बाबर आजम फेरि पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त – Janadesh Daily | ePaper

बाबर आजम फेरि पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त


कराँची । पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ ।

यसै वर्ष आयोजना हुने टी–२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ ।

गत वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फम्र्याटका क्रिकेटबाट कप्तानी पद त्याग गरेका थिए ।

पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुनः नियुक्त गरिएको ट्विटरमार्फत घोषणा गरेको थियो । बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टि–२० र एकदिवसीय दुबै टिमका लागि बाबर आजमलाई नियुक्त गरिएको हो ।

यसअघि अन्तरिम व्यवस्थाका रुपमा टी–२० क्रिकेटका लागि तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । साथै शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा भ्रमणकारी पाकिस्तानी टोली ३–० र टी–२० क्रिकेटमा ४–१ ले नराम्रोसँग पराजित भएको थियो ।

संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्यूजील्यान्ड, आयरल्यान्ड र इङल्यान्ड विरुद्ध टी–२० क्रिकेट खेल्दैछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्