बोलिभियामा ‘कु’ को प्रयास असफल, नेतृत्व गर्ने सैन्य कमाण्डर पक्राउ – Janadesh Daily | ePaper

बोलिभियामा ‘कु’ को प्रयास असफल, नेतृत्व गर्ने सैन्य कमाण्डर पक्राउ


काठमाडौं। दक्षिण अमेरिकी राष्ट्र बोलिभियामा बुधबार राति ‘कु’को असफल प्रयास भएको छ । ‘कु’को प्रयत्न गर्ने सैन्य नेतालाई सुरक्षाकर्मीले पक्राउ गरेका छन् ।

प्लाजा मुरिलो स्क्वायरको ला पाजस्थित राष्ट्रपति भवनमा सैनिकको प्रवेश भएको केही घण्टापश्चात बोलिभियन सुरक्षाकर्मीले अवस्था नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका विद्रोही सैन्य नेता जनरल जुआन जोसे जुनिगाले लोकतन्त्रको पुनसंरचना गर्न चाहेको बताएका छन् । उनले राष्ट्रपति लुइस आर्सलाई सम्मान गरे पनि सरकार परिवर्तन गर्नु आफ्नो उद्देश्य रहेको बताए ।

राष्ट्रपति आर्सले सो “कु’ प्रयासको निन्दा गर्दै सर्वसाधारणलाई लोकतन्त्रको पक्षमा परिचालित हुन आग्रह गरेका थिए ।

‘हामी फेरी पनि ‘कु’ प्रयासले बोलिभियाको मानिसको जीवन लिएको हेर्न सक्दैनौँ,’ राष्ट्रपति भवनभित्रबाट जारी भएको टेलिभिजन सन्देशमा उनले बताएका छन् ।

राष्ट्रपतिको आव्हानसँगै हजारौं नागरिक सडकमा उत्रिएका थिए । सरकार र लोकतन्त्रको समर्थनमा सडकमा आवाज लगाउनेहरुको शब्दसँग राष्ट्रपति आर्सको विचार मिलेको बीबीसीले उल्लेख गरेको छ ।

उनले नयाँ सैन्य कमाण्डर नियुक्ति गर्ने बताएका छन् । घटनाबारे सरकारी वकिलको कार्यालयले अपराधिक मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

बोलिभियामा यसअघि पनि पटक पटक यस्तो प्रयास भएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्