अहिले आइन्स्टाइन जीवितै भए कस्ता ट्वीट गर्थे होलान् ? नक्कली आइन्स्टाइनको बकपत्र – Janadesh Daily | ePaper

अहिले आइन्स्टाइन जीवितै भए कस्ता ट्वीट गर्थे होलान् ? नक्कली आइन्स्टाइनको बकपत्र


जनादेश अन्तर्राष्ट्रिय वाच।

एक दशक अघिको कुरा हो । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पकी पुत्री इभान्का ट्रम्पले आफ्ना फलोअरलाई प्रभावित गर्न विश्वप्रिय बौद्धिक अल्वर्ट आइन्स्टाइनले भनेको भन्दै ट्वीटमा यस्तो छुद्र बुद्धि छाँटिन– ‘यदि तथ्यहरु सिद्धान्तसँग मिल्दैनन् भने तथ्यहरुलाई नै बद्लिदिनुस ।’

समस्या के भने–आइन्स्टाइनले कहिल्यै त्यसो भनेकै थिएनन् । तर, यो गल्तीलाई त्यतिन्जेलसम्म कमैले ध्यान दिए जबसम्म मृतक अल्वर्ट आइन्स्टइन आफै त्यो पोष्टको कमेन्टमा आएनन्। मलाई यो कथा किन राम्रोसँग थाहा छ भने सामाजिक सञ्जालमा अल्बर्ट आइन्स्टाइन भनेको मै हुँ, जहाँ हिजोआज उनका २ करोडभन्दा बढी फलोअर्स छन् ।

आइन्स्टाइनप्रति आशक्ति राख्ने एक पत्रकारका रुपमा मैले उनको बारेमा निरन्तर लेख्दै आएको थिएँ। लेख मात्रै हैन, किताब पनि लेखेको छु । मेरो कार्यालय आइन्स्टाइन कला र उनी सम्बन्धि अनेक सामग्रीले भरिएको छ । मैले आफ्नो एउटा कुखराको चल्लाको नाम उनको नामबाट राखेको छु ।
अन्ततः हिब्रु विश्वविद्यालयको अल्बर्ट आइन्स्टाइन अभिलेखगारले मेरो उत्साहको हल्ला सुन्यो र मलाई उनको नाममा खोलिएका एकाउन्ट व्यवस्थापन गर्न नियुक्त गर्यो ।

अल्वर्ट आइन्स्टाइन भएर बोल्नु, उनका विचार र विरासतको रक्षा गर्नु, संसारमा यस्ता धेरै सार्वभौम ज्ञान र सत्य पनि छन् भनेर विस्तारै अरुलाई बुझ्न उक्साउनु निक्कै महत्वपूर्ण काम हो । सन १९५५ मा उनको मृत्यु भयो । त्यतिन्जेल उनी संसारकै सर्वप्रिय थिए । उनको मृत्युपछि त्यसरी नै सार्वजनिक रुपमा सम्मानित बौद्धिक वा विशेषज्ञ को हो ? यो प्रश्नको उत्तर थोरै हैन, आमूल परिवर्तन भएको छ।

तर, अझै पनि उनले सामान्य तथ्यप्रतिको तिरस्कार महसुस गर्न सक्दछन् । त्यो बेलादेखि नै, जब ट्वीट शब्द चराहरुसँग सम्बन्धित थियो, सामाजिक सञ्जाल बनिसकेको थिएन, आइन्स्टाइनको वैचारिक करिअर परम्परागत पटरीबाट करिव-करिव उत्रिदै थियो किनकी विकृत सूचनाको युग त्यो बेलै सुरु भइसकेको थियो।

सन् १९२० मा सन्देहवादी वैज्ञानिकको एक समूहले आइन्स्टाइनलाई बेबकुफ ठान्थे र उनको सापेक्षताको सिद्धान्तलाई बकबास मान्थे । आइन्स्टाइनमाथि तिनका आलोचना अक्सर यहुदीवाद विरोधी भावनाले भरिएका हुन्थे ।

त्यो युगमा प्रोपागण्डा सापेक्षिक रुपमा विस्तारै फैलिन्थ्यो । एउटा मान्छेले अर्को आफ्नो मन पर्ने साथीलाई भन्थ्यो । त्यसमा विश्वास गर्नेले उसको अर्को साथीलाई भन्थ्यो । संचारमा भूगोल र भाषाको सीमा हुन्थ्यो । तर, पनि आइन्स्टाइन यस्ता सबै प्रयासप्रति रिसले चुरचुर हुन्थे ।

उनी आफू विरोधी अभियानमा उत्तिकै रुचि पनि राख्थे। एकपटक आइन्स्टाइन बर्लिनको फिलहार्माेनिक सभा हलमा गए, त्यहाँ उनको सापेक्षता सिद्धान्तको विरुद्धमा कार्यक्रम हुँदै थियो । सहभागीका हातहातमा उनी विरुद्धका पर्चा बाँडिदै थियो । तर, त्यहाँ उनलाई कसैले पनि चिनेन।

