पदलाई प्रतिष्ठाको विषय बनाउने गरेका छन् ।

संवैधानिक र तटस्थ हुनुका बाबजुद पनि यी दुवै पदमा मुख्य दलहरूले असीमित शक्ति देखेका छन् तर साढे २ वर्षपछि प्रचण्डले प्रधानमन्त्री पद छोड्नुपर्नेछ । त्यो बेला एमालेले पनि सभामुख छोडेपछि माआवादीले लिने भन्ने त छ तर माओवादी सभामुख मात्रै लिएर आफू ओलीको छायाँमा पर्ने र शक्तिविहीन बन्ने खतरा छ।

यति मात्रै होइन, यसअघि जस्तै फेरि ओलीले देशलाई फेरि संसद विघटनको बाटोमा लाने हो कि भन्ने डर माओवादीमा छ । प्रचण्डलाई विश्वासको मत दिएपछि कांग्रेसले भन्ने गरेको छ – २ पटक संसद विघटन गरेका ओलीले गल्ती नस्वीकारेकाले फेरि विघटनको जोखिम छ । राष्ट्रपति र प्रधानमन्त्री दुवै पद एमालेमा थुप्रिँदा फेरि पहिले जस्तै गरी राजनीतिक संक्रमण देखिन सक्ने भन्दै माओवादी एमालेसँग झस्किएको छ । सर्वोच्च अदालतदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत ओली अनुकूलको नेतृत्व छ । यसरी महत्त्वपूर्ण संवैधानिक पद नै ओलीनिकट हुने भएपछि आफूहरू सत्ता सहयात्री हुने तर सबैथोक ओलीको चल्ने सबैभन्दा ठूलो त्रास माओवादीमा देखिन्छ ।

माओवादीका एक नेता भन्छन्, ‘कम्तीमा राष्ट्रपति एमाले बाहेकलाई बनाउन सकियो भने ओलीको यसअघिको जस्तो दादागिरी चल्दैन कि भनेर माओवादीले सोच्नुपर्ने हुन्छ ।’

प्रचण्डले अझै पनि शान्ति प्रक्रियाका केही काम टुंग्याउन बाँकी रहेकाले कांग्रेसलाई समेत सहमतिमा मिलाएर जान सक्दा सहज हुने बिहीवारको स्थायी समिति बैठकमा बताएका थिए । यसैले माओवादीले निर्णय दिनुपर्ने भन्दै शुक्रवार आ–आफ्नो राय दिन यसअघि जस्तै प्रचण्डले बिहीवारको स्थायी समितिको बैठकमा सर्वस्वीकार्यलाई राष्ट्रपति बनाउनुपर्ने भन्दै एमाले र कांग्रेसले भनेका व्यक्तिको पक्षमा तयार नहुने बताएका हुन् ।

राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सांसदले भोट हाल्ने राष्ट्रपतिको चुनावमा माओवादीसँग निर्णायक मत छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनावमा राष्ट्रियसभा र प्रतिनिधि सभाका प्रतिसांसद मतभार ७९ हुन्छ । प्रदेश सभाका सदस्यको मतभार ४८ हुन्छ । यस्तो समग्र मतभारमा २६ हजार ३०० कटाउने उम्मेदवार विजयी हुनेछ ।

ओलीको आफ्नै चाल
पार्टी कार्यालय च्यासलमा आयोजित प्रशिक्षणमा सम्बोधन सकेर बाहिर निस्कँदै गर्दा राष्ट्रपतिबारे प्रतिक्रिया दिनै मानेनन् एमाले अध्यक्ष केपी शर्मा ओलीले। सञ्चारकर्मीको प्रश्नलाई मुस्कानसहित कुटनीतिक जवाफ दिन अघि सरिहाल्ने ओली बुधवार पन्छिनमात्र खोजेनन् केही रुखो पनि सुनिए।

