असम्भवलाई सम्भव बनाएका नेपाली क्रिकेटरः १२ मा ११ खेल जितेपछि विश्वकप छनोटमा – Janadesh Daily | ePaper

असम्भवलाई सम्भव बनाएका नेपाली क्रिकेटरः १२ मा ११ खेल जितेपछि विश्वकप छनोटमा


जनादेश स्पोर्ट्स वाच।

बिहीबार टीयू क्रिकेट मैदान नेपाली क्रिकेटको लागि विशेष बन्यो । यूएईले दिएको ३११ रनको चुनौती भेटाउनु नेपाली टिमलाई सगरमाथाको चुचुरोमा पाइला टेक्नु जस्तै थियो । तर यो विशाल लक्ष्य पनि नेपाली टिमले पूरा गर्दै विश्वकप छनोटमा स्थान बनाएकाे छ ।

यूएईले स्लो ओभर गरेपछि खेलसकिँदा झमक्कै साँझ परिसकेको थियो । मिडिया बक्समा पत्रकार मुख्य प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहितकुमार पौडेललाई कुरेर बसेका थिए । केही बेरको कुराईपछि कप्तान र मुख्य प्रशिक्षक देसाई मन्द मुस्कानसहित आए । मुख्य प्रशिक्षक देसाईले यो सबै खेलाडीको कारण सम्भव भएको भन्दै भने, ‘हामीले राम्रो खेल्यौँ । नेपाली खेलाडीको क्षमता अदुभूत छ । क्रिकेट समर्थकलाई धेरै धेरै धन्यवाद । यसरी नै साथ र समर्थन गर्दै जानुहोला ।’

यता, कप्तान रोहित यूएईविरुद्धको खेल फाइनल सरह भएको बताए । उनले भने, ‘आजको खेल फाइनल जस्तै भयो । एकदमै प्रतिस्पर्धात्मक खेल थियो । यूएई राम्रो टिम पनि हो । सुरुमा विकेट गए पनि हामीलाई विश्वास थियो कि हामी जित्छौँ । अन्त्यमा हामीले जित्यौँ ।’

यसो त, नेपालको एउटा सपना पूरा भएको छ । विश्वकप छनोटमा पुग्ने नेपालको लक्ष्य थियो । तर विस्तारै खेलहरू हार्दै जाँदा नेपालले अन्तिम तीनवटा सिरिज बाँकी हुँदा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने मात्रै लक्ष्य बनाएकाे थियाे । तर १२ खेलमध्ये ११ खेलमा जित निकाल्दै नेपालले सिधै विश्वकप छनोटमै आफ्नो स्थान सुरक्षित गर्‍याे। विगतको नतिजा र नेपाली टिमको प्रदर्शनलाई नियाल्दा यो असम्भव जस्तै थियो तर सम्भव भयो ।

खेलाडीले एकाएक जादुमयी प्रदर्शन गरे । टिममा रहेका सबै खेलाडीले संकटको बेला नेपाललाई हारबाट बचाए । प्रत्येक खेलमा फरक फरक खेलाडी खेल विजेताका रुपमा उदाए । जसले गर्दा १२ मध्ये ११ खेलमा नेपालको जित सम्भव बन्यो ।

जितपछि कप्तान भन्छन्, ‘पहिलो हाम्रो लक्ष्य एकदिवसीय मान्यता पाउने थियो । तर खेल्दै जादा विश्वकप छनोटमै प्रवेश गरेका छौँ । एउटा सपना थियो । त्यो पूरा भएको छ ।’

विश्वकप छनोटसम्मको यात्रा पार गर्दा यसको सबै श्रेय टिमका खेलाडी र प्रशिक्षकलाई जाने कप्तान रोहित बताउँछन् । ‘त्यसको श्रेय सबै खेलाडीलाई दिन्छु । १२ खेलमा फरक फरक खेलाडीले व्यक्तिगत उत्कृष्ट प्रदर्शन गरेका छन् । मुख्य श्रेय मोन्टी सरलाई पनि जान्छ ।’

चमत्कारी जित
बिहीबार घरेलु टिम नेपालले यूएईलाई डकवर्थ–लेविस मेथडको आधारमा ९ रनले पराजित गरेसँगै आईसीसी क्रिकेट विश्वकप लिग टु सकिएको छ । टीयू क्रिकेट मैदानमा ३११ रनको लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा ४४ ओभरमा २६९ रन बनाउँदा खराब प्रकाशका डीएल नियमको आधारमा नतिजा आउँदा यूएईलाई नेपालले हरायो ।

