गठबन्धन ओलीका कारण टुट्यो, विश्वासको मत दिनुस्: प्रधानमन्त्री प्रचण्ड – Janadesh Daily | ePaper

गठबन्धन ओलीका कारण टुट्यो, विश्वासको मत दिनुस्: प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहमतिमा नअडिँदा गठबन्धन तोडिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले एमाले र राप्रपाले सरकार छोड्नुको कारण अझै दिन नसकेको जिकिर गरे ।

“विगतका मतभेदहरूलाई नउठाउने समझदारी गरेका थियौँ । म त्यसमा प्रतिबद्ध भएँ । तर, केही सहयात्रीहरूबाट पालना भएन,” ओलीको नाम नलिईकन उनले भने, “संसद्मा पहिलो दिन नै संसद् विघटनको विषयले प्रवेश पायो । र, त्यसले देशलाई नै तरंगित बनायो ।”

विगतका गल्तीहरूका विषय नउठाउने समझदारी भए पनि ओलीले बिनाप्रसंग त्यो विषय उठाएर उल्लंघन गरेको भन्दै उनले त्यसले नै गठबन्धनमा अविश्वास पैदा गरेको आरोप लगाए ।

“त्यो विषयको उठान न सान्दर्भिक थियो न प्रासंगिक नै थियो । देशमा ठूलो संवैधानिक र राजनीतिक संकट निम्त्याएको त्यो कदम कुनै गर्वको विषय पनि थिएन । दुई–दुईपटक सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासले असंवैधानिक भनिसकेको र संवैधानिक निरुपण भइसकेको त्यस्तो विषयको प्रवेशले गठबन्धनमा अविश्वास मात्र बढाएन, संविधान र लोकतन्त्रको निरन्तरता र सदनको स्थायित्वमा नै प्रश्न उठायो ।”

उनले सिंगो सदनको विश्वास पाएको प्रधानमन्त्रीलाई संसद् विघटन उचित भनेर राखेको धारणाले चुनौती खडा गरेको बताए । “दुखःका साथ भन्नुपर्छ, लगभग सिंगो संसद्कोे विश्वास पाएको प्रधानमन्त्रीलाई त्यही संसद् विघटनको पक्षपोषणले ठूलो नैतिक, संवैधानिक र राजनीतिक चुनौती दियो,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले राष्ट्रिय सहमतिको प्रयासमा ओलीले नै साथ नदिनु गठबन्धन कायम नरहने अर्को कारणका रूपमा प्रस्तुत गरे । “मैले लिएको राष्ट्रिय सहमतिको मेरो प्रयासलाई पनि गठबन्धनकै सहयात्री दलबाट समर्थन पाउन सकिनँ,” उनले भने, “आज राष्ट्रपति र उपराष्ट्रपति सहमतिमा चयन हुन सकेन । तर, प्रधानमन्त्रीका रूपमा मै्रले लिएको त्यो पहलकदमीमा कुनै खोट थिएन ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्