भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने – Janadesh Daily | ePaper

भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने


वीरगञ्ज । भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएको पर्साका सीमानाका तीन दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले यही जेठ १० देखि १२ गते बेलुका ६ बजेसम्म भारतसँग जोडिएका पर्साको सीमानाका बन्द हुने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा जेठ १२ गते हुने लोकसभा निर्वाचनलाई लक्षित दुई देशबीचको सीमानाका बन्द हुने बताउनुभयो ।

“दुवै मुलुकमा निर्वाचन हुँदा ४८ घण्टाअगावै सीमानाका बन्द गर्ने परम्पराअनुसार सीमानाका बन्द गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “भारतको विहार राज्यको पश्चिम चम्पारण जिल्लामा हुन गरिरहेको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न शुक्रबार बसेको बिडिसिसी बैठकको निर्णयअनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सीमानाका बन्द गर्ने निर्णय भएको छ ।”

पर्साको एक सय सात किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएको छ । दुवै मुलुकको बिडिसिसी बैठकको निर्णय र समाहरणालय, पश्चिम चम्पारण, बेतिया (विहार)को पत्राङ्कको पत्रबाट समेत अनुरोध भएर आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । नेपालमा निर्वाचन हुँदा पनि भारतको सीमानाका बन्द गर्ने परम्परा रहँदै आइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्