न्यूओर्क विश्वविद्यालयका विज्ञान तथा विज्ञान दर्शनका इतिहासकार म्याथु स्टेन भन्छन्, ‘ त्यो दिन आइन्स्टाइनले सोचे की यी मानिस खासै खतरनाक हैनन, किनकी सबैजसो मुर्ख छन्, असाध्यै कम जानकार छन् । सत्य र ज्ञान मार्गमा मुर्खको अवरोध क्षणिक हुन्छ । यिनीहरुको प्रयत्न हल्का र हाँस्यास्पद हो ।’

सन् १९३३ मा जब नाजीहरुले जर्मनीको सत्ता हत्याए, उनीहरुबाट फैल्याइएका दुई प्रकारका झुटले आइन्स्टाइनलाई सार्वजनिक रुपमै असाध्यै बदनाम गयो । एउटा– यो भनियो कि आइन्स्टाइनको सापेक्षताको सिद्धान्त बिल्कुलै झुटो हो । यो मानव ज्ञानको आधारशीलामाथि एक खतरा हो ।

अर्को चाहिँ यहुदीवाद विरोधी तीव्र प्रचार थियो । यसको सार हुन्थ्यो– कुनै यहुदीले यस्तो सिद्धान्त बनाउनै सक्दैन । यो उनले कुनै अष्ट्रो–जर्मन गैरयहुदी वैज्ञानिकको सिद्धान्तबाट चोरेको हुनु पर्दछ ।

समाजका अन्य प्रबुद्ध यहुदीलाई जस्तै आइन्स्टाइनलाई पनि राज्यको शत्रुका रुपमा लक्षित गरियो र यो अफवाह व्यापक भयो कि उनको टाउकोमाथि इनामको घोषणा गरिएको छ । तर, त्यतिन्जेलसम्म उनी जर्मनीमा नै थिएनन् । सन् १९३२ को डिसेम्बरमा उनी क्यालटेक गए । सन् १९३३ को अक्टोबरमा उनले युरोप महादेश नै सधैका लागि छोडे।

न्यूओर्क शहरको किनारमा आइपुग्दा आइन्स्टाइनको भव्य स्वागत भयो । आइन्स्टाइनको दिमागी भाग्यबारे ‘पोसेसिङ जिनियस’ नामको किताब लेखेकी लेखिका क्यारोलिन अब्राहमका अनुसार अमेरिकामा आइन्स्टाइनलाई भेट्न पत्रकार यति आतुर थिए कि उनी चढेर आएको जहाजमा छिटो पुग्न खोज्दा कति त समुन्द्र किनारको पानीमा खसे।

आफ्नो जीवनको उत्तरार्द्धका दुई दशकसम्म उनी विश्वव्यापी रुपमा सर्वाधिक सम्मानित नागरिक व्यक्तित्वमध्ये एक बने । सन् १९९९ मा टाइम म्यागजिनले उनलाई शताब्दि व्यक्तित्वको संज्ञा दियो । आइन्स्टाइनको मृत्युपछि भने त्यो ओइलाएको छ । तर, उनको बौद्धिक प्रतिभाबारे केन्द्रीय व्यक्तित्व बीच एक आम सहमति छ।

अचेल हामी साँझ समाचार सुन्न टेलिभिजन वरिपरि भेला हुँदैनौं । न त हाम्रा अभिभावकको टेबलमाथि बच्चाका लागि कुनै पुस्तिका नै हुन्छन् । आज हामी इको च्याम्बरभित्र थुनिएका छौं, जहाँ समाचार द्विवर्ग विभाजनमा हुन्छन् र टिकटक प्रभावकर्ताले हामीलाई स्वास्थ्य सल्लाह दिइरहेका हुन्छन्।

आइन्स्टाइनले आफ्ना विरुद्ध सामना गर्नु परेको संन्देहवाद आज पनि छ । तर, त्यो सभाहलका स्थानीय बैठकमा सीमित छैन । त्यसले फेसबुक र ट्वीटरमा समूह बनाउँछ । र नक्कली समाचारको गति यति तीव्र छ कि त्यसको कुरै नगरौं ।

षडयन्त्र सिद्धान्तवादीहरु भन्दा बाहिर पनि, समाजमा एउटा यस्तो विशाल तप्का छ, जसले गुगलले दिने द्रुत र व्यापक सुचनाका अघि विज्ञहरुको आवश्यकतामाथि शंका गर्दछ । अब हामीलाई पाईको मान र कुनै राज्यको राजधानी शहरको नाम स्मरण गरिरहन जरुरी नै छैन। जे चाहिएको हो, त्यो तुरुन्तै गुगलले भन्छ भने दिमागमा सुचनाको बोझ बोकेर किन हिड्ने ?

