साउदी अरबद्वारा मस्जिदको उच्च भूमिकामा १० जना महिलालाई नियुक्त – Janadesh Daily | ePaper

साउदी अरबद्वारा मस्जिदको उच्च भूमिकामा १० जना महिलालाई नियुक्त


रियाद,

साउदी अरबले इस्लामको दुई सबैभन्दा पवित्र धार्मिक स्थलहरूहरूमा १० जना महिलालाई उच्च जिम्मेवारी दिएको छ ।

इस्लामिक राजतन्त्रात्मक मुलुकले पछिल्लो समय उसमाथि महिला अधिकारप्रति अनुदारवादी रहेको भन्ने भनाइ सही नभएको प्रमाणित गर्न महिला रोजगारी बढाउन खोजेको छ ।

इस्लामिक राज्यमा धार्मिक संस्थाहरूमा वरिष्ठ पदमा महिलाहरूको नियुक्ति विरलै भएपनि राजकुमार मोहम्मद बिन सलमानले नेतृत्व गरेको व्यापक उदारीकरण अभियानले मक्का र मदिनामा महिलालाई जिम्मेवारी दिन थालेको देखिन्छ ।

मस्जिदका विभिन्न विभाग तथा प्रशासनिक र प्राविधिक जिम्मेवारीमा नियुक्तिबारे यी दुई पवित्र मस्जीदका उच्च अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त नियुक्ति ‘उच्च योग्यता र क्षमतासहितको साउदी महिलाको सशक्तीकरण’ का लागि गरिएको इस्लामिक अधिकारीले जनाएका छन् ।

उक्त मस्जीदहरूमा यस पहिले सन् २०१८ मा पनि विभिन्न ४१ महिलालाई जिम्मेवारी दिइएको थियो तर अहिलेका अधिकांश नियुक्ति त्योभन्दा उच्च पदका लागि अरबी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजकुमार मोहम्मदले आफ्नो ‘भिजन २०३०’ योजना अन्तर्गत महिला रोजगारी बढाउन खोजेका देखिन्छ । उहाँले राज्यको अर्थतन्त्रमा विविधता ल्याउने र तेलमा मात्र निर्भर नहुने उद्देश्यसहित अघि बढ्न चाहेको बताउँदै आउनुभएको छ ।

आधिकारिक तथ्याङ्कका अनुसार सन् २०१९ को तेस्रो त्रैमासिकमा सउदी अरबमा रोजगार महिलाको सङ््ख्या दश ३० हजार अर्थात् ३५ प्रतिशत पुगेको छ । सन् २०१५मा यो सङ्ख्या आठ लाख १६ हजार रहेको थियो ।

राजकुमारका अन्य सुधारमा राज्यमा महिलालाई अब कार चलाउन अनुमति छ । सिनेमा घर फेरि खुलेका छन् र संगीतकारहरूलाई कन्सर्टसहित सार्वजनिक स्थानहरूमा महिलासँग भेटघाट गर्न अनुमति दिइएको छ । तर अभियानको आलोचना भने नभएको होइन ।

सरकारको आलोचना गर्ने एक दर्जनभन्दा बढी महिला अधिकारकर्मीलाई पक्राउ गरी मुद्दा चलाएको छ । उनीहरूले सरकारी अधिकारीबाट हुने व्यापक धरपकडबीच पनि लामो समयदेखि गाडी चलाउने अधिकारको लागि अभियान चलाउँदै आएका थिए । केही अधिकारकर्मीले आफूहरूलाई यातना दिएर यौन उत्पीडन गरिएको आरोप लगाउने गरेका छन् । रासस/एएफपी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्