१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलकः मुख्यमन्त्री शर्मा – Janadesh Daily | ePaper

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुनु उपलब्धिमूलकः मुख्यमन्त्री शर्मा


सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता देशभित्र सञ्चालित महत्त्वपूर्ण प्रतियोगिता भएकाले यो कर्णालीमा हुनु उपलब्धिमूलक हुने बताउनुभएको छ ।

प्रदेश राजधानी सुर्खेतको वीरेन्द्रनगरमा प्रस्तावित ‘इन्डोर तथा आउटडोर क्रिकेट रङ्गशाला र देउडा पार्क’ को आज यहाँ शिलान्यास गर्दै उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी क्रिकेट मैदान बनाउन लागिएको जानकारी दिनुभयो ।

मुख्यमन्त्री शर्माले १०औँ राष्ट्रिय खेलकुदको संस्करण कर्णालीमा हुनु प्रदेशका लागि गौरवको विषय भएको भन्दै यसले यहाँको खेलकुदसँगै पर्यटन प्रवर्द्धनमा सहयोगी साबित हुने अपेक्षा गरिएको बताउनुभयो ।

खेलका माध्यमबाट प्रदेशको पर्यटन प्रवर्द्धनका साथै विकास निर्माणका क्षेत्रमा काम गर्ने नीतिअनुसार प्रदेश सरकारले काम गरिरहेको जनाउँदै खेलाडीले पनि आफ्नो भविष्य खेल क्षेत्रमा छ भन्ने विश्वासका साथ अभ्यास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उक्त क्रिकेट मैदान वीरेन्द्रनगर नगरपालिका कार्यालयको दक्षिण क्षेत्रमा संरचना निर्माण गर्न लागिएको हो । यस क्षेत्रलाई वीरेन्द्रनगरको गुरुयोजनामा खेलकुद तथा मनोरञ्जन पार्क भनेर छुट्याइएको कणाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताउनुभयो ।

रू चार करोड ५९ लाख लागतमा निर्माण हुने उक्त आयोजनाअन्तर्गत ल्यान्ड स्क्यापिङ तथा देउडा पार्क निर्माण, माटो कटिङ, लेवलिङ, क्रिकेट मैदानमा दुबो लगाउने, मैदान कालोपत्र, इन्डोर क्रिकेट हाललगायत पूर्वाधार निर्माण गरिने सञ्ज्यालले जानकारी दिनुभयो ।

१०औँ संस्करणलाई लक्षित गरी मैदान बनाउन लागिएको भन्दै कालिञ्चोक क्रिकेट मैदान तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । “दुई खेलकुद मैदान आवश्यक भएकाले आर्को शिलान्यास गरिएको हो”, उहाँले भन्नुभयो ।

यसअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा १०औँ संस्करण आयोजना गर्ने जिम्मेवारी कर्णाली प्रदेशलाई दिइएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्