ओलीको निर्णयमा प्रचण्डको आपत्ति – Janadesh Daily | ePaper

ओलीको निर्णयमा प्रचण्डको आपत्ति


जनादेश, काठमाडौं ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रम ओलीका राजनीतिक नियुक्तिका पछिल्ला निर्णहरुमा आपत्ति जनाएका छन् । पार्टी एकता संयन्त्रले काम गरिरहेका बखत प्रम ओलीले आफूखुशी राजनीतिक नियुक्ति गरेपछि पार्टी अध्यक्ष प्रचण्डले आपत्ति जनाएका हुन् । बिहीबार प्रधानमन्त्री सँगको भेटघाटका क्रममा प्रचण्डले विना सल्लाह गरिएका पछिल्ला नियुक्तिले पार्टी एकता कार्य दलको काममा बाधा पुर्याएको भन्दै गरिएका सबै निर्णय फिर्ता गर्न ओलीसँग जोडदार माग पनि गरेका छन् ।

अध्यक्ष प्रचण्डले सोमबार बसेको मन्त्रिपरिषद्को निर्णयबाट सरकारद्वारा जेजस्ता राजनीतिक नियुक्तिहरु भएका छन्, ती सबै खारेज गरी गल्ती सच्याउन सचेत गराएका छन् । पार्टी अध्यक्षको चेतावनीको भाषासँगै प्रम ओलीले पनि राजनीतिक नियुक्तिका ती सबै निर्णयहरु पार्टी एकता कार्यदल गठनअघि गरिएकाले उक्त निर्णय कार्यान्वयन मात्र गरिएको जवाफ दिएका छन् ।

पार्टी एकता कार्यदल गठनपछि सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोका र प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको छ । तथापि नवनियुक्त भण्डारीको केसमा भने सर्वोच्च अदालतले उनलाई काम नगर्न/नगराउन अन्तरिम आदेश दिएको छ ।

यस अतिरिक्त सोमबारकै मन्त्रीपरिषद्को निर्णयबाट सरकारले तीन देशमा राजदुत नियुक्त पनि गरिसकेको छ । पार्टी एकता कार्यदलले आफ्नो तर्फबाट सहमतिका लागि प्रारम्भिक खाका कोरिरहेका बखत राजनीतिक नियुक्तिको किचलो बल्झिन आएकाले कार्यदलको काम प्रभावित भएको भनी वरिष्ठ नेतताहरुले समेत आपत्ति जनाएका छन् ।

अध्यक्ष प्रचण्डको भेटलगत्तै प्रम ओलीले कार्यदलका सदस्यहरुसँग यस विषयमा छलफल गरेका छन् । बिहीबार बिहान दिउँसो बालुवाटारमै कार्यदलको वैठक बस्ने चाँजोपाँजो मिलाएर प्रम आलीले कार्यदलसँग नियुक्तिका बारेमा विचार विमर्श गरिसकेका छन् ।

सरकारले गरेका राजनीतिक नियुक्तिको विषयलाई लिएर वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष प्रचण्डलाई बुधबार नै उक्त कुरा अबिलम्ब प्रम ओलीसँग राख्न सुझाव दिएका थिए ।

पार्टी एकताका लागि कार्यदलले काम गरिरहेकाप्रति सन्तुष्ट हुँदै अध्यक्ष प्रचण्डले बुधबार एक टीभीलाई अन्तर्वार्ता दिंदा पार्टी एकता अन्तिम चरणमा पुगेको बताएका थिए ।

पार्टीभित्र सहमति खोज्न शीर्ष नेतृत्वको डेढ महिना लामो कोसिसपछि महासचिव विष्णु पौडेलेको संयोजकत्वमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल सदस्य रहेको कार्यदल निर्माण भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्