स्वर्णिम वाग्ले र रमेश खरेल भित्र्याएपछि रवि उत्साहितः एकको बदला तीन लिएर संसद् छिर्ने उद्घोष – Janadesh Daily | ePaper

स्वर्णिम वाग्ले र रमेश खरेल भित्र्याएपछि रवि उत्साहितः एकको बदला तीन लिएर संसद् छिर्ने उद्घोष


जनादेश वाच।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले ‘एकको बदला तीन लिएर संसद् छिर्ने सपना’ रहेको बताएका छन् ।

नागरिकता मुद्दामा उनले सांसद पद गुमाएका थिए । आगामी वैशाख १० गते उनले गुमाएको चितवन–२ सहित तीनवटा निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदै छ । त्यसतर्फ संकेत गर्दै रविको अभिव्यक्ति आएको हो ।

बिहीबार राति फेसबुकमा उनले भनेका छन्, “मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरू टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिन आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्नेछ । एकको बदला तिन लिएर संसद् छिर्ने सपना छ ।”

यसैबीच वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उवनिर्वाचनमा उम्मेदवार चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले प्रारम्भिक सूची सार्वजनिक गरेको छ। रास्वपा दलको विधानको धारा ७१ अनुसार प्रारम्भिक निर्वाचनका लागि उम्मेदवारको नाम बिहीबार सार्वजनिक गरिएको हो।

केन्द्रीय निर्वाचन आयोग प्रमुख नारायण प्याकुरेलले प्रारम्भिक निर्वाचनमा सहभागी हुनेको नाम सार्वजनिक गरेका हुन्। सार्वजनिक नाम अनुसार चितवन २ मा पार्टी सभापति रवि लामिछानेको नाम एकल रुपमा सिफारिस छ। यस्तै, तनहुँ १ मा डा. स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेको नाम सार्वजनिक गरिएको छ। वाग्लेले बिहीबार मात्र कांग्रेस परित्यागको घोषणा गरेका थिए।

यस्तै, बारा २ बाट रमेश खरेल र युवराज न्यौपानेको नाम प्रारम्भिक मतदानका लागि सार्वजनिक गरिएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्