ओलीसँग छुटेको एक सातापछि प्रचण्डको सन्देशः अलमलिएका थियौं अब ठीक ठाउँमा छौँ – Janadesh Daily | ePaper

ओलीसँग छुटेको एक सातापछि प्रचण्डको सन्देशः अलमलिएका थियौं अब ठीक ठाउँमा छौँ


जनादेश वाच।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद विघटन ठीक भएको बताएपछि नयाँ गठबन्धन बनाएको तर्क गरेका छन्। ८ दलका सांसदहरुको भेलामा प्रचण्डले ओलीको पुस २६ गतेको प्रतिनिधि सभाको भाषणले आफू सोच्न बाध्य भएको बताए। पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते विश्वासको मत लिएका थिए। विश्वासको मतका बेला ओलीले संसद विघटन अन्तराष्ट्रिय अभ्यास अनुसार पनि ठीक भएको तर्क पेश गरेका थिए। एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले फागुन १२ गते भने नेपाली कांग्रेससँग गठबन्धन गरेका हुन्।

‘एमालेसँग तालमेल गर्दा अलमलिएँ’
राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन सांसदहरुलाई अभिमूखिकरण गर्न ८ दलले काठमाडौंमा भेला गरेका हुन्। ८ दलका शीर्ष नेताले सम्बोधन गरेको भेलामा प्रचण्डले एमालेसँग गरिएको गठबन्धन ‘अलमल’ भएको बताए। ‘संसद पुनर्स्थापना गर्न सडकसम्म गर्‍यौ‌ं। हाम्रो गठबन्धन लोकतन्त्र र संविधानको रक्षाका निम्ति थियो, विकास र समृद्धिको जनचाहना सम्बोधन गर्न थियो। तर, बिचमा हामी अलिकति अलमलियौँ, अब ठीक ठाउँमा आएका छौँ,’ प्रचण्डले भने। एमालेसँगको सहकार्य टुटेको हप्तादिनमा प्रचण्डले अलमलिएरमात्रै एमालेसँग गठबन्धन गर्न पुगेको स्वीकारेका हुन्।

रामचन्द्रलाई १० दलको साथ!
प्रचण्डले राष्ट्रपतिका उम्मेदवार पौडेललाई ८ दलको मात्रै नभइ १० दलको साथ भएको दाबी गरे। ‘रामचन्द्रजीलाई आठ दलको मात्र होइन १० दलको समर्थन छ। गठबन्धनमा रहेका दलका साथै आम आदमी र नेपाल समाजवादी पार्टीको पनि समर्थन छ,’ प्रचण्डले भने,’स्वतन्त्र सांसदहरूको पनि समर्थन छ। उहाँले निर्वाचन जितिसक्नुभएको छ।’ पौडेलले संविधानको रक्षा गर्ने र यसअघिका राष्ट्रपतिले गरेको जस्तो गल्ती नगर्ने पनि प्रचण्डको विश्वास छ।

‘राजनीति उतारचढावपूर्ण’
प्रचण्डले अहिले पनि राजनीति उतारचढावपूर्ण अवस्थामा भएको बताए। राजनीति चुनौतिको सामना गर्नु परिरहेको प्रचण्डको भनाइ थियो। आफूले पाएको विश्वासको मत अभूतपूर्व भएको उनले बताए। ‘नेपाली राजनीति उतारचढावपूर्ण परिस्थितिमा छ। हामी अहिले पनि राजनीतिक संकट र चुनौतिकै बिचमा छौं,’ उनले भने। उनले उतारचढावपूर्ण राजनीति भएकाले पनि संविधान विरोधि शक्तिहरुले हलचल गर्न प्रयास गरिरहेको बताएका छन्। देश संकटमा रहेकोबारे एमालेका अध्यक्ष ओलीसँग आफूले बारम्बार छलफल गरे पनि ओली सहमत हुन नसकेको उनको भनाइ थियो।

‘राष्ट्रिय सहमतिमा ओली सहमत भएनन्’
प्रचण्डले ओली राष्ट्रिय सहमतिका लागि तयार नभएको आरोप लगाए। देश अप्ठेरोमा रहेकाले नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा जिताउन आफूले प्रस्ताव गरे पनि ओलीले अस्वीकार गरेको प्रचण्डको भनाइ थियो। ‘बालुवाटारको पछिल्लो वार्तामा पनि मैले निकै गम्भीरताका साथ ओलीजीलाई भनेको थिएँ, देश अप्ठ्यारो परिस्थितिमा छ। तपाई र म मिलेर नेपाली कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ, मिलेर राष्ट्रिय सहमतिको वातावरण बनाउँ। तर, उहाँले मान्नुभएन,’ उनले भने।

‘ओलीले संसद विघटन ठीक भनेपछि सोध्न बाध्य भयौं’
ओलीले संसद विघटन गर्नु ठीक भएको तर्क गरेपछि आफू सोच्न बाध्य भएको उनको भनाइ छ। ‘पुस २६ गतेको संसदमा केपीजीले हिजो संसद विघटन गर्नु ठीक थियो भन्नुभयो। हामी संसद विघटनको विपक्षमा थियौँ। हामी आफैले त्यत्रो संघर्ष गरेर संसद फिर्ता ल्याएका थियौँ। तर, उहाँले ठीक गरेका थियौँ भनेपछि हामी सोच्न बाध्य भयौँ,’ उनले भने।

प्रचण्डले विगतका राष्ट्रपतिबाट तीता अनुभव भएको पनि बताए। भने, ‘राष्ट्रपति संस्था संविधान र लोकतन्त्रको रक्षक हो, राष्ट्रको अभिभावक हो। तर, विगतमा त्यस्तो भएन।’ संविधानको महत्व र अन्तर्य बुझेको नेतालाई राष्ट्रपतिको उम्मेदवार बनाएको प्रचण्डले बताए। ‘उहाँले संविधान र लोकतन्त्रको रक्षाका निम्ति अभिभावकको भूमिका खेल्नुहुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्