प्यूठानमा सूचना प्रविधि विकासको सम्भावना – Janadesh Daily | ePaper

प्यूठानमा सूचना प्रविधि विकासको सम्भावना


विषय प्रवेशः प्यूठान जिल्ला प्राकृतिक मनोरम दृष्य, जलसम्पदा, खनिज, जडिबुटीको धनी र पवित्र तिर्थस्थल स्वार्गद्धारीका नामले परिचित छ । पूर्वाधार विकास निर्माण र अन्य विकासको कमी रहेको स्विजरल्याण्डको झल्को दिने प्यूठान राजनीतिक चेतनाका हिसाबले पनि नेपालकै अग्रपंक्तिमै आउँछ । रोल्पा, दाङ अर्घाखाँची, गुल्मी र बाग्लुङसँग सिमाना जोडिएको यो जिल्ला महेन्द्र राजमार्गबाट करिव ५५ किलोमिटर मात्र टाढा छ ।

प्यूठानमा, मट्टितेल, डिजल, पेट्रोल, फलाम, तामाको खानी रहेको भूगर्वविद् बताउँछन् । माडी र झिमरुक नदीहरुबाट धरै स्थानमा विधुत्त निकाल्न सकिन्छ । झिमरुक जलविद्युत्त परियोजना यसै जिल्लामा पर्दछ । नेपाल अधिराज्यमा लोडसेडिङ मुक्त जिल्ला प्यूठान मात्र हो । भारतद्धारा प्रस्तावित जलाशययूक्त नौमुरे जलविद्युत्त परियोजना पनि यसै जिल्लामा पर्दछ ।

प्यूठानमा सूचना प्रविधिको बर्तमान अवस्था: प्युठान जिल्लाको सूचना प्रविधिको वर्तमान अवस्थालाई हेर्ने हो भने एफ.एम. रेडियो, टेलिभिजन, मोवाइल, दैनिक एवं साप्ताहिक पत्रिका, कम्प्यूटर प्रशिक्षण केन्द्रबाट प्रदान गरिने इमेल, इन्टरनेट सेवा वाहेक अन्य केही छैनन् । ढाँडा, मच्छी, मरन्ठाना खरिबोट, खलंगा, विजुवार, विजयनगर, भिंगृमा नीजि क्षेत्रबाट संचालित कम्प्यूटर प्रशिक्षण केन्द्रहरु संचालनमा रहेका छन् । यहाँ कम्प्यूटर सम्बन्धि पार्टपुर्जाहरु पाउनुका साथै मर्मतका लागि जिल्ला बाहिर जानु पर्दैैन् ।

जिल्लाका प्रतिष्ठित व्यापारीहरुबाट कम्प्यूटर व्यावसाय संचालन हुँदै आएको छ । केही सरकारी र बार्डिङ स्कूलहरुमा कम्प्यूटर शिक्षा पढाइ हुने गरेको छ र यसलाई बिस्तार गरि जिल्लाभरी रहेका सरकारी तथा गैर सरकारी विद्यालयहरु कम्प्यूटर शिक्षालाई अनिवार्य रुपमा लागु गर्न विद्यार्थी, शिक्षक, अभिभावक र आम सरोकारबालाको ध्यान जान जरुरी छ ।

जनता मावी बाग्दुलामा १८ महिने टिएसएलसी तहको जुनियर कम्प्यूटर टेक्नीसियन कार्यक्रम विगत केही बर्षदेखि संचालनमा छ । यस जिल्लामा अहिलेसम्म सूचना प्रविधि सम्वन्धी विषयलाई लिएर कुनै सेमीनार, गोष्टी, सम्मेलन, अन्त्रक्रिया, कार्यशाला अत्यन्त न्यून मात्रामा आयोजना गरिएका छन ।

