पचास हजार वर्षपछि पृथ्वीनजिक आइपुग्दै दुर्लभ पुच्छ्रेतारा, यो हेर्ने अवसर जीवनमा एक पटक मात्र – Janadesh Daily | ePaper

पचास हजार वर्षपछि पृथ्वीनजिक आइपुग्दै दुर्लभ पुच्छ्रेतारा, यो हेर्ने अवसर जीवनमा एक पटक मात्र


जनादेश अन्तर्राष्ट्रिय  वाच।

एउटा दुर्लभ खालको हरियो पुच्छ्रेतारा हाम्रो सौर्यमण्डलमा फेरि आइपुगेको छ। फेब्रुअरी १ मा यो खगोलीय पिण्ड उत्तरी गोलार्धमा खाली आँखाले नै देख्न सकिने आशा गरिएको छ। पुच्छ्रेतारालाई धूमकेतु पनि भनिन्छ। यो धूमकेतु पृथ्वीनजिकै रहेको बाह्य अन्तरिक्षमा ५०,००० वर्षपछि पहिलो पटक आइपुग्न लागेको हो। अनि यो त्यहाँ झन्डै एक महिनासम्म रहने अनुमान गरिएको छ। अमेरिकी अन्तरिक्ष निकाय नासाका वैज्ञानिकहरूका अनुसार उक्त पुच्छ्रेतारा गत वर्ष मार्च महिनामा पहिलो पटक देखिएको थियो। त्यतिबेला उक्त पिण्ड बृहस्पति ग्रहको कक्षभित्र थियो। यो पुच्छ्रेतारा बरफले बनेको छ।

 उत्तरी गोलार्धमा दूरबिनबाट हेर्दा यो पिण्डलाई सानो हरियो बत्तीजस्तो देख्न सकिन्छ। “हामी केही अणुहरूका सङ्केत खोज्नेछौँ जुन धरतीबाट भेट्न सकिँदैन। ती पृथ्वीको वायुमण्डलमा भएका पदार्थ – जस्तै: पानी, कार्बन डाईअक्साइड, कार्बन मनोक्साइड, मीथेन हुन्,” नासा वैज्ञानिक डा. स्टेफनी मिल्यामले भनिन्।

यो पुच्छ्रेताराको हरियो, पन्नाको जस्तो रङ्गले यसको रासायनिक संयोजनबारे सङ्केत गर्छ। पुच्छ्रेताराको केन्द्रीय भाग वरिपरि हुने धमिलो आवरणमा सूर्यको प्रकाश पर्दा त्यस्तो रङ्ग देखिन्छ। उक्त बादलजस्तो आवरणमा कार्बनबाट बनेका अणुहरू हुन्छन्। वैज्ञानिकहरूका अनुसार बुधवार (फेब्रुअरी १) उक्त पुच्छ्रेतारा पृथ्वीको सबैभन्दा नजिक आइपुग्छ।

“पुच्छ्रेताराहरू अनुमान गर्न नसकिने खालका हुन्छन्। तर यदि यो पुच्छ्रेतारामा अहिले विद्यमान चमकको प्रवृत्ति कायम रह्यो भने यसलाई देख्न सजिलो हुनेछ,” गत महिना नासाले आफ्नो ब्लगमा उल्लेख गरेको थियो। “अँध्यारो आकाशमा यसलाई खाली आँखाले देख्न सम्भव हुनसक्छ।” पृथ्वीबाट सबैभन्दा नजिक देखिँदा यो खगोलीय पिण्ड ४.२ करोड किलोमिटरको दूरीमा हुने प्ल्यानिटरी सोसाइटीले जनाएको छ। यसअघि ज्यानुअरी १२ मा यो पुच्छ्रेतारा सूर्यनजिकै पुगेको थियो।

