जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा – Janadesh Daily | ePaper

जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको तयारी पूरा


जनकपुरधाम। बिहीबारदेखि सुरु हुने चौथो जनकपुर साहित्य कला तथा अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०८० को सम्पूर्ण तयारी पूरा भएको छ । मैथिली विकास कोषद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा कोषका अध्यक्ष जीवनाथ चौधरीले सम्मेलनको व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि संस्कृति केन्द्रमा बिहीबारदेखि यही माघ २२ गतेसम्म सञ्चालन हुने पाँच दिवसीय महोत्सवमा साहित्य, कला, राजनीतिक, सामाजिक तथा इतिहाससँग सम्बन्धित विभिन्न २० विषयमा विमर्श, चित्रकला, पुस्तक, मिथिला भोजन प्रदर्शनीलगायत कार्यक्रम तय भएको अध्यक्ष चौधरीले बताउनुभयो ।

त्यसैगरी महोत्सवमा नेपाल र भारतका कलाकारद्वारा मैथिली, नेपाली, हिन्दी, असामी र बङ्गाली गरी पाँच भाषामा आठ नाटक पनि प्रदर्शन गरिनेछ । महोत्सवको उदघाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले र समापन मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गर्नुहुनेछ । विभिन्न विषयमाथि हुने विमर्शमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा, नेकपा ९एमाले० का सचिव योगेश भट्टराई, नेकपा ९एकीकृत समाजवादी० का सचिव रामकुमारी झाँक्री, राष्ट्रिय समाचार समिति ९रासस०का कार्यकारी अध्यक्ष धर्मेन्द्र झ लगायत वक्ताले सहभागिता जनाउने कार्यक्रम रहेको पनि कोषले जनाएको छ ।

कोषले विसं २०७३ देखि हरेक दुई वर्षमा महोत्सव आयोजना गर्दै आएको छ । मैथिली विकास कोष, मधेस प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय आयोजक र जनकपुरधाम उपमहानगरपालिका सहआयोजक रहेको महोत्सवको लागत करिब रु ५२ लाख अनुमान गरिएको जनाइएको छ । महोत्सवमा नेपाल र भारतका करिब तीन सय वक्ता र कलाकर्मी लगायतको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्