हालसम्म सूचना प्रविधि सम्बन्धी विकासको पूर्वाधार तयार भएकोे अवस्था छैन् । सूचना प्रविध सम्बन्धि राम्रो व्यवस्था नहुँदा विद्यार्थी, शिक्षक, किसान, व्यापारी, डाक्टर, वकिल लागायत आम जनसमुदाय सूचनाको पहुँचबाट टाढा रहेको यथार्त सबैको सामु दिनको घाम जस्तै छर्लङ छ । यस्ता कुराहरुमा नेपाल सरकारको ध्यान जान जरुरी छ ।

पछिल्लो समयमा विकास भएका सूचना प्रविधिका विभिन्न आयामहरुलाई यस जिल्लामा भित्रयाउन सके यसले बेरोजगार युवायवतीहरुलाई स्वरोजगार बन्न सहयोग पुग्ने देखिन्छ । यस कार्यमा स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुन्छ । यसले नविनतम सीपहरुलाई जिल्लामा भित्र्याउने प्रयत्न जारी राख्नुपर्दछ । बेरोजगार युवायुवतीहरुलाई स्वरोजगारमा लाग्नको लागि आर्थिक सहयोग गरी विभिन्न सीपमुलक बजारमुखी तालिमको व्यवस्था समेत गुर्नपर्ने हुन्छ । यूवाहरुलाई श्रमको महत्व बुझाउन सकेमात्र देश विकासले गति लिनसक्छ ।

प्यूठान जिल्लामा संचालन गर्न सकिने सूचना प्रविधिका केही मोडेलहरु बारे छलफल गरौ :
१) टेलीसेन्टर : टेलिसेन्टरको स्थापना गरी यसको मद्दतले आम नागरिकलाई सहजै सूचनाको पहुँचसम्म पुर्याउन सकिन्छ । इमेल, इन्टरनेट लगायत, फोटोकपी फ्याक्सलाई संगै राखी सेवा पनि प्रदान गर्न सकिन्छ । भिडियो कन्फरेन्सको माध्यमबाट बेरोजगार यूवाहरुलाई विभिन्न विषयका सीपमुलक प्रशिक्षणहरु संचालन गर्न सकिन्छ ।   यो थोरै लागतमा सबै स्थानीय तहमा स्थापना गर्न सम्भभ छ । यहाँबाट आम सरोकारवालले आफुलाई चाहिने आवश्यक सूचना र विभिन्न तथ्यांकहरु संकलन गरी लिन सकिन्छ ।

२) ई–एजुकेशन : समुदायिक विद्यालयहरुमा ई–लाइव्रेरी संचालन गरी ई–लर्निङ सेवालाई सहजिकरण गर्न सकिन्छ । ‘वन ल्यापटप, फर वन बेवी’ कन्सेप्टलाई प्यूठान जिल्लाले फ्लोअप गरेको पाइएको छैन । टेलिटिचिङको माध्यमबाट सरोकरावालालाई आफ्नो विषय बस्तुको नजिक पुग्न निकै सजिलो हुन्छ । स्थानीय तहका प्रत्येक वाडाहरुमा रहेका सुविधा सम्पन्न विद्यालयमा स्थापना गरी वडा कार्यालयको समन्वयमा यो कार्यक्रम संचालन गर्न सकिन्छ । स्थानीय भाषामा वेभसाइटहरु निर्माण गरी विद्यार्थी एवं आम जनताको चेतना अभिवृद्धि गर्न सकिन्छ । शिक्षा सम्बन्धी सफ्टवेयर एपलिकेसन निर्माण गरी प्यूठान जिल्लाको विस्तृत विवरण सहित विभिन्न क्षेत्रसंग सम्बन्धित शैक्षिक सामाग्री राखी आम नागरिकको चेतना अभिवृद्धिमा सहयोग गर्न सकिन्छ ।

