एघारौँ राष्ट्रिय ‘एस्ट्रोनोमी ओलम्पियाड २०२४’ को आवेदन खुला – Janadesh Daily | ePaper

एघारौँ राष्ट्रिय ‘एस्ट्रोनोमी ओलम्पियाड २०२४’ को आवेदन खुला


सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजदेखि खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवद्र्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।

विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि ‘जुनियर’ र ‘सिनियर’ गरी दुई विधामा आयोजना गरिँदै आएको उहाँले बताउनुभयो । विद्यालय तहका विद्यार्थीलाई खगोल विज्ञानमा रुचि जगाउने उद्देश्यले सोसाइटीले यो प्रतियोगितलाई निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत कक्षा ८ देखि १० सम्मका विद्यार्थीले जुनियरमा र कक्षा ११ देखि १२ का विद्यार्थीले सिनियरमा आवेदन दिनसक्ने सोसाइटीले जनाएको छ ।

ओलम्पियाडको पहिलो चरणको छनोट परीक्षा प्रादेशिकरुपमा आयोजना गरिनेछ । आगामी माघ १३ गते शनिबार दिउँसो १२ बजेदेखि २ बजेसम्म इटहरी, जनकपुर, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत तथा धनगढीमा आयोजना गरिने भएको छ । इच्छुक विद्यार्थीले पायकपर्ने सम्बन्धित प्रदेशका संयोजकलाई आवेदन फाराम बुझाउनसक्ने सोसाइटीका अध्यक्ष भट्टराईले बताउनुभयो ।

पहिलो अर्थात् प्रदेश चरणमा गरेको प्रदर्शनका आधारमा दोस्रो अर्थात् राष्ट्रिय चरणमा सम्बन्धित प्रदेशका विद्यार्थीलाई सामेल गराइने भएको छ । दोस्रो चरणमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीलाई तेस्रो तथा अन्तिम चरणमा सहभागी गराइनेछ । तेस्रो चरणको मूल्याङ्कनमार्फत सहभागी विद्यार्थीलाई सन् २०२४ मा सञ्चालन हुने अन्तर्राष्ट्रिय एस्ट्रोनोमी तथा एस्ट्रोफिजिक्स ओलम्पियाडका लागि सिफारिस गरिनेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्