जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत संकुचन    – Janadesh Daily | ePaper

जापानको अर्थतन्त्रमा कोरोनाभाइसबाट झण्डै २८ प्रतिशत संकुचन   


टोकियो   

जापानको अर्थतन्त्र गत अप्रिल–जुन महिनाको अवधिमा २७.८ प्रतिशतले संकुचित भएको छ ।

सरकारले सोमबार सार्वजनिक गरेको विवरणमा कोरोनाभाइरसका कारण उपभोग र व्यापारमा कमी आएसँगै अर्थतन्त्रमा व्यापक गिरावट आएको उल्लेख छ ।

जापानी मन्त्रिपरिषद कार्यालयले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा त्रैमासिक अवधिमा ७.८ प्रतिशतले गिरावट आएको जनाएको छ ।

जापानी संचार माध्यमहरुले जापानी अर्थतन्त्रमा आएको उक्त गिरावट दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको बताएका छन् । तर जापानी मन्त्रिपरिषद कार्यालयले तुलनात्मक विवरणहरु सन् १९८० देखि मात्र राख्न थालेको हो । पछिल्लो पटक सबैभन्दा खराब संकुचन सन् २००९ मा देखिएको थियो ।

विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको अर्थव्यवस्थामा कोरोनाभाइरसको प्रभाव देखिनुअघि गत वर्षको अन्त्यदेखि नै अनुभव गर्न थालिएको थियो । कोभिड–१९ बाट संक्रमितको संख्यासँगै सामाजिक दूरीका नियमहरुले पनि अर्थतन्त्रमा नकारात्मक असर परेको जापानी अधिकारीहरुले बताएका छन् ।

यस वर्षको पहिलो त्रैमासिक अवधि जनवरीदेखि मार्च महिनाको अवधिमा अर्थतन्त्र ०.६ प्रतिशतले घटेको थियो । गत वर्ष सन् २०१९ को अन्तिम त्रैमासिक अवधि अक्टोबर–डिसेम्बरको अवधिमा १.८ प्रतिशतले अर्थतन्त्रमा गिरावट आएको थियो ।

यही कारण यस वर्ष सन् २०२० को पहिलो त्रैमासिक अवधिमा जापानी अर्थव्यवस्था मन्दीतर्फ अग्रसर भएको थियो ।

सामान्यतया, दुई त्रैमासिक अवधिसम्म लगातार अर्थतन्त्रमा संकुचन आए अर्थव्यवस्था मन्दीमा गएको बुझिन्छ ।

अप्रिलदेखि जुन महिनाको अवधिमा जापानको निर्यातमा झण्डै ५६ प्रतिशतले गिरावट आएको थियो भने वैयक्तिक उपभोग्य दरमा वार्षिक करिब २९ प्रतिशतले कमी आएको थियो ।

विज्ञहरुका भनाईमा कोरोनाभाइरस नियन्त्रणमा आएसँगै अर्थतन्त्रमा विस्तारै सुधार हुनेछ । जापानको निर्यातमुखी अर्थव्यवस्था चीनको आर्थिक वृद्धिसँग पनि जोडिएको छ । चीनले कोरोनाभाइरस नियन्त्रणमा प्रभावकारी कदम चाले पनि चिनियाँ उत्पादनको बजार माग खस्किएको अध्ययनहरुले देखाएका छन् ।

कोरोनाभाइरसको खोप निर्माणले मूर्तरुप लिन सके विश्व अर्थव्यवस्था पुरानै लयमा फर्कनेछ, तर यस्तो खोप तत्कालै बजारमा उपलब्ध हुनेमा अझै आशंका छ । जापानमा कोरोनाभाइरसबाट संक्रमितको संख्या हालसम्म करिब ५६ हजार छ ।  रासस–एपी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्