हेल्थ टिप्सः गर्मी मौसममा नखानुस् यस्ता खानेकुरा – Janadesh Daily | ePaper

हेल्थ टिप्सः गर्मी मौसममा नखानुस् यस्ता खानेकुरा


जनादेश हेल्थ डेस्क।

गर्मी बढेसँगै धेरैलाई खाना रुची नहुने, मुख र घाँटी सुक्खा भइराख्ने जस्ता समस्या देखिन सक्छ । कतिपय मानिस घरबाहिर रहने र व्यस्तताका कारण पर्याप्त पानी पिउन नपाउने हुँदा धेरै स्वास्थ्य समस्या हुने गरेको पाइन्छ । गर्मीयाममा कस्ता खानेकुरा खाएर स्वास्थ्यलाई सन्तुलनमा राख्ने त हेरौँ विश्व स्वास्थ्य संगठनका केही सुझाव ।

गर्मीयाममा जेसुकै खाए पनि पर्याप्त पानी पिउनु स्वास्थ्यलाई सन्तुलनमा राख्ने प्रमुख उपाय हो । गर्मीमा शरीरमा पानी र उर्जाको सन्तुलन मिलाउन पर्याप्त पोटासियम भएका खानेकुरा खानुपर्छ । यसमा एभोकाडो, केरा, पाकेको फर्सी, ड्राइगन फ्रुट्स, साग, ब्रोकाउली, सिमीजस्ता खानेकुरा पर्छन् ।

फलफूलमा खर्बुजा, स्ट्रबेरी, ऐँसेलु, काफल, आरु, आलुबखडाले शरीरमा छिट्टै पानीको मात्रा फैलाउन सहयोग गर्छन् । नरिवलको पानीले गर्मीमा शरीरलाई सन्तुलनमा राख्छ । यसले शीतल गराउने मात्र नभइ शरीरमा पर्याप्त मिनरल्स र भिटामिनको मात्रा पनि पुर्याउँछ ।

कागती, बेल, भुइँकटहरजस्ता भिटामिन सी युक्त फलफूलले नसाहरूलाई सन्तुलनमा राख्न र शरीरबाट विकार पदार्थ बाहिर निकाल्न पनि मद्दत गर्ने भएकाले यस्ता पदार्थ गर्मीयाममा फाइदाजनक छन् ।

गर्मीयामा परावैजनी किरणबाट छालामा हुनसक्ने जोखिमहरू कम गर्न गोलभेँडा, गाजर, सागका प्रकारहरू, धनियाँजस्ता खानेकुरा फाइदाजनक हुन्छन् । खानामा हरियो तरकारीसहितको सलाद खानाले पानीको मात्रासँगै भिटामिन र मिनरल्सको मात्रा शरीरमा सन्तुलन गर्छ ।

यसबाहेक घरमै बनाएका ताजा खनेकुरा नै गर्मीयाममा स्वस्थकर हुन्छन् ।

गर्मीमा के नखाने ?
गर्मीयाममा मसालेदार, छोप धेरै राखिएका र पिरो खानेकुरालाई सधैँ टाढा राख्नुपर्छ । नुनलगायत सोडियमयुक्त खाना बढी खाँदा उच्च रक्तचाप हुने, डिहाइड्रेसन तथा मिर्गौलालाई पनि असर पुर्याउन सक्छन् ।

गर्मीमा चिया, कफीलगायत ड्रिंक्सलाई टाढै राख्नुपर्छ । यस्ता खानेकुराले पाचन प्रक्रियालाई अवरोध गर्छन् ।

मसालेदार, चिल्लो र पिरोयुक्त खानेकुराले शरीरलाई तताउँने मात्र नभइ छालालाई समेत सुक्खा बनाउने हुँदा गर्मीयाममा यस्ता खानेकुरा कम खानु पर्छ ।

त्यस्तै, तारेका खानेकुरा र जंक फुड गर्मीयाममा मात्रै नभइ सबै मौसममा स्वास्थ्यका लागि अति हानिकारक हुन्छन् । विशेषगरी गर्मीमा यस्ता खानेकुराले तुरुन्तै फुड पोइजनिङ गराई आन्द्रामा विभिन्नखाले संक्रमण गराउन सक्छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्