‘यो कुरामा धेरै नजिस्काउनुस् न तपाईँहरू, जतिबेला भेट्यो त्यतिबेला जिस्क्याउनुहुन्छ,’ राष्ट्रपतिबारे सोधिएको प्रश्नकर्ताको मुखमा बुजो लगाइदिए उनले। ‘माओवादी केन्द्रलाई प्रधानमन्त्री, एमालेलाई राष्ट्रपति र सभामुख’ – पुस १० को सहमति जोगाउन चाहन्छन् ‌ओली। तर एमाले-माओवादीको सहमतिमै ‘ब्रेक’ गर्ने दाउमा छ, नेपाली कांग्रेस।

सहमति जोगाउन चाहने ओली र भत्काएर नयाँ ‘ट्रयाक’ खोल्न चाहने कांग्रेस सभापति शेरबहादुर देउवाको चेपुवामा छन्, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड। गाँठो फुकाउनकै लागि, स्थायी कमिटीको बैठकमा सुझाव मागिरहेका छन् प्रचण्ड। माघ १२ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गरेर प्रचण्डले नेताहरुलाई पछिल्लो परिस्थितिको ब्रिफिङ गरिरहेका छन्।

एमालेसँग रणनीतिक सम्बन्ध राख्ने चुनौति
पुस १० को सहमतिलाई जस्ताकोतस्तै पालना गर्ने पक्षमा छैनन् प्रचण्ड। ‘राष्ट्रिय सहमति’ को प्रसंगलाई अगाडि ल्याएका छन् दाहालले। उक्त एजेण्डा राजनीतिक भन्दा रणनीतिक देखिन्छ। ‘एमाले, कांग्रेस र माओवादी सहितको राष्ट्रिय सहमति भनिएको हो। एमाले र कांग्रेसलाई बाइपास गरेर राष्ट्रिय सहमति हुन सक्दैन,’ माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भने।

प्रधानमन्त्री र सभामुख चयनलाई सहजै फत्ते गरेको सत्ता गठबन्धनलाई राष्ट्रपति छान्न सजिलो छैन। ओलीसँग ‘लभ हेट’को सम्बन्धमा रहेका प्रचण्ड पुस १० गते एकाएक ‘यु टर्न’ भएका थिए। प्रधानमन्त्री बन्न ओलीसँग हात मिलाउन पुगेका प्रचण्ड देउवासँगको सम्बन्धलाई पनि कायमै राख्न चाहन्छन्। आलोपालो प्रधानमन्त्रीको सहमति पालना नभएपछि ओलीसँग प्रचण्डको तिक्ततापूर्ण सम्बन्ध थियो तत्कलीन नेकपाकै बेलादेखि। ओली प्रचण्डलाई प्रधानमन्त्री मान्न तयार भएपछि भने ओली-प्रचण्ड पुरानै सम्बन्धमा फर्किएका छन्। ओलीसँग जहिले रणनीतिक सम्बन्धमा छन् प्रचण्ड।

पार्टी एकीकरण नै गरेर पनि सहमति पालना नभएपछि पुरानै ठाउँमा फर्किएका थिए दुबैजना। तर देउवासँग भने एकनासको सम्बन्धमा छन् प्रचण्ड। प्रधानमन्त्री प्रचण्डलाई छोड्न देउवाले अस्वीकार गरे पनि दुवै जनाबिचको सम्बन्ध बिग्रिएन। तर राष्ट्रपतिको निर्वाचनका बेलमा प्रचण्डले कसरी जोगाउछन् देउवासँगको सम्बन्ध? त्यो भने चुनौतिको विषय बनेको छ, प्रचण्डलाई। यो चुनौती माओवादीकै कारण आएको भने होइन। बरु कांग्रेसले नै प्रचण्डलाई विश्वासको मत दिएर सत्ता गठबन्धनको कोर्टमा ‘इन्ट्री’ गरेको हो।