३) ई–हेल्थः टेलिमेडिसिनको माध्यमबाट सहजै राजधानीका डाक्टरहरुको सम्पर्कमा रहन सकिन्छ । यसले समय, पैसा बाचाउँछ भने सेवालाई पनि छिटो छरितो बनाउँछ । नेपाल सरकारले टेलीमेडिसिन काठमाण्डौँको पाटन हस्पिटलबाट देशका अन्य जिल्लामा संचालनमा गर्दैैैछ तर प्यूठान जिल्ला त्यसमा परेको छैन् । अहिले भिडियो कन्फरेन्सका माध्यमबाट राजधानीका चलेका डाक्टरहरुसँग स्वास्थ्य सेवा लिन सम्भव छ । यसको लागी वडास्तरमा रहेका हाम्रा स्वाथ्यचौकीको स्तर वृद्धि गरी त्यहीबाट यो सेवा सूचारु गर्नसके आम नागरिकलाई आर्थिक रुपमा निकै सस्तो पर्ने र गुणस्तरीय सेवा प्रदान गर्न सकिन्छ ।

४) ई–विजनेस : व्यापारी र किसानहरुलाई इमेल, इन्टरनेटको तालिम दिई उनीहरुको व्यापार र उत्पानलाई सहजै वजारीकरण गर्न यसले सजिलो पर्दछ । जिल्लाका व्यापारीहरुबीच नेटवर्क बनाई जिल्लाको उत्पादनलाई खरिद गरी जिल्ला भित्र बिक्री बितरण गर्न र बढी भएको सामान जिल्ला बाहिर लैजान सहयोग गर्न सकेमा यसले विक्री वितरणलाई सजिलो बनाउनुका साथै सस्तो पनि पर्न जान्छ ।

५) ई–गर्भमेन्स : सरकारी तहबाट पाउँन सकिने सूचनाहरुलाई सहजै आम जनतामा पुर्याउने यो नै उत्तम माध्यम हो । सूचना प्रविधिका विभिन्न माध्म प्रयोग गरी नागरिकहरुलाई सर्बसुलभ तरिकाले सरकारी सेवा प्रदान गर्नु राज्यको प्रमुख दायित्व हो । सबै स्थानीय तहहरुले एकद्धार प्रणालीबाट सेवा प्रदान गर्न यो विधी अत्यन्त फलदायी हुन्छ ।

  • ई–टुरिजम

स्वर्गद्धारी जस्तो पवित्र तिर्थस्थल यस जिल्लामा पर्ने हुनाले यसको विश्वव्यापी प्रचार प्रसार हुन जरुरी छ । प्यूठान जिल्लामा ऐरावती, गौमुखी, शिवालय मेला, मल्लरानी, पाँखाचितीको दशधारा, तोरवाङ दहखोलामा रहेको करिब दुईसय बर्ष पुरानो शिद्धमन्दिर, भालु गुफा, ईश्नाथान मन्दिर, लुङको दिवाली, बिजुलीकोट भित्रिकोट राजाको दरबार लागाएत दर्जनौ स्थानहरु पर्यटकीय हिसाबले महत्वपूर्ण छन् ।

स्वदेशी र विदेशी पर्यटकहरुलाई सही सूचना सहजै प्रदान गर्न यसको वेवसाइट निर्माण गरी सूचनाहरुलाई क्रमबद्ध रुममा वेभसाइटमा राख्न जरुरी छ । प्यूठान जिल्ला बातावरणीय हिसाबले अत्यन्त सुन्दर मनोरम भएको र माडी, झिमरुक किनारको उपयुक्त स्थान छानौट गरी गुणस्तरीय होटल, रिसोर्ट संचालन गर्र्नसके पर्यटन प्रर्वद्धनमा टेवा पुग्ने हुन्छ । स्वर्गद्धारी दर्शन गर्न आएका स्वदेशी र विदेशी नागरिकलाई अन्य पर्यटकीय स्थलको भ्रमण गराई दुई÷चार रात प्यूठानमै बास बसाल्न सके प्रचार प्रसार हुनुको साथै जिल्लाको अर्थतन्त्रमा पनि टेवा पुग्न सक्दछ । सूचना प्रविधिको अधिकतम उपयोग गरी होटल, रिसोर्ट र स–साना फास्टफुड पसलहरुले फाईदा लिन सक्छन् । यसबाट स्वदेशी र विदेशी पर्यटक समेतलाई लाभ हुने देखिन्छ ।

