निजी खर्चमा पिसिआर परीक्षण शुरु     – Janadesh Daily | ePaper

निजी खर्चमा पिसिआर परीक्षण शुरु    


चितवन ।  

सरकारी प्रयोगशालामा मात्र पिसिआर परीक्षण हुँदै आएकामा आजदेखि निजी खर्चमा जिल्लावासीले कोरोना भाइरस सङ्क्रमणको परीक्षण गर्न पाउने भएका छन् । यहाँको चितवन मेडिकल कलेजले अनुमति पाएसँगै जिल्लामा निजी खर्चमा सर्वसाधारणको पिसिआर परीक्षण गर्न शुरु गरेको छ ।

कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार पहिलो दिन आज अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको नमूना जाँच शुरु गरिएको छ भने अन्य सर्वसाधारणको पनि आजदेखि नै परीक्षण गर्न शुरु गरिने छ । यहाँ गरिएको पहिलो परीक्षणको नतिजा पुनः परीक्षणका लागि भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा पठाइने उहाँले जानकारी दिनुभयो ।

कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार सरकारले तोकेको एउटा नमूनाको रु पाँच हजार ५०० मा १० प्रतिशत थप गरी शुल्क लिइनेछ । नमूना परीक्षणका लागि रु छ हजार ५० लिइने उहाँले जानकारी दिनुभयो ।

कलेजले भित्र्याएको पिसिआर उच्चस्तरको हो । छ घण्टामा ४०० जनाको नमूना परीक्षण गर्न सकिने न्यौपानेको भनाइ छ । कलेजमा पिसिआर परीक्षण गर्नसक्ने आठ जना प्राविधिक रहेका छन् । दैनिक १८ घण्टा सञ्चालन गर्दा एक हजार २०० को स्वाब परीक्षण गर्न सकिनेछ । कलेजले जडान गरेको पिसिआर उपकरण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको जस्तै हो ।

प्रयोगशाला निर्माणमा रु पाँच करोड ४० लाख खर्च भइसकेको कलेजले जनाएको छ । भरतपुर अस्पतालको प्रयोगशालामा मन्त्रालयको निर्देशिकाबाहेककाले परीक्षण गर्न नपाउने भएपछि आफैँ शुल्क तिरेर परीक्षण गर्न चाहनेले अवसर पाएका थिएनन् । निजी स्तरबाट प्रयोगशाला सञ्चालनमा आएसँगै पैसा तिरेर परीक्षण गर्ने अवसर पाउने भएका हुन् ।

जिल्लामा दैनिक कोरोना सङ्क्रमण बढ्दै गएको छ । भरतपुर अस्पतालमा सङ्कलन भएको नमूनाको सङ्ख्या थपिँदै गएपछि नतिजा आउन एक सातासम्म कुर्नुपर्ने बाध्यता रहेको छ । ठूला सङ्घसंस्था, बहुर्राष्ट्रिय कम्पनीले कर्मचारी र मजदूरको नमूना परीक्षणका लागि कुराकानी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

विपद्मा खटिएका सशस्त्र प्रहरीमा कोरोना     

विपद्मा खटिएकाबाट सशस्त्र प्रहरी बल नम्बर ३ गढिमाई बाहिनीमा सङ्क्रमण फैलिएको पाइएको छ । बाढीपछिको उद्धारबाट फर्किएका आठ जनामा कोरोना सङ्क्रमण देखिएपछि थप परीक्षण गर्दा ४२ जनामा सङ्क्रमण फैलिएको पुष्टि भएको छ । यसअघि १७ जनाको नमूना परीक्षण गर्दा आठ जनामा र अहिले ६० जनाको नमूना परीक्षण गर्दा ४२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल नम्बर ३ गढिमाई बाहिनी वाग्मती प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक मन्दिप श्रेष्ठले विपद्को समयमा १ र २ नम्बर प्रदेशमा खटिएको समूहमा कोरोना देखिएको जानकारी दिनुभयो । उनीहरु बारा, झापालगायतका जिल्लामा एक महिनाअघि उद्धारमा खटिएर फर्किएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “विपद्बाट फर्किएपछि १५ दिनसम्म क्वारेन्टिनमा राखेका थियौँ तर अहिले आएर कोरोना देखियो ।” उहाँले थप्नुभयो, “कोरोना सङ्क्रमण देखिएका ५० जनामध्ये नौ जनामा सामान्य ज्वरो आएको थियो । अन्यमा त्यस्तो कुनै लक्षण देखिएको थिएन ।” क्वारेन्टिनमा राख्दा कुनौँ लक्षण नदेखिएपछि उनीहरुलाई नियमित कार्य क्षेत्रमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्षेत्रमा खटिएपछि गरिएको नमूना परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएको उहाँले जानकारी दिनुभयो । सङ्क्रमण भेटिएकालाई छुट्टै आइसोलेसनमा राखिनेछ । श्रेष्ठले भन्नुभयो, “उनीहरु मेसदेखि ब्यारेकसम्म को–को सँग सम्पर्कमा आए ती सबैको कन्ट्याक टे«सिङको आधारमा परीक्षण गर्छौं ।” अहिले सो बाहिनीमा ३०० कार्यरत रहेका छन् । जसमध्ये सशस्त्र प्रहरी नायब उपरीक्षकदेखि परिचरसम्मलाई कोरोना सङ्क्रमण देखिएको छ ।

यो बाहिनीले वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्लाबाहेकका जिल्ला हेर्ने गर्दछ । केही दिनअघि सीमा सुरक्षा बल आँपटारीमा कार्यरत एक जना सशस्त्र प्रहरी जवानमा समेत कोरोना देखिएको थियो । यस्तै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत पाँच जना प्रहरीमा पनि कोरोना देखिएको थियो । त्यसैगरी प्रहरीको थुनुवा कक्षमा रहेका दुई जनामा कोरोना देखिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्