गौर हत्याकाण्डबारे बोले बाबुरामः अर्को आश्वासन नदिन आग्रह – Janadesh Daily | ePaper

गौर हत्याकाण्डबारे बोले बाबुरामः अर्को आश्वासन नदिन आग्रह


जनादेश सोसल मिडिया वाच।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गौर हत्याकाण्डलाई सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्डको संज्ञा दिएका छन् ।

हत्याकाण्डका पीडितहरूले न्याय खोज्दै आन्दोलन गरिरहेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै डा. भट्टराईले पीडित आन्दोलनकारीहरूलाई पटक–पटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ नहुने बताए ।

उनले ट्विटरमा लेखेका छन्, ‘गौर हत्याकाण्डको आन्तरिक र बाह्य जरो नखोतलिकन र सत्ताको अंकगणितभन्दा माथि नउठिकन यसबारे पीडित आन्दोलनकारीहरूलाई पटक–पटक फोस्रा आश्वासन दिनुको कुनै अर्थ हुन्न । स्मरणरहोस्, यो विभत्स हत्याकाण्ड कुनै राज्यविरुद्धको विद्रोहको क्रममा घटेको र शान्तिप्रक्रियासँग जोडिएको घटना होइन । यो त मधेशका उत्पीडित वर्ग र समुदायका निहत्था नागरिकहरूलाई मुक्तिआन्दोलनबाट विमुख पार्न देशभित्र र बाहिरका वर्चस्वशाली शक्तिहरूले सुविचारित ढंगले मच्चाएको नृशंस हत्याकाण्ड थियो । तिनै वर्चस्वशाली भित्री र बाहिरी शक्तिको टेकोपुँडोमा अडेको यो सरकारको नेतृत्वले पीडितलाई न्याय दिने हिम्मत र हैसियत राख्ला ? भविष्यले बताउनेछ ।’

वर्तमान सरकारले पीडितलाई न्याय दिनेप्रति पनि उनले शंका गरेका छन् । उनले लेखेका छन्, ‘शान्तिप्रक्रिया र संविधान निर्माणको विशिष्ठ कालखण्डमा हामीले चाहेर पनि यसबारे केही गर्न नसकेकोमा आत्मालोचित छौं । सत्य र न्यायका पक्षधर शक्तिहरूको दबाब र खबरदारी जारी रहोस् । सत्य र न्यायको जीत एक दिन अवश्य हुनेछ ।’

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्