आज हामी सबै आफ्नो बौद्धिक अयोग्यताको अनुभूति गर्न बाध्य छौं । यसले राजनीतिज्ञदेखि सेलिब्रेटीसम्म, अझ सामाजिक सञ्जाल प्रभावकर्तासम्म विनम्रताको चरम अभाव हुँदै गएको छ । सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका क्रममा डोनाल्ड ट्रपलाई सोधिएको थियो कि विदेश नीतिका सन्दर्भमा उनी कुन विशेषज्ञलाई सम्झिन चाहन्छन् । उनले जवाफ दिए कि, ‘कसैलाई सम्झिन जरुरी छैन, आफै पर्याप्त छु।’

आइन्स्टाइनले यो सिकाए कि समय सापेक्षिक छ, त्यो मान्छेको सन्दर्भसँग निर्भर गर्दछ । तर, यहाँनेर उठ्ने प्रश्न, के अब सत्य पनि सापेक्षिक हुन सम्भव छ ?

भर्जिनियाका पहाडबीच मेरो घर छ । म यही बस्छु । हरेक साँझ सुत्छु र बिहान उठ्छु । बिहान उठेर कुखुरालाई चारो खुवाउँछु । छिमेकीलाई गाई दुहुन मद्दत गर्छु । एक नोबेल पुरस्कार विजेताको विचारलाई सेवा गर्न आइस्टाइनका नाममा सामाजिक सञ्जालमा खुलेका एकान्ट लामो समयदेखि लग इन गर्दै आएको छु ।

यहाँ, यति बेला मैले सोच्ने प्रश्न यही हो– के सत्य पनि सापेक्षिक हुन सम्भव छ ? मेरा ट्वीट र पोष्टहरुको प्रतिउत्तरमा मानिसले के प्रतिक्रिया गरिरहेका छन भन्ने जान्न मलाई सधै हतारो हुन्छ । मलाई यो थाहा छ कि आइन्स्टाइन एक महान वैज्ञानिक मात्र हैनन् । उनी जाति, धर्म, उमेर समूह र शैक्षिक पृष्ठभूमिभन्दा माथि विद्धताका एक प्रतीक हुन् । यदाकदा यस्तो पनि लाग्छ कि हाम्रो यो विभाजित राजनीतिको हावापानीमा उनी नै अन्तिम सर्वस्वकार्य विज्ञ थिए ।

इन्टरनेटले हामीलाई धाराप्रवाह सिनेमा हेर्ने र टाढा–टाढाका साथीहरुसँग सम्पर्कमा रहने क्षमता दिएको छ । तर, यसले गलत सूचना, षडयन्त्र सिद्धान्त र नक्कली विज्ञानले भरिएका सन्देशको जमात पनि बनाएको छ। एलन मस्कले ट्वीटरका बारहरु जति भत्काउँदैछन्, ति उत्तिकै मूलधारका माध्यमबाट अघि बढिरहेका छन् ।

निर्वाचनको नतिजा अस्वीकार गर्नेहरु र महाब्याधि भ्याक्सिनको विरोध गर्नेहरुले आफ्ना मनमाफिकका साथीहरु आफैले सिर्जना गरेको बुलबुलेमा भेट्न सक्दछन्। उनीहरु एकअर्काको विचारलाई बढावा र प्रोत्साहित गरिरहेका हुन्छन् । तिनीहरु बौद्धिकता र सम्भ्रान्तता विरोधी मञ्च तयार गर्दै चुनावी मैदानमा आउँछन् र यदाकदा जित्छन् पनि ।

हाम्रा लागि ब्रह्माण्डको सत्यतथ्य पत्ता लगाउने प्रेरणाले जीवनभरि उत्सुक आइन्स्टाइन भएको भए आज सामाजिक मिडियाले झोसिरहेको विकृत सूचनाको आगोबारे के सोच्थे होलान ? म यो कल्पना गर्न सक्दिन कि उनी झुटा समाचारको बाढी र आगो ओकल्ने ट्वीटसँग सहज अनुभूति गर्थे । नत आफ्नो दिमागी प्रतिभा अनुरुप सबैका लागि विज्ञको उचाई नै हासिल गर्न सक्थे ।

बरु मेरो दिमागमा यस्तो सोच आउँछ कि उनी आफ्नो बौद्धिक परिहास क्षमताअनुरुप विज्ञान नमान्ने, चिप्लो घस्ने, झुठलाई सत्य सावित गर्न खोज्नेहरु र इभान्का ट्रम्पको पोष्ट विरुद्धमा मन छुने छोटा ट्वीट गर्थे ।

आइन्स्टाइनले एकपटक भनेका थिए–‘सत्य र ज्ञानको खोज मानिसको उत्कृष्ट गुणमध्ये एक हो । र यो कुरा तिनैले ठूलो स्वरमा भन्न सक्दछन्, जो यस्तो प्रयास गरिरहेका हुन्छन्।’

अँ हो, आइन्स्टाइनले वास्तवमा भनेको कुरा यो थियो ।

(न्यूओर्क टाइम्सबाट)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्