माधव नेपालको प्रतिवेदनः आलोचनासँगै आशा पनि प्रचण्डकै, पुरानै गठबन्धन व्यूउँतिनेमा ढुक्क – Janadesh Daily | ePaper

माधव नेपालको प्रतिवेदनः आलोचनासँगै आशा पनि प्रचण्डकै, पुरानै गठबन्धन व्यूउँतिनेमा ढुक्क


जनादेश वाच।

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशलाई सहमतिको राजनीतिमा लैजाने वा नलैजाने जिम्मा माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको बताएका छन्। शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवदेनमा देशलाई सहमतिको मार्गमा डोर्‍याउने/नडोर्‍याउने जिम्मा दाहालकै रहेको निष्कर्ष निकालिएको हो।

‘हामीले सरकारमा सामेल हुन समर्थन गरेका होइनौं, सहमतिको वातावरण निर्माण गर्न सकिन्छ कि भन्ने आशयले उक्त सुझावसहित प्रधानमन्त्रीलाई विश्वासको मत मात्र दिएका हौं । माओवादी विगत गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौं,’ प्रतिवदेनमा भनिएको छ, ‘संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले पनि सरकार गठनका लागि समर्थन होइन सहमतिकै आशयले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको छ । मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब माओवादी र त्यस पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री दाहालको हातमा रहेको छ।’

प्रतिवदेनमा कांग्रेसको घमण्ड र माओवादीको सत्ता केन्द्रित सोचले नयाँ गठबन्धन बनेको जनाइएको छ । अध्यक्ष नेपालले शनिबारबाट सुरु भएको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा कांग्रेस ठूलो दल बनेपछि उसमा घमण्ड बढेको उल्लेख छ । प्रतिवदेनमा नयाँ गठबन्धन बन्नुपछिको ४ कारण बताएका छन् । जसमा निर्वाचनबाट ठूलो दल बनेपछि कांग्रेसमा शक्तिको घमण्ड बढ्नु, उसले गलत सूचनामा विश्वास गर्नु, केपी ओलीले उपर्युक्त वाम–लोकतान्त्रिक गठबन्धनलाई जसरी पनि तोडिछाड्ने उद्देश्य राखेर चालबाजीपूर्ण कदम चाल्नु, माओवादीको सत्ता केन्द्रित सोच र आफूलाई लाभ हुने भएपछि विचार, नीति, सिद्धान्त, दृष्टिकोण र सहयात्री साथीहरू सबै त्यागेर हिँड्ने प्रवृत्ति रहेको उल्लेख छ ।

अहिलेको सरकारलाई खिचडीको संज्ञा दिँदै नेपालको प्रतिवेदनमा भनिएको छ, ‘यो गठबन्धन खिचडी प्रकृतिको छ । यसमा संविधानको पालना नगर्ने एमाले, गणतन्त्रको पक्षधर माओवादी र गणतन्त्रको विरोधी एवं हिन्दु राज्य र राजतन्त्र पुनःस्थापना गर्न चाहने राप्रपा, संघीयताको पक्षधर जसपा र संघीयताविरोधी राप्रपा एवं रास्वपा, जातीय पहिचानवादी नाउपा र पृथकतावादी पृष्ठभूमिको जनमत पार्टी एकै ठाउँमा रहेका छन् ।’

माधव नेपालको प्रतिवेदन
अध्यक्ष नेपालको दस्तावेजमा मुख्य गरी चार विषय समेटिएका छन् । अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय राजनीति, चुनावी समीक्षा र पार्टी संगठनको अवस्थाबारे प्रतिवेदनमार्फत् छलफल खुला गरिएको छ । अध्यक्ष नेपालले अन्तर्राष्ट्रिय परिस्थितिलाई चीन र रुसप्रति झुकाव राखेर व्याख्या गरेका छन् । त्यसै आधारमा, पार्टी दृष्टिकोण बनाउनुपर्ने प्रस्ताव राखेका छन् ।

प्रतिवेदनको दोस्रो, तर महत्वपूर्ण विषय भने चुनावी समीक्षा छ । नेकपा एमालेबाट विद्रोह गरेर बनेको पार्टीले अपेक्षित मत नपाएको तथ्य स्वीकारिएको छ । ‘हाम्रो पार्टी पनि अपेक्षा गरिए भन्दा पछाडि परेको छ’ प्रतिवेदनमा लेखिएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ साढे सात लाख मत ल्याउने आशा गरेको भएपनि झण्डै दुई तिहाइ कम आउँदा थ्रेस होल्ड कटाउन नसकिएको उल्लेख छ ।

प्रदेशसभातर्फ आएको मत समेत प्रतिनिधिसभामा नआएको तथ्य प्रतिवेदनमा समेटिएको छ । प्रदेशसभाको समानुपातिकतर्फ आएको ३ लाख ७७ हजार ६३ मत प्रतिनिधिसभामा पनि आउँदा एकीकृत समाजवादी राष्ट्रिय दल बन्ने थियो । तर प्रतिनिधिसभातर्फ २ लाख ९८ हजार ३९१ मत मात्रै आउनुमा १६ कारण रहेको प्रतिवेदनमा उल्लेख छ । ती कारणहरुमा पार्टी योजना कार्यान्वयन नहुनु, कार्यकर्ता परिचालित नहुनु, गठबन्धनबाट सहयोग नपाउनु, टिकट नपाउनेहरुबाट असन्तुष्टि बढ्नु, अवसरवादी प्रवृत्ति देखिनु, पैसा बिना नचल्ने प्रवृत्ति देखिनु, तालमेलका कारणले समानुपातिक मतमा असर देखिनु, प्रभावकारी प्रचार नहुनु लगायत छन् । विचार र सिद्धान्तमै प्रष्ट नभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ नयाँ मतदाता देखिएकाले पनि एकीकृत समाजवादीले अपेक्षित मत पाउन नसकेको प्रतिवेदनमा छ ।

