फुकुसिमाको फरक कथाः कुनै बेला भूकम्पले तहसनहस, अब भने ‘होप टुरिजम’ – Janadesh Daily | ePaper

फुकुसिमाको फरक कथाः कुनै बेला भूकम्पले तहसनहस, अब भने ‘होप टुरिजम’


जनादेश अन्तर्राष्ट्रिय वाच।

जापानको स्थानीय समय अनुसार दिउँसो २ बजेर ४६ मिनेट। ९.१ म्याग्नेच्युडको भूकम्पले पूर्वी जापानलाई हल्लायो। करिब २० हजार मानिसको ज्यान गएको सो भूकम्पमा अर्बौंको क्षति भयो। भूकम्पपछि आएको सुनामीले फुकुसिमामा रहेको न्युक्लियर प्लान्टमा पनि क्षति पुर्‍याएको थियो। जापानको सबैभन्दा ठूलो टापु होन्सुको उत्तरी भेगमा रहेको प्रख्यात पर्यटकीय क्षेत्र भूकम्पको उक्त विपद्‍पछि ‘डार्क टुरिजम’ डेस्टिनेसन बन्यो।

भूकम्पले तहसनहस भएको जापानको उक्त क्षेत्रमा पुनर्निर्माणको कार्य तीव्र गतिमा भयो। अहिले त्यही पुनर्निर्माण प्रक्रियालाई त्यहाँको सरकार र स्थानीयले आर्यआर्जनको स्रोत बनाउने प्रयास गरिरहेका छन्।

१२ वर्षपछि फेरि पर्यटकलाई आकर्षित गर्ने अभियानमा छ होन्सु। पर्यटकहरुका लागि ‘रिकन्स्ट्रक्सन टुर’को व्यवस्था गरिएको छ। यसअघि पनि त्यहाँ पुनर्निर्माणबारे बुझाउन विभिन्न टुर प्याकेजको व्यवस्था भए पनि अब संरकारी तवरबाटै ‘टोहोकु रिकन्स्ट्रक्सन टुरिजम प्रोमोसन नेटवर्क’ खडा गरेर नयाँ पर्यटन सम्भावना विकास गरिँदैछ।

 समुद्री दृश्य हेर्दै जापानी संस्कृति झल्काउने धेरै क्षेत्र भूकम्पमा ढलेका थिए। अहिले पर्यटकलाई टुरको मध्यमबाट भूकम्पको कथा भन्ने तयारी गरिएको छ। टुर प्याकेजमा संग्रहालय, समाधिस्थलसँगै भूकम्पमा भत्किएपछि पुनर्निर्माण भएका मन्दिर, पुरातात्विक र ऐतिहासिकस्थलहरु छन्।

पुनर्निर्माण पर्यटनको सुरुवात गरेर फुकुसिमाले आफूलाई अहिले चिनाउन खोजेको हो। सरकारकै पुनर्निर्माण एजेन्सीसँगै विभिन्न संघसंस्था मिलेर अहिले अभियान चलाउने तयारी भएको हो। जुलाई २५ बाट सो अभियान सुरु हुनेछ।

‘भूकम्पको १२ वर्ष भयो र त्यसबेला क्षति पुगेका कयौं क्षेत्रहरुको पुनर्निर्माणको प्रयास भएका छन्। यसबाट हामीले विपद्‍को इतिहास बुझ्न र विपद्‍को पूर्व तयारी गर्न सिकाउँछ,’ जेआर इस्टका टोरु इनाउले भने।

पुनर्निर्माणको नयाँ चरणमा यस क्षेत्रमा पर्यटक आकर्षित गरेर यहाँ भएका कामबारे जानकारी गराउन चाहेको उनले बताए।

‘हामी पर्यटकहरु टोहोकु क्षेत्रको रोमाञ्चक दृश्य हेर्दै यहाँका संस्कृति र मिठो स्थानीय परिकारसँग रमाउन् भन्ने चाहन्छौं,’ इनाउले भने। टुरका क्रममा केही क्षेत्रमा पर्यटकहरुले भूकम्प प्रभावित व्यक्तिहरुसँग कुराकानीसमेत गर्न सक्नेछन्।

‘हामीलाई विश्वास छ कि उनीहरुले भूकम्पका क्रममा कसरी सुरक्षित स्थानतर्फ पुगे भनेर पर्यटकहरुलाई भन्न सक्छन्। यसले विपदको पूर्वतयारी र सही निर्यण लिन सहयोग गर्नेछ। पर्यटकले विपदलाई महसुस गरेर त्यसबाट आफैं पनि प्रभावित भएको महसुस गर्न पाउनेछन्,’ उनले भने।

तर फुकुसिमा क्षेत्रमा पर्यटकलाई आकर्षित गर्न सजिलो भने छैन। भूकम्पपछि आएको सुनामीले फुकुसिमा डाची न्युक्लियर प्लान्टमा रहेको ६ वटा रिएक्टरमा क्षति पुगेको थियो।

सन् २०१० मा फुकुसिमामा ५ करोड ७२ लाख बढी आन्तरिक र बाह्‍य पर्यटक पुगेका थिए। सन् २०२१ मा भने सो संख्या घटेर २ करोड ५५ लाख पुगेको थियो। जसमध्ये धेरैजना आन्तरिक पर्यटक थिए।

फुकुसिमामा पर्यटन क्षेत्रलाई ‘रिभाइभ’ गर्न नेतृत्व गरिरहेका मसनरी कन्नोले अब यस क्षेत्रमा फेरि पर्यटक आउने धेरै आधार तयार भइसकेको बताए।

‘आधिकारिक रुपमा हामी यसलाई ”होप टुरिजम” भन्छौं। हामीसँग पर्यटकले महसुस गर्न सक्ने विभिन्न सुविधा छन्,’ कन्नोले भने। फुबाटोमा ग्रेट इस्ट जापान अर्थक्वेक एन्ड न्युक्लियर डिजास्टर लिगेसी म्युजियम स्थापना गरिएको छ। त्यससँगै युकेडो विद्यालय छ, न्युक्लियर विपदमा सो विद्यालयबाट सबैलाई सकुशल उद्धार गरिएको थियो।

टोमिओकामा पनि एउटा संग्रहालय स्थापना गरिएको छ। त्यहाँ न्युक्लियर पावर प्लान्टको नजिकै सन् १९६० देखि बसोबास गर्दै आइरहेका मानिसहरुको रहनसहन र विचार हेर्न पाइनेछ।

‘सुन्न, हेर्न र विचार गर्न सक्ने आवश्यक्तालाई मध्यनजर गर्दै ”होप टुरिजम” सुरु गरिएको हो। हामीले विपदबाट सिकेका कुरा हाम्रै समाजलाई बुझाउन भविष्यमा पनि आवश्यक छ।’

फुकुसिमामा पर्यटकहरुलाई विभिन्न क्षेत्रबारे जानकारी दिन २० जना ‘फिल्ड पार्टनर’ नियुक्त गरिएको छ। उनीहरुले मुख्य क्षेत्रहरुबारे पर्यटकलाई बुझाउनेको साथै आवश्यकता अनुसार विभिन्न क्षेत्रका मानिसहरुसँग कुराकानी गर्न सहयोग गर्नेछन्।

‘जुनसुकै बेला पनि प्राकृतिक विपद् आउन सक्छ। त्यसैले भूकम्प र आणविक विपद्लाई स्थानीय समस्याका रुपमा मात्रै नभइ सबैको साझा विषय हो भनेर बुझाउनु नै हाम्रो उद्देश्य हो।’ (एजेन्सीको सहयोगमा)

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्