  • इ–एग्रिकलचर

प्यूठान जिल्ला मध्यपहाडी जिल्ला भएको हुनाले यहाँको मुख्य पेशा कृषि हो । बहुसंख्यक प्यूठानी जनताको मुख्य पेशा अझैपनि कृषि नै छ । परम्परागत कृषि पेशाबाट राम्रो उत्पादन नहुने हुँदा, कृषकहरुलाई कृषि सम्बन्धी विभिन्न तालिमहरु दिई आधुनिकिकरण र यान्त्रिकणरलाई संगसंगै जोडेर लैजान जरुरी छ । कृषकको उत्पादन र बजार व्यवस्थापनका लागि उनीहरुको सूचनालाई व्यवस्थित गर्नुपर्ने हुन्छ ।

कृषकहरुलाई इमेल, इन्टरनेट सम्बन्धि तालिम दिएर वेभसाइट प्रयोग गरी बजार खोज्न सक्ने क्षमताको अभिवृद्धि गराउनसके उनीहरु आफ्नो बजार खोज्नका साथै बजार बिस्तारमा पनि सहयोग पुग्ने छ । कृषि सम्बन्धी एप्लिकेशन विकास गरी आम कृषकको पहुँचमा पु¥याउनसके यसले कृषक दाजुभाई दिदी बहिनीहरुलाई कृषि उत्पादन गर्न सहज भई बजारीकरणमा अवश्य टेवा पुग्ने छ । नौजटै स्थानीय तहहरुले एक आपसमा समन्वय गरी एकिकृत कृषि एप्स विकास गर्न सक्छन् । यसो गर्दा आर्थिक रुपमा कम लागत पर्न जाने हुन्छ र जिल्ला भरका कृषकले यसको लाभ लिन सक्छन् ।

  • साइवर भिलेज

सबै स्थानीय तहका हरेक वडास्तरमा निःशुल्क इन्टरनेट सेवाको संजाल विस्तार गरी साइवर भिलेज निर्माण गर्न सकिन्छ । सबै स्थानीय तहहरुको संयूक्त तथ्यांक बैक निर्माण गर्न सकिन्छ । यसबाट जिल्लाको विस्तृत योजना बनाउन सहयोग पुग्दछ र कार्यसम्पादन, मुल्यांकन, अवलोकन गर्न र कतिपय कुरा नियन्त्रण गर्नमा पनि सहयोग पुग्दछ । सबल र सक्षम समाजको निर्माण साइबर भिलेजले महत्पूर्ण योगदान दिनेछ । तर यसका केही नकारात्मक पक्ष भने अवश्य छन् । नकारात्मक कुराहरु विस्तारै समाजबाट बहिस्कृत हुँदै जानेछन् र सकारात्मक कुराहरुलाई हाम्रो समाजले अवश्य पनि ग्रहण गर्ने छ ।

  • गुड–गर्भनेन्स

हाल अदालत, जिल्ला प्रशासन कार्यालय, आन्तरीक राजस्व कार्यालय, नापी कार्यालय, मालपोत कार्यालय, खानेपानी, नेपाल विद्युत प्राधिकरण, सिंचाई कार्यालय लगाएत नेपाल सरकारका अधिकांश कार्यालयमा सूचना प्रविधिको प्रयोग र सहयोगमा कार्यसम्पादन हुँदै आएको छ । सुशासन कायम राख्नको लागी सहयोग गर्ने सार्वजनिक सुनवाई, आन्तरीक लेखा परीक्षण, समाजिक परीक्षण, व्यवस्थापन परीक्षण जस्ता विधीहरु सहजै सरकारी र गैरसरकारी क्षेत्रमा लाुग गरेर जान सूचना प्रविधिको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ । यसको विकास र विस्तार गर्नसके जिल्लाले विकास र अन्य क्षेत्रमा अतुलनिय फाईदा लिन सक्छ ।