बढी असर भने नयाँलाई मत भनेर प्रचार गरिएको ‘नो, नट अगेन’ अभियानबाट पुगेको अध्यक्ष नेपालको प्रतिवेदनमा उल्लेख छ । ‘पुराना पार्टी र नेताहरुलाई अब फेरि मत दिनु हुँदैन (नो, नट अगेन) भनेर ब्यापक रुपमा नकारात्मक प्रचार गरिएको थियो । हाम्रो पार्टीका मुख्य नेताहरुको नामै किटेर र फोेटा समेत देखाएर त्यस्तो प्रचार गरिएको थियो’ प्रतिवेदनमा उल्लेख छ ।

एकीकृत समाजवादीलाई पनि पुरानै पार्टी भनेर प्रचार गर्दा नयाँ थपिएका २५ लाख ६० हजार मतदाता प्रभावित बनेको विश्लेषण छ । ‘विदेशमा रहेका युवाहरुले समेत घरमा फोन गरेर रास्वपाको घण्टीमा मत दिन लगाए । उनीहरुले हामीलाई विश्वास गरेनन्’ अध्यक्ष नेपालले प्रतिवेदनमा भनेका छन् । प्रत्यक्षतर्फ पनि सन्तोषजनक नतिजा नआएको अध्यक्ष नेपालले निष्कर्ष प्रस्तुत गरेका छन् । गठबन्धन गर्दा प्रतिनिधिसभामा २० र प्रदेशसभामा ४१ सिट पाएको एकीकृत समाजवादीले प्रतिनिधिसभामा १० र प्रदेशसभामा १६ सिट जितेको छ ।

समानुपातिक सहित गरेर एकीकृत समाजवादीको प्रदेशसभामा २४ सिट छ । तर एकीकृत समाजवादीकै मतका कारण एमालेले २० क्षेत्रमा पराजित हुनु परेको, कांग्रेस र माओवादी केन्द्रले थप चार÷चार सिट जितेको निष्कर्ष उल्लेख छ । यो चुनावी समीक्षाका रुपमा अध्यक्षमा पार्टी संगठनको चुस्तता, वैचारिक प्रष्टता र वाम मोर्चा÷एकतालाई जोड दिइएको छ । ‘पुराना दलहरु रुपान्तरित नहुने हो र परम्परागत ढंगले नै चल्ने हो भने उनीहरुप्रति विकर्षण अझै बढ्दै जाने देखिन्छ । यो पनि यस निर्वाचनबाट प्राप्त भएको एउटा शिक्षा हो’, प्रतिवेदनमा उल्लेख छ ।

कांग्रेसले पूर्वसहमति अनुसार प्रचण्डलाई पहिलो प्रधानमन्त्री नस्वीकार्दा यस्तो परिस्थिति बनेको कारण दिइएको छ । तर विगतमा गठबन्धन गरेकै कारणले प्रचण्डलाई १५ बुँदे सुझावसहित विश्वासको मत दिनुपरेको प्रष्टोक्ति अध्यक्ष नेपालले दिएका छन् । कांग्रेसले समेत प्रचण्डलाई विश्वासको मत दिनुको कारण भने सरकारमा सहभागी हुनु नभएर सहमतिको आशा भएको तथ्य प्रतिवेदनमा लुकाइएको छैन ।

पार्टीगत दृष्टिकोणमा भने एकीकृत समाजवादीले माओवादीलाई ढुलमुले र कांग्रेसलाई पूँजीपति वर्गको प्रतिनिधित्व गर्ने पार्टी भनेको छ । तर कांग्रेस संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध शक्ति भएको निष्कर्ष निकालेको एकीकृत समाजवादीले एमालेलाई चाहिँ दक्षिणपन्थी अवसरवादी शक्ति भनेको छ । ‘प्रतिनिधिसभाको दोस्रो ठूलो दलका रुपमा रहेको नेकपा एमाले दक्षिणपन्थी अवसरवादी चरित्रको कम्युनिष्ट पार्टी हो । यसको वर्ग अडान स्पष्ट छैन’, प्रतिवेदनमा उल्लेख छ ।

एमालेप्रति पूरापुर नकारात्मक रहेको एकीकृत समाजवादीले भने माओवादी र प्रचण्डप्रति भने अझैपनि आशा गरेको प्रतिवेदनबाट प्रष्ट हुन्छ । उसले राष्ट्रिय राजनीति, पार्टीगत सहकार्य र एकतामा समेत माओवादीसँगै लचक रहेको सन्देश दिएको छ । पार्टी एकता गर्न राखेको शर्त र अडान अनि प्रचण्डलाई विश्वासको मत दिनुपर्ने तर्कमार्फत् त्यस्तो सन्देश रहेको प्रष्ट हुन्छ ।

‘…माओवादी केन्द्र विगतको गठबन्धनको वाम सहयात्री भएकाले शंकाको सुविधा पनि दिएका हौं’ अध्यक्ष नेपालले आफ्नो राजनीतिक प्रतिवेदनमा लेखेका छन्, ‘…मुलुकलाई सहमतिको मार्गमा डोर्‍याउने कि नडोर्‍याउने भन्ने जिम्मा अब नेकपा माओवादी केन्द्र र त्यसका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हातमा रहेको छ ।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्