देउवाको ढोक्सा र ओलीको पिँजडाको अर्थ
कांग्रेसका नेताहरुले एमालेलाई राष्ट्रपति दिए प्रचण्ड चेपुवामा पर्ने बताइरहेका छन्। उक्त अभिव्यक्तिका पछाडि अहिलेको गठबन्धनमा ब्रेक लगाउनु हो भन्ने बुझ्न कठिन छैन। किनभने जसरी लामो समय लगाएर ओलीले कांग्रेस-माओवादी समीकरणलाई भत्काएका थिए त्यसरी नै देउवा एमाले-माओवादी समीकरण टुटाउने गृहकार्यमा छन्। आफ्नो पार्टीको राष्ट्रपति बनाउन सम्पूर्ण बल लगाउने कांग्रेसले बताइ नै सकेको छ।

माघ ५ मा भएको राष्ट्रपतिको निर्वाचनमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीको चेपुवामा परेको बताएका थिए। ‘हामीले ढोक्सा थापेका छैनौं। तर माछा र ढोक्साको कथा हालेर कसिलो पिँजडा नबनाउन आग्रह गर्छु,’ ओलीले कांग्रेसले विश्वासको मत दिएर ढोक्सा थापेको आरोप लगाएपछि जवाफमा शर्माले भनेक थिए। हुनत प्रचण्डले ढोक्सा थापिरहेका देउवा र पिँजडा बनाउन खोजिरहेका ओलीलाई सन्तुलनमा राख्न पनि दुई ठूला पार्टीका नेतासँग समानान्तर दुरी राख्न खोज्नु नौलो होइन। २०७९ पुस १० गतेको र २०७४ को एमाले-माओवादी चुनावी गठबन्धन र त्यसपछिको पार्टी एकताले प्रचण्ड सत्तामा बसेर सत्ताबाहिरहकै दलसँग सम्बन्ध बनाइरहन्छन् भन्ने पुष्टि गर्छ। २०७४ मा कांग्रेस-माओवादी सत्तामा थिए। त्यतिबेला स्थानीय तहको निर्वाचनमा कांग्रेस-माओवादी गठबन्धन बन्यो। तर प्रतिनिधि सभामा वाम गठबन्धन बनाएर कांग्रेसलाई चक्मा दिएका थिए प्रचण्डले। फेरि २०७९ को प्रतिनिधि सभाको निर्वाचनपछि सत्तामा रहेको कांग्रेसलाई नै मात खुवाउनेगरी ओलीसँग हात मिलाउन पुगे। कांग्रेस नेतृत्वको गठबन्धनमा ब्रेक लगाएर एमाले-माओवादी समीकरण बनाएका दाहलमाथि प्रधानमन्त्री भएपछि संकटको भने थुप्रो नै लागेको छ। प्रचण्डमाथि यो धर्म संकट थपिदिने अरु कोही नभएर देउवा नै हुन्।

प्रधानमन्त्रीमा विश्वासको मत दिएपछि प्रचण्ड कांग्रेसलाई पनि साथै लिन चाहिरहेका छन्। किनभने एमालेसँगको समीकरण जोखिममा पर्दा कांग्रेसको साथ खोज्ने छन् प्रचण्डले। एमाले-माओवादी सम्बन्धमा दरार आउन सक्ने संकेत देखेरै होला संसदमा विश्वासको मत पाउने ग्यारेण्टी भए पनि पुस २५ गते प्रचण्ड देउवा निवास पुगे। देउवाले पनि वचन दिइहाले- ‘विश्वासको मत दिन्छौं’। सभामुखको निर्वाचनलाई त्यति प्राथमिकता नदिएको कांग्रेसले उम्मेदवार भने उठाएको थियो। कांग्रेसकी ईश्वरी न्यौपानेले सय मतमात्रै पाइन्।

प्रचण्डलाई विश्वासको मत दिए पनि सत्तामा नरहेको अर्को दल हो – नेकपा (एकीकृत समाजवादी)। सभामुख र उपसभामुखको निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेको थियो एकीकृत समाजवादीले। कांग्रेसमात्रै होइन प्रतिनिधि सभामा १० सिट रहेको एकीकृत समाजवादीलाई पनि साथमै राख्न चाहन्छन् प्रचण्ड। किनभने जुनसुकै बेला पनि एमाले बाहेकको मोर्चाबन्दी गर्नुपर्ने स्थिति आउनसक्नेबारे जानकार नै छन् प्रचण्ड।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्