मोटरसाइकल उत्पादनमा लगानी गर्दै होन्डा – Janadesh Daily | ePaper

मोटरसाइकल उत्पादनमा लगानी गर्दै होन्डा


जापानी अटो कम्पनी होन्डाले यो दशकमा विद्युतीय मोटरसाइकल र मोपेडको उत्पादनमा पाँच सय अर्ब येन (तीन अर्ब ४० करोड अमेरिकी डलर) लगानी गर्ने योजना बनाएको बताएको छ ।

विश्वको सबैभन्दा ठूलो दुईपाङ्ग्रे सवारी निर्माता उक्त कम्पनीले सन् २०३० सम्ममा ३० नयाँ विद्युतीय मोडेल लन्च गर्ने र विद्युतीय मोटरसाइकलहरूको विद्यमान लागतलाई ५० प्रतिशतले कम गर्ने योजना बनाएको पनि जानकारी दिएको छ ।

“आफ्ना मोटरसाइकलहरूको विद्युतीकरणका लागि होन्डाले सन् २०२१ देखि सन् २०२५ सम्मको अवधिमा एक सय अर्ब येन लगानी गरिरहेको छ र सन् २०२६ देखि सन् २०३० सम्मको पाँच वर्षको अवधिमा थप चार सय अर्ब येन लगानी गर्नेछ”, होन्डाले बुधबार एक विज्ञप्तिमा भनेको छ ।

कम्पनीले सन् २०३० का लागि उसको विश्वव्यापी वार्षिक बिक्री लक्ष्यलाई पनि बढाएर ४० लाख एकाइ बनाएको छ । यो अघिल्लो वर्षको घोषित ३५ लाख एकाइभन्दा बढी हो ।

प्रारम्भमा आन्तरिक प्रज्वलनशील इन्जिन मोडेलका लागि आफ्नो विद्यमान पूर्वाधार संरचनाको उपयोग गर्ने तर सन् २०२७ देखि समर्पित विद्युतीय मोटरसाइकल उत्पादन संयन्त्र सुरु गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, “कम्पनीले अनलाइन बिक्रीको प्रस्ताव गरेर ग्राहकहरूको सुविधामा पनि सुधार गर्नेछ, यसबाट ग्राहकहरूले व्यक्तिगतरूपमा डिलरकहाँ नगई मोटरसाइकल खरिद गर्न सक्नेछन् ।”

ग्र्यान्ड भ्यू रिसर्चका अनुसार विश्वव्यापी विद्युतीय मोटरसाइकल बजार सन् २०२२ मा ३० अर्ब डलरको थियो । आंशिकरूपमा इन्धनको लागत र जलवायु परिवर्तनका बारेमा सार्वजनिक चिन्ताका कारण सन् २०२३ र सन् २०३० को बीच यसको बजार प्रतिवर्ष १९ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्