बागमती प्रदेशभित्र नेवार र तामाङ भाषा सरकारी कामकाजमा – Janadesh Daily | ePaper

बागमती प्रदेशभित्र नेवार र तामाङ भाषा सरकारी कामकाजमा


काठमाडौँ । बागमती प्रदेशभित्र सरकारी कामकाजको भाषाका रुपमा नेवारी र तामाङ कार्यान्वयनमा आएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘बागमती प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८०’ शुभारम्भ घोषणा गर्दै ती भाषा सरकारी कामकाज कार्यान्वयनमा आएको घोषणा गर्नुभयो । आज ‘भाषा दिवस २०८१’ पनि भएकाले सरकारले ती भाषा सरकारी कामकाजमा कार्यान्वयनमा आएको घोषणा गरेको हो ।

यस अवसरमा प्रदेश सरकारले आज प्रदेशभित्र सार्वजनिक बिदासमेत दिएको छ । विसं २०८० कात्तिक २३ गते प्रदेश सरकारले सो ऐन प्रमाणीकरण गरेको थियो । बागमती प्रदेशसभा सदस्य बहादुरसिंह लामाले आजदेखि कामकाजको भाषाका रुपमा कार्यान्वयनमा आएको तामाङ र नेवार भाषालाई व्यावहारिकरुपमा कार्यान्वयनका लागि केही जटिलता भए पनि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलगायतको उपस्थिति थियो ।

नेवा देव दबूका अध्यक्ष पवित्र बज्राचार्यले बागमती प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयनमा ल्याएकामा धन्यवाद दिनुभयो । उहाँले प्रधानमन्त्री दाहाल, बागमती प्रदेश सरकार, प्रदेशसभाका सबै सदस्य र मुख्यमन्त्रीलगायतको पहलका कारण नेवारी र तामाङ कामकाजको भाषका रुपमा कार्यान्वयन भएको बताउनुभयो । उहाँले ऐन कार्यान्वयनका लागि नियमावली,  आयोग, अनुगमन समितिलगायत निकाय गठन गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले विगत लामो समयदेखिको माग सम्बोधन भएकामा प्रसन्नता व्यक्त गर्नुभयो ।

बागमती प्रदेश सरकारका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले सहिदको बलिदानपछि प्राप्त भएको सङ्घीय व्यवस्थाको उपलब्धिका रुपमा आजको दिनसम्म आइपुगेको बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री दाहालले जनकवि दुर्गालाल श्रेष्ठलाई दोसल्ला ओढाएर अभिनन्दन गर्नुभएको थियो । सो अवसरमा जनकवि श्रेष्ठले आफ्नो बाँकी जीवन भाषिक आन्दोलनमा नै व्यतित गर्ने बताउनुभयो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्