  • मर्मत र कन्सलटेन्ट सेवा

यस जिल्लामा रहेका सरकारी, गैर सरकारी कार्यालय, व्यावसायी, स्कुल, कलेज, रेडियो, मिडिया घर, सबै स्थानीय तह र वडा कार्यालयहरु, स्वास्थ्यसंग सम्बन्धित सबै कार्यालयहरु र आम नागरिका घरमा रहेका इलेक्ट्रोनिक्स, कम्प्यूटर, फोटोकपी, प्रिन्टर, मल्टीमिडिया प्रोजेक्टर, मोवाइल र अन्य सामानको मर्मत सम्हार र सेवाग्राहिलाई चाहिने अन्य सामानहरु उपलब्ध गराउन सकेमा केही स्वरोजगारी श्रृजना हुने देखिन्छ । कार्यालय, व्यवसायी र सेवाग्राहीले आ–आफूले चाहेको कन्सलटेन्ट सेवालाभ अवश्य लिन सक्ने छन् ।

सारांश

जिल्लामा विद्युतको समस्या नहुने हुनाले माथिका मोडेलहरु संचालनमा ल्याउन कुनै समस्या देखिदैन् । इमेल र इन्टरनेट सेवा संचालनको लागि नेपाल टेलिकमले सहयोग गर्नेछ र भविष्यमा अरुले पनि यो सेवा अवश्य दिनेछन् । सबै स्थानीय तह र स्थानीय सरकारले जिल्लामा संचालित विभिन्न एनजिओ, आइएनजिओ, उद्योग वाणिज्य संघ, सम्पूर्ण राजनीतिक दलहरु, जिल्लाबासी र जिल्ला बाहिर रहनुहुने विभिन्न क्षेत्रका बुद्धिजिवीहरु, सम्बन्धित विषयका विज्ञहरु, आफनो जिल्लामा यी सेवाहरुको संचालन गर्नुपर्छ भन्ने उहाँहरुमा इच्छाशक्ति जगाउन सकेमा अवश्य पनि महत्पूर्ण सहयोग प्राप्त हुनुका साथै निकट भविष्यमा यी सेवाहरु संचालनमा आउनेछन् ।

उहाँहरु आफ्नो जन्मथलोमा सेवा गर्ने अवसर खोज्दै पर्खेर बसेको अवस्था छ । नेपाल सरकारको सूचना प्रविधि सम्बन्धी कार्य गर्ने सम्बन्धित मन्त्रालय, विभाग कार्यालय, सबै स्थानीय तह प्रदेश सरकार र स्थानीय सरकारको यसतर्फ अवश्य उच्च ध्यान जानेछ । बढ्दो सूचना र प्रविधिलाई पछिल्लो पुस्ताले अंगिकार गर्न नसके उनीहरु नयाँ युगसँग अघि बढ्न सक्दैनन् । तपाई हाम्रा सन्ततीको भविष्यको लागि पनि प्रविधिको विकासमा सवैले चासो दिनुपर्ने देखिन्छ । विश्वका धेरैजसो विकसित मुलुकहरु पनि बदलिदो सूचना र प्रविधिको अभ्यासलाई आत्मसाथ गरेर नै अघि बढेका हुन् । यसर्थ, सबै मिली प्यूठान जिल्लाको विकासमा सहयोग गर्न सकौ यही मनोकामना ।

– (कार्यकारी निर्देशक)
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, बागडोल ललितपुर ।  

प्रतिक्रियाका लागि : shailendra.giri@rec.edu.np

आजको पोष्टबाट सांभार

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्