कविता-राक्षस – Janadesh Daily | ePaper

कविता-राक्षस


  • प्रभात रावत,
    —————–

राक्षस
जसका सिङ छैनन्
दाह्रा पनि देखिन्नन्
तर
भक्षण उत्रै छ
त्रास उस्तै छ ।

गर्जिन्न अचेल
बाघ, भालु र सिंह जस्तै
राक्षस !
लामा-लामा जटा हल्लाउँदै
दौडिन्न अचेल
ठूलो ठूलो कर्कश आवाज
सुनिँदैन अचेल ।

थाहा छैन
कुन समय हो –
राक्षसहरू विचरण गर्ने
थाहा छैन
कुन कवच हो –
राक्षसहरुले पहिरिने
तर,
चेलीबेटी हराएकै छन् – गाउँमा
युवाहरु हराएकै छन् – गाउँमा
वैभव,
साँघुरिँदै गएको छ- देशको ।

पहिले पहिले पुर्खाहरू
लड्नु हुन्थ्यो रे
भिड्नु हुन्थ्यो रे राक्षससँग
हप्काउनु हुन्थ्यो रे भूतलाई
खुरु-खुरु भारी बोक्थे रे भूत
दिनभरि हलो जोत्थे रे भूतहरु !

आज
समय फेरियो
र,
नियति दु:खिरहेछ अविराम ।

नरभक्षी राक्षस
जसलाई मारिएको स्मृति दिवस
मान्छे जस्तै लाग्ने राक्षसहरू राखेर मञ्चमा
खिया लागेको तरबार घुमाएर
आत्मरति गरिरहेछौ हामी ।

आजकल
भक्ति थापाका रगतहरू
कालु पाण्डेका पाण्डेहरू
चस्मा लगाएका इन्टरनेट आँखाले
आफ्नो बूढो घरको छानामा पानी चुहिएको
अनि,
अनाज फल्ने बारीको साँधमा
ढुङ्गो हराएको
गुगल म्यापमा हेरिरहेछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्