युएई र इजरायलबीच सिधा टेलिफोन सेवा शुरु – Janadesh Daily | ePaper

युएई र इजरायलबीच सिधा टेलिफोन सेवा शुरु


दुबई,

रासस–एपी: युनाइटेड अरब इमिरेट्स (युएई) र इजरायलबीच कुटनीतिक सम्बन्ध स्थापना भएलगत्तै दुबै देशबीच टेलिफोन सेवा शुरु भएको छ ।

इजरायलले पश्चिम किनाराको केही भूभाग इजरायलमा गाभ्ने निर्णय हाललाई स्थगित गर्नेगरी संयुक्तराज्य अमेरिकाले मध्यस्थता गरेसँगै दुबै मुलुकबीच कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

पश्चिम किनारा र गाजापट्टिलाई समेटेर स्वतन्त्र प्यालेस्टिनी मुलुक निर्माण गर्ने अभियान वर्षौंदेखि जारी छ ।

एसोसिएटेड प्रेसका जेरुसलेम र दुबईमा रहेका पत्रकारहरुबीच टेलिफोनमा स्थानीय समय अनुसार अपराह्न १.१५ बजे कुराकानी भएको थियो ।

एक घण्टापछि युएईका अधिकारीहरुले विदेश मन्त्री शेख अब्दुल्ला बिन जायद अल नाहयानले उहाँका इजरायली समकक्षी गाबी आश्केनाजीबीच टेलिफोनमा संवाद भएको जानकारी दिएका थिए ।

इजरायली संचारमन्त्री योआज हान्डेलले एक विज्ञप्ति प्रकाशन गरी टेलिफोन सेवा खुला गरेकामा संयुक्त अरब इमिरेट्सलाई बधाई दिनु भएको छ । “धेरै आर्थिक अवसर अब खुला हुनेछन्, र यी विश्वास निर्माणका कदमहरु आ–आफ्ना मुलुकलाई अघि बढाउन महत्वपूर्ण पाइला हुनेछन् ।”

आइतबार नै इजरायली समाचार वेबसाइटहरु युएईमा खुला गरिएका छन् । युएईले आफ्नो मुलुकमा हेर्न नपाउने गरी रोकेका टाइम्स अफ इजरायल, जेरुसलेम पोस्ट र वाईनेट जस्ता वेबसाइटहरु निर्वाध रुपमा हेर्न पाउने गरी खुला गरिदिएको छ ।

टेलिफोन सेवा स्थापित हुनुलाई दुबै मुलुकबीच सम्पन्न सम्झौताको एक महत्वपूर्ण कडीका रुपमा हेरिएको छ ।

इजरायल र संयुक्त अरब इमिरेट्सले गत बिहीबार पूर्ण कुटनीतिक सम्बन्ध स्थापना गर्ने ऐतिहासिक घोषणा गरेका थिए । अमेरिकी मध्यस्थतामा भएको उक्त सम्झौतालाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ ।

उक्त ऐतिहासिक सम्झौतालाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा प्रमुख विदेश नीतिमा सफलता प्राप्त भएको रुपमा हेरिएको छ ।

यो सम्झौतापछि इजरायलसँग दौत्य सम्बन्ध भएका अरब मुलुकहरुको संख्या तीन पुगेको छ । यसअघि इजरायलको कुटनीतिक सम्बन्ध इजिप्ट र जोर्डानसँग मात्र थियो । नयाँ सम्झौतासँगै दुबै मुलुकबीच पर्यटन, प्रत्यक्ष हवाई उडान तथा राजदूतावासहरुको स्थापना हुनेछन् ।

आइतबार नै युएईको सरकारद्वारा संचालित वाम समाचार समितिले युएईको एउटा कम्पनीले कोरोनाभाइरस महामारीका विषयमा अनुसन्धान र अध्ययन गर्न एउटा इजरायली कम्पनीसँग सम्झौता भएको खबर प्रसार गरेको छ ।

युएई र इजरायलबीच भएको पछिल्लो सम्झौताप्रति कतिपय अरब विज्ञहरुले प्यालेस्टाइन राज्य स्थापना गर्ने विगतदेखिको प्रयासमा युएईले धोखा दिएको प्रतिक्रिया दिएका छन् । पाकिस्तानमा उक्त सम्झौताको विरोध गर्दै सयौंले जुलुस निकालेका थिए ।

उक्त सम्झौताले क्षेत्रीय प्रतिद्वन्द्वीका रुपमा रहेको युएईसँग इरान र टर्कीलाई पनि चिढ्याएको छ ।

इरानका सैनिक प्रमुख मोहम्मद होसेन बाघेरीले युएईको निर्णय दुर्भाग्यपूर्ण रहेको प्रतिक्रिया दिँदै अबुधाबीलाई आफ्नो कदम सच्याउन आग्रह गर्नु भएको छ ।

बाघेरीले पर्सियाली खाडी क्षेत्रमा कुनै सानोतिनो घटना भएपनि त्यसलाई इरानको सुरक्षा खतराका रुपमा लिइने बताउँदै यस्तो कदम युएईका कारण भएको ठहर गरी कुनै पनि कदम चाल्न सकिने बताउनुभएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्