माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु – Janadesh Daily | ePaper

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु


काठमाडौँ । समसामयिक राजनीतिक विषय र आगामी फागुन १ गतेदेखि सुरु हुन लागेको विधान अधिवेशनबारे छलफल गर्ने कार्यसूचीका साथ नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

राष्ट्रियसभा गृहमा सुरु भएको बैठकमा माओवादी केन्द्रले यसअघि सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’मा विशेष समीक्षा गर्ने कार्यसूची छ । माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता बैठकमा समसामयिक राजनीतिक विषयका अलावा पार्टीको काम कारबाही र आगामी फागुन १ गतेदेखि तय गरिएको विधान सम्मेलनबारे पनि छलफल हुनेछ ।

माओवादी केन्द्रले चार महिने अभियानमा पार्टीको सङ्गठन निर्माण, पुनःनिर्माणका अलावा शहीद परिवार, बेपत्ता योद्धाका परिवार, घाइते अपाङ्गता भएका कार्यकर्तासँग भेटघाट गरेको थियो । सरकारमा रहेर गरिएको सुशासन र समृद्धिको अभियानबारे जनतालाई जानकारी गराएको थियो । गत भदौ १६ गतेदेखि सुरु भएको सो अभियान गत पुस १७ गतेसम्म चलेको थियो ।

बैठक आज र भोलिसम्म चल्नेछ । माओवादीको केन्द्रीय समिति चार सय नौ सदस्यीय छ । यस्तै, वैकल्पिक केन्द्रीय सदस्य एक सय ९० जना छन् । यस्तै सात वटा भौगोलिक र तीन गैरभौगोलिक प्रदेश समितिका पदाधिकारीलाई पनि बैठकमा आमन्त्रण गरिएको छ ।

माओवादी केन्द्रले आगामी फागुन १, २ र ३ गते राजधानीमा विधान सम्मेलन गर्दैछ । विधानको मस्यौदाका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो । उक्त समितिले प्रस्ताव गरेको विधानमाथि माओवादीको स्थायी समिति बैठकमा छलफल गरिसकेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्