मैदानमा फर्किँदा निस्किएको ऊर्जाः दुर्लभ विश्व कीर्तिमान बनाउँदै सन्दीप, झन् पछि झन् राम्रो प्रदर्शन – Janadesh Daily | ePaper

मैदानमा फर्किँदा निस्किएको ऊर्जाः दुर्लभ विश्व कीर्तिमान बनाउँदै सन्दीप, झन् पछि झन् राम्रो प्रदर्शन


जनादेश स्पोर्ट्स वाच।

लिग- २ क्रिकेटमा चमत्कारिक पुनरागमन गर्दै नेपाली क्रिकेट टीम एक दिवसीय विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावनाको अत्यन्त नजिक पुगेको छ । नेपालको यो स्वप्निल यात्राका लागि सबैभन्दा ठूलो जस यदि कुनै खेलाडीले पाउँछन् भने ती सन्दीप लामिछाने नै हुन् ।

सन्दीप लामिछानेले दुर्लभ विश्व कीर्तिमाननजिक छन् । एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा अफगानिस्तानका बलर राशिद खानको सबैभन्दा छिटो एक सय विकेटको विश्व कीर्तिमान तोड्ने तरखरमा छन् सन्दीप । सन्दीपले ४० खेलबाट ९८ विकेट लिएका छन् । उनै सन्दीप हुन् जसले बलात्कारको आरोपमा करिब दुई महिना पुर्पक्षका लागि थुनामा बसेर फेरि खेल जीवनमा फर्किए । खेलमा फर्किएसँगै सन्दीपको प्रदर्शन झनै राम्रो हुँदै गइरहेको छ ।

सोमबार पपुवा न्युगिनीलाई नेपालले ९५ रनमा अलआउट गर्दा सन्दीपले पाँच विकेट लिए । उनै सन्दीप प्लेयर अफ द म्याच पनि चुनिए । सन्दीपले लिएको यो पाँच विकेटसँगै उनी विश्व कीर्तिमान नजिक पुगेको छन् । अब उनले दुई विकेट लिए ओडीआईमा सबैभन्दा छिटो सय विकेट लिने राशिद खानको विश्व कीर्तिमान बराबरी गर्नेछन् । त्यस्तै, तीन विकेट लिए उनले राशिदको त्यो दुर्लभ विश्व कीर्तिमान भंग गर्दै आफ्नो नाममा राख्ने छन् ।

राशिदले ४४ खोलमा १०० विकेटको विश्व कीर्तिमान राखेका थिए । उनले सन् २०१८ मा वेष्ट इन्डिजविरुद्ध एक विकेट लिएसँगै यस्तो विश्व रेकर्ड राखेका थिए । उनले यसअघि अस्ट्रेलियाका मिचेल स्टार्कको रेकर्ड तोडेका थिए । स्टार्कले २०१६ मा ५२ खेलबाट सय विकेट पूरा गरेका थिए । बिहीबार नेपालले यूएईविरुद्ध खेल्दैछ । सन्दीपले बिहीबार नै यूएईविरुद्धको खेलमा राशिदको रेकर्ड भंग गर्न सक्छन् । सन्दीप भन्छन्, ‘विश्व कीर्तिमानका लागि अझै पनि समय छ । अब आउने खेल हाम्रो लागि फाइनलसरह हो । गौरवान्वित लाग्छ नै । सुरुवात शून्यबाटै हुन्छ । गौरव हुन्छ नै मेरो परिवार टिम र सबैका लागि ।’

सन्दीपकै उत्कृष्ट प्रदर्शनमा पपुवा न्युगिनीविरुद्ध नेपालले सानदार जित निकाल्यो । सन्दीपले १० ओभरमा एक मेडन ओभर राख्दै २५ रन खर्चिएर पाँच विकेट लिए । पपुवा न्युगिनीविरुद्ध ९ विकेटको जितपछि सन्दीपले आफ्नो प्रदर्शनबाट खुसी रहेको बताए । उनले भने, ‘वातावरण एकदमै सहज भइरहेको थियो । म आफ्नो प्रदर्शनमा खुसी छु । जति हुन सक्छ, टिमका लागि राम्रो गर्न खोज्छु जहिले पनि । जति अवसर पाउछु राम्रो गर्नेछु ।’

सन्दीपको अनुपस्थितिमा नेपाली क्रिकेट कता जाला भन्ने प्रश्न उठेको थियो । सन्दीप हिरासतमा छँदा नेपालले विश्वकप लिग २ का चारवटा म्याच खेल्दा कुनैमा पनि जीत हासिल गर्न सकेन । नेपाल, स्कटल्यान्ड र नामिबियाको त्रिकोणात्मक श्रृंखलामा नेपालले तीन हार व्यहोरेको थियो भने नामिबियाविरुद्धको एउटा म्याच वर्षाका कारण रद्द भएर अंक बाँडिएको थियो । गत फेबु्रअरीमा घरेलु मैदानमा नै भएको नेपाल, स्कटल्यान्ड र नामिबियाको दोस्रो श्रृंखलामा सन्दीपले कमब्याक गरेका हुन् । जेलमुक्त भएलगत्तै सन्दीपलाई टीममा राख्दा उनको फिटनेसदेखि मानसिक अवस्थाका बारेमा समेत संशय थियो । उनलाई राष्ट्रिय टीमबाट नखेलाउन राजनीतिक दबाबसमेत परेको थियो । तर, क्यानले सन्दीपका पक्षमा अडान लियो र सन्दीपले पनि सोचे जस्तो डेलिभरी दिए ।

सन्दीप यतिवेला धेरै कीर्तिमानहरुसँग जोडिएका छन् । विश्वकप लिग २ मा सर्वाधिक विकेट लिनेहरुको सूचीमा उनी दोस्रो स्थानमा छन् । केही म्याचहरु गुमाएका कारण उनी पहिलो स्थानमा उक्लिन भने सकेनन् । अब पहिलो हुन अन्तिम खेलमा उनले यूएईविरुद्ध ६ विकेट लिनुपर्छ ।

सन्दीपले बनाएको ठूलो विश्व कीर्तिमान चाहिँ लगातार म्याचमा विकेटको हो । सन्दीपले ३० म्याचदेखि लगातार विकेट लिइरहेका छन् । उनले विकेट नलिएको म्याच खोज्न ३२ खेल पछाडि फर्किनुपर्छ । यसअघि सर्वाधिक म्याचमा लगातार विकेटको कीर्तिमान अष्ट्रेलियन लिजेन्ड ब्रेट लिको नाममा थियो । उनले लगातार २६ म्याचमा कम्तिमा एक विकेट लिएका थिए । सन्दीप लीभन्दा धेरै अगाडि बढिसकेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्