भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटीबीच भगिनी सम्बन्ध कायम – Janadesh Daily | ePaper

भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटीबीच भगिनी सम्बन्ध कायम


चितवन। भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ्ग छिङ्ग सिटीका मेयर हुहङ्ग ह्वाले सम्झौता–पत्रमा हस्ताक्षर गर्नुभयो ।

सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ ।

दुई पक्षबीचको मैत्रीपूर्ण आदान–प्रदान, सहयोगलाई निरन्तर अगाडि बढाउन, सरकारी विभागहरू र तहहरूमा सुदृढ गर्न निरन्तर सम्पर्क गर्ने जनाइएको छ ।

सोही कार्यक्रममा छोङ्ग छिङ्ग, अदिस अब्बा, सिभ्ली, भरतपुर र उत्तर ढाकाबीच पनि हस्ताक्षर भएको थियो ।

यसअघि भरतपुर महानगरपालिका प्रमुख दाहाल र छोङ्ग छिङ्ग सिटीका पार्टी सेक्रेटी प्रमुख यान जाईजुनबीच भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान भरतपुर र छोङ्ग छिङ्ग बीचको भगिनी सम्बन्धले थप मद्दत पुराउने विश्वास गरिएको थियो । दुई सहरका नागरिक स्तरको सम्बन्ध कायम गर्दै एक अर्काको विकासमा सहयोग पुराउने बारेमा छलफल पनि भएको थियो । सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छोङ्ग छिङ्ग सरकार र उद्योगीलाई आग्रह गर्नुभयो ।

भरतपुर महानगरपालिका र छोङ्ग छिङ्गबीच अन्तर्राष्ट्रिय मित्रवत सम्बन्ध र आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गर्नुभएको थियो । उहाँले हिमालयको देश नेपालको मध्य भागमा अवस्थित सुन्दर नगरी भरतपुर महानगरपालिकाको तर्फबाट विषेश आभार प्रकट गर्नुभयो । सम्मेलनले नेपाली नागरिक र चिनियाँ नागरिक बीचको जनस्तरको सम्बन्धलाई थप बलियो बनाउनुका साथै छोङ्ग छिङ्ग सिटी र भरतपुर महानगरबीच सुमधुर सम्बन्धको सुरूवात भएको बताउनुभयो । भरपतुरमा केही महत्वपूर्ण विकास आयोजनाहरू अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, भरतपुर–छुङसिङमैत्री पार्क, विश्वस्तरको पर्यटकीय होटल तथा कृषिजन्य उद्योगहरु स्थापनाको लागि लगानी गर्न चिनियाँ सरकार, छोङ्ग छिङ्ग सिटी र व्यवसायीक घरानालाई आग्रह पनि गर्नुभयो । चीनले छोटो समयमा हासिल गरेको गरिबी निवारण विश्वको लागि अनुकरणीय उपलब्धि भएको सो अवसरमा उहाँले बताउनुभयो । साथै भरतपुर महानगरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ को अवसरमा चीन र सम्पूर्ण नागरिकलाई भरतपुर भ्रमणका लागि निम्तो पनि दिनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख दाहालको नेतृत्वमा उपप्रमुख चित्रसेन अघिकारी, विज्ञ प्रेस सल्लहाकार सुरेशचन्द्र अघिकारी, उपनिर्देशक जगन्नाथ अर्याल, ई.साकार लामा, सुचना तथा वैदेशिक समवन्य शाखा प्रमुख मेनका पण्डित, विज्ञ सल्लाहकार अनिलकुमार पाठक, कृष्ण बगाले, गीता कुँवर अधिकारी लगायतको सहभागिता रहेको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्