नेपाली वैज्ञानिक रुपाखेती आईपीसीसी वर्किङ-१ को उपाध्यक्षमा निर्विरोध – Janadesh Daily | ePaper

नेपाली वैज्ञानिक रुपाखेती आईपीसीसी वर्किङ-१ को उपाध्यक्षमा निर्विरोध


काठमाडौँ  । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी अन्तरसरकारी संस्था (आईपीसीसी) को सातौं अध्ययन प्रतिवेदन निर्माण समितिका लागि भएको निर्वाचनमा नेपालका वैज्ञानिक डा. महेश्वर रुपाखेती कार्यगत समूह १ को उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

जुलाई २५ देखि जारी आईपीसीसीको ५९ बैठकले नेपालका तर्फबाट उम्मेदवारी दिएका डा. रुपाखेती कार्यगत समूह–१ मा निर्वाचित भएका हुन् । वैज्ञानिक एवं अनुसन्धानकर्ताहरू रहने समितिमा आईपीसीसीका पक्ष राष्ट्रका प्रतिनिधिले मतदान गर्छन् ।

संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रमको केन्द्रीय कार्यालय केन्या परिसरमा गत २६ तारिखदेखि विभिन्न पदहरूमा मतदान जारी छ ।

जर्मनीस्थित रिसर्च इन्स्टिच्युट फर सस्टेनएबिलिटीमा कार्यरत वैज्ञानिक डा. रुपाखेती लामो समयसम्म दक्षिण एसियाको जलवायु परिवर्तन र वायु प्रदूषणमा काम गर्दै आएका छन् । दक्षिण एसियाको वायु प्रदूषणमा केन्द्रित भएर अनुसन्धान गरिरहेका उनी हिमाली क्षेत्रमा वायु प्रदूषणले पार्ने प्रभाव र असरसँगै जलवायु परिवर्तनको भौतिक विज्ञानको अनुसन्धानमा दख्खल राख्छन् । रुपाखेतीको विजयीसँगै आईपीसीसीमा नेपालमा पहिलो पटक दर्बिलो उपस्थिति देखिएको छ ।

यस्तै, नेपालले एआईटीका प्राध्यापक डा. शोभाकर ढकाललाई को–चेयर र वर्किङ ग्रुप–३ को भाइस चेयरको रूपमा उम्मेदवार बनाएको थियो । उनलाई पराजित गर्दै मलेसियाकी प्राध्यापक जो ज्याकलिन पेरिरिया निर्वाचित भइन् । उनी यसअघिको छटौं प्रतिवेदनको कार्यगत समूह २ की भाइस चेयर थिइन् । प्राध्यापक ढकालले डा. रुपाखेतीलाई विजयी भएकोमा बधाइ दिँदै सफल कार्यकालको शुभकामना दिएका छन् । उनले वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त प्रयासमा नेपालले यो सफलता हासिल गरेको उल्लेख गरे ।

यसैबीच आईपीसीसीको नयाँ ब्युरो गठन भएको छ । अध्यक्षमा बेलयातका प्राध्यापक डा. जिम ईस्की निर्वाचित भइसकेका छन् । ईस्कीसँग जलवायु परिवर्तनको क्षेत्रमा ४ दशकभन्दा बढी समय काम गरेको अनुभव छ । उनले ९० मत प्राप्त गर्दै प्रतिस्पर्धी थेल्मा क्रुगलाई पछाडि पारेका थिए । क्रुगले ६९ मत प्राप्त गरेकी थिइन् । ईस्की लन्डनको इम्पेरियल कलेजमा सस्टेनएबल इनर्जीका प्राध्यापक पनि हुन् । उनले आईपीसीसीको छैटौं प्रतिवेदनमा कार्यगत समूह ३ को को–चेयरको रुपमा काम गरेका थिए ।

आईपीसीसले हरेक एसेस्मेन्ट रिपोर्ट बनाउनका लागि छुट्टै प्यानल निर्माण गर्ने गर्छ । छौटौं एसेस्मेन्ट रिपोर्ट निर्माण सम्पन्न भएपछि अब सातौं रिपोर्ट बनाउने तयारी छ । त्यसका लागि एउटा छुट्टै आईपीसीसी ब्युरोको गठन हुने प्रावधान छ । सोही बमोजिम अहिले निर्वाचन भएको हो । यो ब्युरोमा वैज्ञानिकहरू मात्रै समावेश हुन्छन् ।

आईपीसीसीमा १९५ सदस्य राष्ट्रको प्यानल हुन्छ । उक्त प्यानलले ३४ सदस्यीय ब्युरो गठन गर्छ । ब्युरो गठन पक्ष राष्ट्रहरूले मनोनय गर्ने वैज्ञानिकहरूलाई उम्मेदवार बनाइन्छ । उक्त ब्युरोमा १ अध्यक्ष र ३ जना उपाध्यक्ष हुन्छन् । यस्तै ३ वटा कार्यगत समूह हुन्छन् । हरेक समूहमा समूहमा २/२ जना सहअध्यक्ष हुन्छन् भने कार्यगत समूह १ र ३ मा ७/७ जना उपाध्यक्ष र कार्यगत समूह २ मा ८ जना उपाध्यक्ष हुन्छन् ।

ब्युरोलाई सघाउने एउटा छुट्टै १४ सदस्यीय टास्क फोर्स हुन्छ । जसमा २ जना सहअध्यक्ष हुन्छन् । ती सहअध्यक्ष आईपीसीसी ब्युरोको सदस्य हुन्छन् । टास्क फोर्समा रहने वैज्ञानिकहरूलाई पक्ष राष्ट्रका मुलुकहरूले मनोनयन गर्छन् । कान्तिपुरबाट

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्