निषेधाज्ञा अवधिभर सहकारीको सेवा बन्द – Janadesh Daily | ePaper

निषेधाज्ञा अवधिभर सहकारीको सेवा बन्द


यादव हुमागाई:

सरकारले बैंकिङलाई अत्यावश्यक सेवामा राखे पनि सहकारी संस्था निषेधाज्ञा अवधिभर बन्द हुने भएका छन् । उपत्यकामा तिनवटै जिल्ला र विषयत सहकारी संघहरूको बैंठकले निषेधाज्ञा अवधिभर अत्यावश्यक बाहेकको अवस्थामा नियमित कारोबार बन्द गर्ने निर्णय गरेका हुन् । बैठकको निर्णयपछि बुधबार संघहरूले संयुक्त अपिल जारी गरी सहकारी संस्थाहरूलाई अत्यावश्यक परेमा सेवा दिन सम्पर्क व्यक्ति तोकेर कार्यालय बन्द गर्न आग्रह गरेका छन् ।

लकडाउन घोषणा गरेका बेला प्रभावकारी सेवा सेवा प्रदान गर्न नसकेको भनेर आलोचित भएका थिए । मंगलबार जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, ललितपुरका अध्यक्ष माधव दुलाल र भक्तपुरका अध्यक्ष केदार खड्कासहित एक दर्जन संघको संयुक्त बैठक बसेको थियो । बैंठकले कोभिड–१९ को संक्रमणबाट सहकारी संस्थाका सदस्य, सञ्चालक र कर्मचारीको सुरक्षाका लागि कारोबार बन्द गर्नुपर्ने निष्कर्ष निकालेको काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङले जानकारी दिए ।

यसअघि लकडाउन अवधिमा पनि सहकारी संस्थाहरू खोल्ने वा बन्द गर्ने विषयमा संघ तथा सहकारी विभागबीच जुहारी नै चलेको थियो । विभागले लकडाउनको अवधिमा पनि न्यूनतम कर्मचारीबाट सेवा दिन निर्देशन दिएपनि सहकारी संस्थाहरूले पनि सवारी पासको समस्या देखाएर सेवा दिन आनाकानी गरेका थिए ।

काठमाडौंका संघहरूले भने लकडाउन घोषण हुनुअघि नै कारोबारमा सीमा निर्धारण गरेका थिए । कोभिडको संक्रमण सुरु भएसँगै आर्थिक गतिविधि सुस्ताएपछि शहरी क्षेत्रका सहकारीहरूले तरलता अभावको समस्या झेल्दै आएका छन् । तरलताको समस्या बढेपछि कतिपय संस्थाहरूले बचत फिर्ता गर्न नसकेको उजुरी समेत बढ्न थालेको विभागका रजिष्टार डा. टोकराज पाण्डे बताउँछन् ।
संघहरूले भएसम्म प्रविधिमार्फत सेवा प्रदान गर्न र अति आवश्य परेका सदस्यलाई स्वास्थ्य सुरक्षा अपनाएर सेवा प्रदान गर्न आग्रह गरेका छन् । तर, एकदमै न्यून सहकारी संस्थासँग मात्र एटिएम, मोबाइल बैंकिङलगायतका प्रविधिमा आधारित सेवा रहेको छ । काठमाडौं उपत्यकामा मात्र ५ हजारभन्दा बढी सहकारी संस्था रहेका छन् । यी संस्थाहरूले देशभर हुने कुल कारोबारमध्ये आधा हिस्सा ओगट्ने गर्छन् ।

उपत्यकाका संघहरूको संयुक्त अपिलमा अति आवश्यकिय सेवाका लागि कार्यालय प्रवेश गर्दा स्वास्थ्य सतर्कता अपनाउन, बैठक अन्तरक्रिया लगायतका कार्यक्रम भच्र्युअल रूपमा संचालन गर्न र संघहरूसँग समन्वयन गर्न पनि अपिल गरिएको छ । उपत्यकाका संघहरूले सेवा बन्द गर्ने निर्णय गर्दा सहकारीको छाता संगठन राष्ट्रिय सहकारी महासंघ भने मौन छ । एक साताअघि घरदैलो बचत संकलन बन्द गर्न र आधा जनशक्तिबाट सेवा प्रवाह गर्न अपिल गरेको महासंघले निषेधाज्ञा अवधिमा सेवा संचालनका विषयमा कुनै सूचना जारी गरेको छैन ।

यसैगरी सहकारी विभागले पनि निषेधाज्ञाको अवधिमा सेवा संचालनबारे कुनै निर्देशन दिएको छैन । तर, जिल्ला प्रशासन कार्यालयहरूले भने निषेधाज्ञाको अवधिमा पनि अत्यावश्यक सेवा संचालनमा अवरोध नहुने जनाएको छ । सरकारले बैंकिङ सेवालाई अत्यावश्यक स्विकार गरेको छ । सहकारीले सेवा बन्द गर्ने निर्णय गरेपनि नेपाल राष्ट्र बैंकले निषेधाज्ञाको अवधिमा पनि बैंकका न्यूनतम शाखा सञ्चालन गरी नगद भुक्तानी÷जम्मा, बैंक ट्रान्सफर, चेक क्लियरिङलगायतका सेवा दिन निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले स्थानिय प्रशासनसँग समन्वय तथा कर्मचारीलाई आलोपालो व्यवस्था गरी न्यूनतम शाखा शाखा संचालन गर्न निर्देशन दिएको हो । निर्देशनमा अत्यावश्यक वस्तुको आपूर्तिका लागि ड्राफ्ट, टीटी, प्रतितपत्र, बैंक ग्यारेन्टीजस्ता सेवा सञ्चालन गर्न, एटिएम काउन्टरमा पर्याप्त नगदको व्यवस्था गर्न भनेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्