नेपालका लागि चार ब्याटरले अर्धशतक बनाएपछि जित सम्भव भयो । गुल्सन झा ५० र दीपेन्द्रसिंह ऐरी १० रनमा अविजित रहे । त्यस्तै, भीम शार्कीले ६७, आरिफ शेखले ५२, कुशल भुर्तेल ५० रन बनाए । कप्तान रोहितकुमार पौडेलले २५ बलमा तीन चौका प्रहार गर्दै २६ रन बनाए । बलिङतर्फ यूएईका जुनैद सिद्दिकीले तीन र आयन अफ्जल खानले दुई विकेट लिए ।

 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन बनाएपछि नेपालले विशाल लक्ष्य पायो । यूएईका लागि आसिफ खानले १०१, वृत्य अरविन्दले ९४, कप्तान मुहम्मद वासिमले ६३ र रोहन मुस्तफाले २० रन बनाए । बलिङतर्फ नेपाल दीपेन्द्रसिंह ऐरीले दुई, सोमपाल कामी, सन्दीप लामिछाने र ललितनारायण राजवंशीले समान १–१ विकेट लिए ।

यस्तो बन्यो लिग टु समीकरण
लिग टु सकिन दुईवटा सिरिज बाँकी छँदै च्याम्पियन बनेको स्कटल्यान्डले ३६ खेलबाट ५० अंक बनायो । दोस्रो स्थानमा रहेको ओमानले ३६ खेलबाट ४४ अंक बनायो । नामिबियालाई उछिन्दै तेस्रो स्थानमा उक्लिएको नेपालले ३६ खेलबाट ४० अंक बनायो । यता, चौथो बनेको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । पाँचौँ स्थानमा रहेको अमेरिकाको ३६ खेलबाट ३५ अंक हुँदा छैटाैँ स्थानमा रहेको यूएईको ३६ खेलबाट ३३ अंक छ । सातौँ स्थानमा रहेको पपुवा न्युगिनीको ३६ खेलबाट ११ अंक छ । लिग टुबाट स्कटल्यान्ड, ओमान र नेपाल विश्वकप छनोटमा सिधै प्रवेश गरेका छन् । यता, अमेरिका, नामिबिया, यूएई र पपुवा न्युगिनी भने विश्वकप छनोटको प्लेअफमा झरेका छन् । प्ले अफमा ६ वटै टिमको टुंगो लागिसकेकाे छ । प्लेफमा क्यानाडा, जर्सी, अमेरिका, नामिबिया, यूएई र पपुवा न्युगिनी छन् । यी टिमले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्नेछन् । नामिबियामा यही मार्च २६ देखि सुरू हुने प्ले अफका विजेता र उपविजेताले विश्वकप छनोटमा स्थान बनाउने छन् ।

विश्वकप छनोटमा यी टिमको टुंगो
विश्वकप छनोटमा खेल्ने १० टिममध्ये पाँच टिमको टुंगो लागिसकेको छ । अब पाँच टिमको टुंगो लाग्न बाँकी छ । जसमध्ये लिग टुबाट नेपाल, स्कटल्यान्ड, ओमान र सुपर लिगबाट जिम्बाब्वे र नेदरल्यान्ड्स गरी पाँच टिमले विश्वकप छनोट प्रतियोगिता खेल्ने पक्का भएको हो । अब प्ले अफका दुई टिम र सुपर लिगका तीन गरी पाँच टिमको टुंगो लाग्न बाँकी छ । सुपर लिगबाट वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्ड गरी चार टिममध्ये तीन टिमले विश्वकप छनोट खेल्नुपर्नेछ । भारतमा हुने विश्वकपमा लागि आयोजकसहित अफगानिस्तान, अस्ट्रेलिया, इंग्ल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान र बंगलादेश छनोट भइसकेका छन् । अब वेष्ट इन्डिज, दक्षिण अफ्रिका, श्रीलंका र आयरल्यान्डमध्ये एक टिमले विश्वकपमा स्थान बनाउने छन् । २०२३ को अक्टोबरबाट भारतमा सुरू हुने विश्वकप क्रिकेटमा १० टिमको सहभागिता रहनेछ । जहाँ ग्लोबल छनोटबाट दुई टिमले विश्वकपमा स्थान बनाउने छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्