किनेभन्दा आधा मूल्याङ्कन भएको ट्वीटरः एलन मस्कले कसरी भेटाउलान् २५० अर्ब डलरको लक्ष्य – Janadesh Daily | ePaper

किनेभन्दा आधा मूल्याङ्कन भएको ट्वीटरः एलन मस्कले कसरी भेटाउलान् २५० अर्ब डलरको लक्ष्य


जनादेश सोसल मिडिया वाच।

एलन मस्कले माइक्रो ब्लगिङ सामाजिक सञ्जाल कम्पनी ट्‍वीटरको भ्यालुएसन २० अर्ब अमेरिकी डलरमा गरेका छन्। यो अंक उनले गत अक्टोबरमा कम्पनी खरिद गर्न तिरेको भन्दा आधै कम हो।

उनले ४४ अर्ब डलर तिरेका थिए। ट्‍वीटरले कर्मचारीहरूलाई पठाएको सूचनामा ट्‍वीटरको २० अर्बको मूल्यांकनका आधारमा स्टक अनुदान प्राप्त गर्ने बताएको प्लेटफर्मर र द इन्फर्मेसनका रिपोर्टहरू जनाएका छन्।

मस्कले गत वर्ष नै ट्‍वीटर किन्दा ‘स्पष्ट रूपमा ओभरपे गरेको’ बताएका थिए। उनले त्यतिबेला ट्‍वीटरका लागि प्रति सेयर ५४.२० अमेरिकी डलर तिरेका थिए। मस्क ट्‍वीटर खरिद गर्नु अघि सम्झौताबाट पछि हट्ने प्रयास गर्नुको एउटा मुख्य कारण मूल्य पनि थियो।

मस्कले ट्‍वीटरले प्लेटफर्ममा बटहरूको उपस्थितिको बारेमा गलत र भ्रामक कथनहरू गरेको दाबी समेत गरेका थिए।

हाल २० अर्ब डलरमा ट्‍वीटरलाई मूल्यांकन गरे पनि यो १० गुणाले बढ्ने मस्कले कर्मचारीलाई गरेको परिपत्रमा नै दाबी गरेका छन्। मस्कले यस मूल्यांकनलाई २० अर्ब डलरबाट २५० अर्ब डलरसम्म पुर्‍याउने बाटो स्पष्ट तर कठिन रहेको बताएका छन्।

मस्कको स्वामित्वमा रहेको अर्को कम्पनी स्पेस एक्स जस्तै, ट्‍वीटरले पनि कर्मचारीहरूलाई तोकिएको अवधिहरूमा उनीहरूको सेयर अनुदान नगदमा परिणत गर्न दिनेछ।

मस्कले कर्मचारीहरूलाई पठाएको पत्रमा ट्‍वीटरलाई टाट पल्टिनबाट बचाउन यसमा गरेको ‘आवश्यक’ परिवर्तनका कारणले ‘उल्टो स्टार्टअप’को रूपमा लिएको पनि उल्लेख गरेका छन्। यद्यपि, नयाँ मूल्यांकनले मस्कले कम्पनी तथा प्लेटफर्ममा ल्याएका केही कट्टर परिवर्तनका कारण देखा परेका चुनौतीहरूलाई प्रतिबिम्बित गर्छ।

मस्कले ट्‍वीटर खरिद गरे लगत्तै भेरिफिकेसन सब्सक्रिप्सनसहित नयाँ ब्लु टिक तथा जेनेरल एमनेस्टी (माफी) नीतिहरू कम्पनीमा भित्र्याएका थिए। फलस्वरूप, ट्‍वीटरमा फेक अकाउन्टको ओइरो लाग्न थाल्यो र खराब प्रयोगकर्ताहरूको पुनरागमन भयो।

साथै ट्‍वीटरले ठूला विज्ञापनदाताहरू गुमायो। भोक्सले हालै सार्वजनिक गरेको रिपोर्टले मस्कको अधिग्रहण अघि ट्‍वीटरमा रहेका शीर्ष एक हजार विज्ञापनदातामध्ये आधा नै प्लेटफर्मबाट पछि हटेका छन्। जसका कारण कम्पनीको आम्दानीमा ठूलो क्षति पुगेको छ। ऋणको पहाडमा रहेको ट्‍वीटरको आम्दानी गत डिसेम्बरमा ४० प्रतिशतले घटेको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्