सरकारका कामलाई जनतासमक्ष पुर्‍याउने गरी प्रस्तुत हुन प्रधानमन्त्रीको निर्देशन – Janadesh Daily | ePaper

सरकारका कामलाई जनतासमक्ष पुर्‍याउने गरी प्रस्तुत हुन प्रधानमन्त्रीको निर्देशन


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गरेका कामलाई जनतासमक्ष पुर्‍याउने गरी संसदमा प्रस्तुत हुन पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन् । सोमबार सिंहदरबारमा बसेको पाटीको संसदीय दलको बैठकमा प्रधानमन्त्री दाहालले सरकारले गरेका काम कारबाही जनतासमक्ष पुर्‍याउने गरी संसदमा आफ्ना धारणा राख्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन् ।

संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा तेस्रो अधिवेशनलाई कसरी व्यवस्थित गर्ने रु भन्नेबारेमा छलफल भएको बताए । उनले बैठकमा प्रधानमन्त्री दाहालले भन्नुभएको भनाइलाई उद्धृत गर्दै सरकारले सुशासनका साथ जनताका पक्षमा उठाएका आवाजलाई संसदमा दरिलो आवाज उठाउन पार्टीका सांसदहरूलाई निर्देशन दिनुभएको पनि बताए । संघीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई निर्देशन दिएको उनको भनाई छ ।

सचेतक पाण्डेले भने, ‘बैठकमा हामीले तेस्रो अधिवेशनलाई कसरी व्यवस्थित गर्ने ? सरकारले सुशासनका साथ जनताका पक्षमा जसरी आवाज उठाइरहेको छ, त्यसलाई जनताका प्रतिनिधि हामी दलका सदस्यहरूले संसदमा व्यवस्थित रुपमा कसरी उठाउने ? यी बारेमा हाम्रा छलफल भए । प्रधानमन्त्रीज्युले संसद्लाई व्यवस्थित गर्नलाई खासगरी संघीयता कार्यान्वयनसँग सम्बन्धित जुन विधेयकहरू छन्, ती विधेयक व्यवस्थित गर्ने र सदनमा लैजाने र छलफल गर्ने बारेमा सांसदहरूलाई निर्देशन दिनुभएको छ । भोलि हामी ९ बजे बैठक बस्नेछौँ । राष्ट्रिय सभा र प्रतिनिधि सभामा प्रभावकारी रुपमा कसरी जनाताका आवाज लैजाने ? सरकारले गरेका राम्रा कामलाई जनतासमक्ष पुर्‍याउने गरी लैजाने गरेर जानका लागि आवश्यक निर्देशन दिनुभएको छ । संसदमा अब कार्यतालिकाकासाथ जानेकुरा हामी प्रमुख सचेतक र सचेतक तथा सांसदहरू उठाउनुभएको थियो । कार्य व्यवस्थाको बैठक बस्दैछ, त्यहाँ कार्यतालिका आउँछ । त्यो कार्यतालिकालाई पालन गरेर आफ्नो भूमिकासहित अघि बढ्नेछौँ । टिआरसी सरकारको, हाम्रो पार्टीको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक हो । सरकारले सकेसम्म सहमतिबाट अघि बढाउने भनेको छ । सहमति हुन सकेन भने प्रक्रियामा लगेर भनेपनि टुंग्याउने भन्ने छ । सकेसम्म सहमतिबाटै टुंग्याऔँ भन्ने हो ।’

सत्तारुढ माओवादी केन्द्रको संसदीय दलको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक सरकारको सबैभन्दा बढी प्राथमिकता भएको विधेयक रहेको बताए । बैठक मंगलवार बिहान ९ बजे पुनः बस्नेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्