वान डे क्रिकेटमा नेपालको एकपछि अर्को उत्कृष्ट नतिजाः सर्वाधिक स्कोर, आसिफको डेब्यु शतक – Janadesh Daily | ePaper

वान डे क्रिकेटमा नेपालको एकपछि अर्को उत्कृष्ट नतिजाः सर्वाधिक स्कोर, आसिफको डेब्यु शतक


जनादेश स्पोर्ट्स वाच।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अहिलेसम्मकै उच्च स्कोर बनाउँदै पपुवा न्यूगिनी (पीएनजी) लाई आईसीसी विश्वकप लीग-२ को खेलमा पराजित गरेको छ। लीग-२ को अन्तिम शृङ्खलामा बिहीवार नेपालले पहिला ब्याटिङ गर्दै २९७ रन जोडेको थियो।

टस जितेर नेपाललाई ब्याटिङ गर्न निम्तो दिएको पीएनजीले प्रत्युत्तरमा ४७.१ ओभरमा २४५ रन मात्र बनाउन सक्यो। खेलमा नेपाल ५२ रनले विजयी भयो। यो जितसँगै नेपालले ३३ खेलबाट ३४ अङ्क जोडेको छ र तालिकाको पाँचौँ स्थानमा यथावत् छ। अन्तिम स्थानमा रहेको पीएनजीले भने पछिल्लो तीन खेलमा नेपालसँग लगातार पराजय भोगेको छ। घरेलु समर्थकहरूमाझ कीर्तिपुर रङ्गशालामा नेपाली टोलीले हात पारेको सफलतामा ब्याटिङतर्फ आशिफ शेख, कुशल भुर्तेल र भीम सार्कीको योगदान महत्वपूर्ण रह्यो । बलिङमा स्पिनरहरु चम्किए। सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी र कुशल मल्लले विपक्षीलाई तहसनहस पारे।

लामिछानेले चार विकेट लिए। ऐरीले दुई र मल्लले एक विकेट लिए। दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याउन आएको पीएनजीले राम्रो सुरुवात गरेको थियो। टोनी उरा र किप्लिन डोरिगाले १२औंँ ओभरसम्म कुनै विकेट नगुमाई ७७ रनको साझेदारी गर्दै लामो इनिङ्स खेल्ने सङ्केत गरेका थिए।

तर ओरिगा रन आउट भएपछि विपक्षी टोली पीएनजी अप्ठेरोमा पर्‍यो। त्यसपछि पीएनजीले लगातार तीन खेलाडी गुमाउनुपरेको थियो। त्यसमा राम्रो खेलिरहेका ओपनर टोनी उरा पनि थिए। पचास रन बनाएर खेलिरहेका उरालाई लामिछानेले आउट गरेका थिए। बयालीस रन बनाएर खेलिरहेका कप्तान अरसद भाला आउट भएपछि पीनएनजीको ठूलो लक्ष्य भेट्टाउने सम्भावना सकिएको थियो। उनलाई मल्लले आउट गरेका हुन्। त्यसपछि टोलीको विकेट लगातार झर्न थाल्यो।

आशिफ शेखले पहिलो पटक बनाए शतक
यसअघि आशिफ शेखको शतकको मदतमा नेपालले कीर्तिपुर मैदानमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको उच्च रन २९७ रन जोडेको थियो। नेपाल ४९.१ ओभरमा अलआउट भएको हो। शेखले आफ्नो एकदिवसीय खेलजीवनकै उत्कृष्ट ब्याटिङ गर्ने क्रममा ११० रन बनाए। त्यसका लागि उनले ११० बलको सामना गर्दै १२ चौका र दुई छक्का प्रहार गरे। यो उनको पहिलो ओडीआई शतक पनि हो। रमाइलो कुरा के छ भने शतक बनाउने क्रममा उनले दुई पटक जीवनदान पाएका थिए। एक पटक तेस्रो ओभरमा पाँच रन मात्र बनाएर खेलिरहँदा उनको ‘क्याच ड्रप’ भएको थियो। अर्को पटक भने नवौँ ओभरमा २२ रन बनाएर खेलिरहँदा उनी समातिनबाट जोगिए। पीएनजीले त्यसको सजाय नराम्ररी भोग्नुपर्‍यो।

सर्वोच्च स्कोर
यो खेलअघि नेपालले बनाएको सर्वाधिक स्कोर २८७ रन थियो। त्यो स्कोर नेपालले २३ दिनअगाडि कीर्तिपुर मैदानमा विश्वकप लीग-२ कै खेलमा नामिबियाविरुद्ध जोडेको थियो। नेपालले नामिबियाको २८६ रन पछ्याउने क्रममा त्यति रन बनाएको हो। बिहीवार नेपालले ब्याटिङ गरिरहँदा एकसमय ३०० भन्दा बढी रन बनाउन सक्ने अनुमान गरिएको थियो। तर अन्तिम ओभरको पहिलो बलमै भीम सार्की आउट भएपछि नेपालले पाँच बल खेल्न नपाउँदा त्यो अवसर गुम्न पुग्यो। पहिलो विकेटका लागि शेख र कुशल भुर्तेलले ११० रनको साझेदारी गर्दै बिहानीको मौसममा कीर्तिपुर मैदानमा नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। हुन त सो क्रममा पीएनजीका फील्डरहरु चार वटा क्याच समाउन असफल भए। उन्डाइसौँ ओभरमा भुर्तेल ४५ रनमा आउट भए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्