विश्वका सात मानव निर्मित आश्चर्यमध्ये एकः चीनको ग्रेटवालसँग जोडिएको नेपालको साइनो – Janadesh Daily | ePaper

विश्वका सात मानव निर्मित आश्चर्यमध्ये एकः चीनको ग्रेटवालसँग जोडिएको नेपालको साइनो


जनादेश अन्तर्राष्ट्रिय वाच।

यो संसार हामीले सोचेको भन्दा धेरै अनौठो छ । विश्वमा प्रत्येक दिन नयाँ नयाँ र अनौठा वस्तुहरू थपिने क्रम जारी छ । यस्तै अनौठो र विश्वका ७ मध्ये एक आश्चर्यमा पर्छ, ग्रेटवाल अफ चाइना ।

यो पर्खाल यति लामो छ कि यसको पूरै तस्वीर निकाल्न पृथ्वीबाट सम्भव हुँदैन । सबैभन्दा रोचक कुरा त के छ भने यति ठूलो पर्खालको निर्माण कार्य २०, ५० वा सय वर्षमा भएको होइन । ग्रेटवाल निर्माणको कथा हजारौँ वर्ष पुरानो छ । पाँचौँ शताब्दीमा निर्माण सुरु भएको यो पर्खाल १६औँ शताब्दीमा पनि जारी थियो ।

 चीनका पहिलो सम्राट शी हुआंगले यो पर्खाल निर्माणको कल्पना गरेका थिए । तर, उनी सफल भएनन् । उनको मृत्यु भएको सयौँ वर्षपछि ग्रेटवालको निर्माण सुरु भयो । इशापूर्व पाँचौँ शताब्दीमा ग्रेटवालको निर्माण सुरु भएको बताइन्छ । सयौँ वर्षसम्म ग्रेटवालको निर्माण चलिरह्यो । चिनियाँ सम्राटहरूले १६औँ शताब्दीसम्म ग्रेटवालको निर्माण जारी राखेका थिए ।

यो पर्खालको लम्बाई २१ हजार १९६.१८ किलोमिटर छ । यसको चौडाई यति ठूलो छ कि यहाँ एकैपटक ५ वटा घोडा दौडाउन सकिन्छ । ग्रेटवालले चीनका १५ प्रान्त र स्वायत्त प्रदेशहरू छोएको छ । यो पर्खाल बनाउँदा बनाउँदै कतिपय मानिसले त यही प्राण त्यागे । दुनियाकै आश्चर्य यो पर्खाललाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ । जसको कारण अनौठो छ ।

ग्रेटवाल अफ चाइनाको निर्माणमा करीब २० लाख मजदुर खटिएका थिए । जसमध्ये करिब १० लाख मजदुरको त यो पर्खाल निर्माणकै क्रममा मृत्यु भएको थियो । त्यसरी मृत्यु भएका मजदुरहरुलाई पर्खालमुनि नै हालेर त्यसमाथि पर्खाल लगाइएको बताइन्छ । सोही कारणले ग्रेटवाल अफ चाइनालाई विश्वको सबैभन्दा ठूलो चिहान पनि भनिन्छ । यद्यपि, यसको सत्यता रहस्यकै गर्भमा छ । अब प्रश्न उठ्छ, यति ठूलो खर्च र यति लामो समय लगाएर यो पर्खाल किन निर्माण गरियो त ?

वास्तममा यो पर्खाल चिनियाँ साम्राज्यमाथि आक्रमण रोक्नका लागि बनाइएको थियो । जुन पर्खाल बनाउँदा लाखौँ मानिसले आफ्नो रगत पसिना खर्चिएका छन् । सन् १२११ मा मंगोल शासक चंगेज खाँको सेनाले यो पर्खाललाई एक ठाउँमा भत्काएर त्यहीँबाट चीनभित्र प्रवेश गरेर आक्रमण गरेका थिए ।

यो कुनै सामान्य पर्खाल नभएर माटो र ढुंगाले बनाइएको किल्लायुक्त पर्खाल हो । यति अद्भूत मानव निर्मित संरचना भएकै कारण यसलाई संसारको सातौँ आश्चर्यका रूपमा लिइन्छ ।

झण्डै साढे ९ मिटर उचाईको यो पर्खालमा प्रस्तरबाट निर्मित प्रवेश द्वारका भित्ताहरूमा बुद्धमूर्ति र सूत्रहरू देखिन्छन् । चरा, ड्रागन, ह्वेल, जनावर, सर्प, अस्त्र, बज्रका आकृति, अजङ्गको हात्तीलगायतका चित्रहरू कुँदिएको पाइन्छ । युनथाईमा कुँदिएका चित्र र लिपिहरूले तत्कालीन राजाहरूको आध्यात्मिक जीवनशैलीको झल्को दिन्छन् ।

ग्रेटवालमा सन् १३४५ मा बनेको युनथाई भन्ने नगरढोकामा संस्कृत मन्त्र कुँदिएको छ । यो रञ्जना लिपिमा छ । नेवारी भाषाको सबैभन्दा पूरानो लिपि रञ्जना लिपि ग्रेटवाल जस्तो प्राचीन मानव निर्मित पर्खालमा भेटिनुले नेपालीका मनमा आश्चर्य मात्र होइन, खोज तथा अनुसन्धानको विषय समेत बनेको छ ।

चीनमा भृकुटीसँगै तिब्बत पठाइएका कलाकार अरनिकोले निर्माण गरेका ठानिने प्यागोडा शैलीमा निर्माण भएका भौतिक संरचनाहरू पर्यटकीय आकर्षणका केन्द्र बन्न पुगेका छन् । उनैले चीनमा रञ्जना लिपि भित्र्याएको अनुमान छ । ग्रेटवालमा रञ्जना लिपि पाइनुले नेपाल भाषासँग यसको निकटता हुनसक्ने अनुमान गर्न सकिन्छ । चन्द्रमाबाट पनि देखिने ठानिने ग्रेटवाल मानिसले बनाएको भीमकाय पर्खाल हो । यसलाई सन् १९८७ मा विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ ।

सयौँ वर्षमा निर्माण भएको यो पर्खाल ६ वटा विभिन्न वंशका राजाहरूले राज्य गर्दा निरन्तर रूपमा थप्दै र बनाउँदै लगेका थिए । कतिपय इतिहासकारहरूले यो २,३०० वर्ष पुरानो रहेको बताएका छन् । विभिन्न कालखण्डमा निर्माण भएका पर्खालहरूलाई ‘क्विन वंश’ का राजाहरूका पालामा जोडेर एउटै लामो भीमकाय पर्खालको स्वरुप दिइएको थियो । क्विन वंशको समयलाई चिनियाँ इतिहासमा सबैभन्दा महत्त्वपूर्ण समयका रूपमा लिइन्छ ।

ग्रेटवाल चीनको सबैभन्दा ठूलो पर्यटकीय स्रोत पनि हो । संसारका सबैभन्दा धेरै मानिसहरू ग्रेटवाल घुम्न लोभिने गर्दछन् । बेइजिङबाट च्वीयुङक्वान, मु ध्यान यू र पातालिङका रुट ग्रेटवालमा पुग्न बढी प्रयोग गरिन्छन् । एक वर्षमा करीब ६ करोड ३० लाख पर्यटकहरूले यो भीमकाय मानव निर्मित पर्खाल अवलोकन गर्छन् । हालसम्मको सरदर आँकडाअनुसार एक दिनमा ७० हजारसम्म पर्यटकहरू यहाँ पुगेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्