पुच्छ्रेतारामा के हुन्छ?
खगोलशास्त्रीहरू पुच्छ्रेतारालाई “बरफका मैला थुप्रा” पनि भन्छन्। बरफ, धुलो र चट्टान मिलेर पुच्छ्रेतारा बन्छ। ती पदार्थको स्रोत हाम्रो सौर्यमण्डलको बाहिरी कुनामा हुने ‘ऊर्ट क्लाउड’ भनिने क्षेत्रको बरफिलो घेरा हो। पुच्छ्रेताराको भित्री भागमा चट्टान, बरफ र धुलो हुन्छन्। भित्री भागलाई थप बरफ र धुलोको पातलो र ग्यासयुक्त आवरणले ढाकेको हुन्छ। त्यो आवरणलाई “कोमा” भनिन्छ। सूर्यनजिकै पुग्दा पुच्छ्रेताराहरू पग्लिन्छन् र ग्यासको फोहोरा निस्किन्छ। सूर्यबाट आउने विकिरणका कारण तिनको सतहबाट धुलो उड्छ अनि बाहिरतिर फर्किएको धमिलो पुच्छर बन्छ। विभिन्न किसिमले उत्पन्न हुने गुरुत्वाकर्षणका कारण ऊर्ट क्लाउडबाट उछिट्टिएर पुच्छ्रेताराहरू सौर्यमण्डलको भित्री भागतिर पुग्छन्। सूर्यबाट उत्पन्न हुने ताप बढी भएको ठाउँतिर पुग्दा तिनलाई देखिने सम्भावना बढ्छ। यो पुच्छ्रेतारालाई सूर्यको परिक्रमा गर्न झन्डै ५०,००० वर्ष लाग्छ। “त्यसैले यो हेर्ने अवसर जीवनमा एक पटक मात्र आउँछ,” प्ल्यानिटरी सोसाइटीले भनेको छ।

यो पुच्छ्रेताराको नामकरण कसरी भयो?
विश्वभरि भएका वेधशालाहरूले प्रत्येक वर्ष एक दर्जनभन्दा कम पुच्छ्रेतारा पत्ता लगाउँछन्। नासाले यो बरफिलो पुच्छ्रेताराको नाम C/2022 E3 (ZTF) राखेको छ। यो निकै क्लिष्ट नाम हो। क्यालिफोर्नियास्थित ज्विकी ट्र्यान्जिअन्ट फ्यासिलिटीले यो पुच्छ्रेतारा पत्ता लगाएको हो। त्यसैले यसको नामको अन्तिममा उक्त संस्थाको नामको सङ्क्षिप्त रूप जेडटीएफ लेखिएको छ। तपाईँले अरू पुच्छ्रेताराको नाममा पनि यो सङ्क्षिप्त रूप देख्नुभएकै होला। ती सबै सोही संस्थाले पत्ता लगाएका पुच्छ्रेतारा हुन्।

यो पुच्छ्रेतारा कसरी हेर्ने?
उत्तरी गोलार्धमा भएका मानिसले खाली आँखाले हेर्ने हो भने यो पुच्छ्रेतारा “आकाशमा धमिलो, हरियो धब्बा” जस्तो देख्नेछन्। तर दूरबिन प्रयोग गर्दा उक्त खगोलीय पिण्डको पुच्छर पनि देख्न सकिने प्ल्यानिटरी सोसाइटीले जनाएको छ। ज्यानुअरीमा यो पुच्छ्रेतारा पश्चिमोत्तर दिशातिर जाँदा उत्तरी गोलार्धमा बिहानीपख आकाशमा हरियो रङ्गको चहक देखिएको थियो। दक्षिणी गोलार्धबाट फेब्रुअरी महिनामा यो पुच्छ्रेतारा देखिने नासाले जनाएको छ। अहिले यो पुच्छ्रेतारा सूर्यबाट टाढिने र सौर्यमण्डलको बाह्य भागतिर जाने क्रममा पृथ्वीनजिकै आइपुगेको छ। पुच्छ्रेतारा हेर्न कृत्रिम प्रकाशका कारण धेरै उज्यालो भएको ठाउँभन्दा निकै टाढा जानु उपयुक्त हुन्छ। नासाले जेम्स वेब स्पेस टेलिस्कोपबाट यो पुच्छ्रेतारा अवलोकन गर्ने योजना बनाएको छ। उक्त टेलिस्कोपबाट गरिने अध्ययनले सौर्यमण्डलको उत्पत्तिबारे थप जानकारी दिन सक्छ।

बीबीसीबाट साभार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्